रविवार, 17 अप्रैल 2011

आगोलागीबाट छोराछोरी गुमाएका आमाबाबु बेहोस

    कान्तिपुर संवाददाता
    उदयपुर, वैशाख ४ - आगलागीबाट आफ्ना छोरा छोरी गुमाएपछि भुट्टार - ६ नौलेका आमाबाबु चार दिन यता अचेत अवस्थामा छन । उनीहरुको चार नसम्म पनि होस आउन नसकेपछि सदरमुकाम स्थित अस्पतालमा उपचार भईरहेको छ ।
    नौलेमा शुक्रबार आगलागी हुँदा स्थानीय पहलमान श्रेष्ठका ५ बर्षिया छोरी प्रमिला श्रेष्ठ, २ बर्षिय छोरा सुवास श्रेष्ठ र भाई दिनेश श्रेष्ठका २ बर्षिय छोरा सुजन श्रेष्ठको मृत्यु भएको थियो । छोराछोरीको मृत्युपछि आमाबाबु अहिलेसम्म अचेत भएका हुन् ।
    उनीहरुलाई स्थानीयबासीले आईतबार अचेत अवस्थामा उपचारका लागि सदरमुकाम ल्याएका हुन् । उनीहरुको सदरमुकाम स्थित सुर्योदय हस्पीटल एण्ड रिसर्च सेन्टरमा उपचार भईरहेको छ ।
    छोराछोरी गुमाएपछि मानसिक असर परेका कारण उनीहरुले होस गुमाएको उपचारमा संलग्न डाक्टर एमराज गिरीले बताए । डाक्टर गिरीका अनुसार मानसिक असरका कारण उनीहरुको होस खुल्न नसकेको हो । तर, क्रमीक रुपमा उनीहरुको स्वास्थ्यमा सुधार आईरहेको डाक्टर गिरीले बताए । अस्पतालमा पहलमान, उनकी पत्नी गंगा, भाई दिनेस र बुहारी विन्दा श्रेष्ठको उपचार भईरहेको छ ।
    अविभावक सडक खन्ने क्रममा बाहिर निस्कीएको अवस्थामा पहलमानका ६ बर्षिय छोराले सलाई खेलाउने क्रममा परालको माचमा लागेको आगो सल्किँदै गएपछि पहलमान र दिनसको घरमा आगलागी भएको थियो । घरमा आगो सल्किएपछि भाग्न नसकेर बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    घटनास्थल सदरमुकाम देखि झण्डै ६० किलो मिटर उत्तर भौगोलिक विकटस्थानमा पर्छ । विकट भएकै कारण विहोस भएका कारण विरामीलाई समयमा उपचार गर्न नसकिएको स्थानी खग्रेन्द्र ठकुरीले वताए । घटनास्थल सदरमुकामबाट १४ घण्टाको पैदलयात्रा पछि मात्र पुग्न सकिन्छ । बेहोस भएको खबर सुनेपछि एम्वुलेन्स लिएर गएर उद्धार गरेको ठकुरीले बताए ।
    आगलागीबाट दुई घर गोठ, २ भैसी, २ बाख्रा कुखुरा, परेवा र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, कागजपत्र सम्पूर्ण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा  झण्डै ८ लाख रुपैयाँको क्षती पुगेको प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए ।

    कोई टिप्पणी नहीं: