अघिल्लो साता हङकङमा सम्पन्न हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा सन्दीपले क्लार्कसँगै खेलेका थिए। त्यहाँ सन्दीपको प्रदर्शनबाट विश्व क्रिकेटका एक सफल खेलाडी क्लार्क प्रभावित भए। हङकङबाट फर्किएपछि क्लार्कले सन्दीपलाई मेन्सन गर्दै ट्वीटमा छिट्टै भेटौंला भनेका थिए।
‘क्लार्कले मेरो एकेडेमीबाट क्लब क्रिकेट खेल्नु भनेर प्रस्ताव राख्नुभएको छ, त्यसका लागि कुन समय खाली छ भनेर सोध्नुभएको थियो, मैले सेप्टेम्बरमा भनेको छु,’ सन्दीपले कान्तिपुरसँग भने, ‘माइकल क्लार्क क्रिकेट एकेडेमीबाट खेल्न पाउनु मेरा लागि ठूलो मौका हो, राम्रो अनुभव हुनेछ, धेरै सिकिन्छ पनि।’ क्लार्कले नै आउने/जाने टिकटसहित भिसाको लेटर, खाने र बस्ने व्यवस्था मिलाइदिन्छु भनेको सन्दीपले बताए।
सन्दीपको लक्ष्य अस्ट्रेलियाको घरेलु ट्वान्टी–२० क्रिकेट बिग बास खेल्ने हो। ‘क्लार्कले राम्रो खेल्दै गर तिमी बिग बासमा पुग्छौ भन्नुभएको छ। मेरा लागि इन्डियन प्रिमियर लिगभन्दा ठूलो हो बिग बासको महत्त्व। त्यसपछि सेफिल्ड सिल्ड हो मेरो लक्ष्य। उनीहरूको प्रस्ताव आउँछ भने म सधैं तयार छु त्यसका लागि। यसलाई लिएर म निकै उत्साहित छु,’ सन्दीपले भने।
हङकङमा सन्दीप र क्लार्कले कावलुन क्यानटोनबाट खेलेका थिए। उनले हुङ होम जेडी जगुवारसँगको पहिलो खेलमै २ विकेट लिएका थिए। त्यसपछि वर्षाले खेल अवरुद्ध पार्दा पूरै प्रतियोगिता प्रभावित भएको थियो। सन्दीपको टिम कावलुन संयुक्त विजेता भएको थियो। सन्दीपले झन्डै साढे सात हजार हङकङ डलर (नेपाली झन्डै १ लाख १० हजार) मा खेलेका थिए।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्यान्ड्ससँग जुलाई १३ र १५ मा गएर त्यहाँ खेल्दै छ। त्यसपछि अस्ट्रेलिया लाग्ने सन्दीपले तयारी गरेका छन्। नेपालले त्यसपछि नोभेम्बरमा हङकङमा गएर खेल्ने कार्यक्रम छ। यही बीचमा सन्दीपले अस्ट्रेलियामा खेल्नेछन्।
हङकङमा खेलेपछि सन्दीपलाई अस्ट्रेलियामा खेल्ने अवसरको बाटो खुलेको हो। ‘हङकङमा उत्कृष्ट खेलाडीले खेलेका थिए, माइकल क्लार्कसँगै खेल्न पाइयो,’ सन्दीपले विदेशमा पहिलो पटक क्लब क्रिकेट खेल्दाको अनुभव सुनाए, ‘क्लार्कसँग ड्रेसिङ रुम सेयर गरेको अनुभव म वर्णन गर्न सक्दिनँ। धेरै कुरा सिकाउनु हुन्थ्यो। बलिङ गर्दा के कुरामा ध्यानमा राख्नुपर्छ, फलो थ्रु, बलिङ एक्सनदेखि अफ द फिल्ड र अनफिल्ड कस्तो हुनुपर्छ सबै सिकाउनु हुन्थ्यो।’
क्लार्कले हङकङबाट छुट्टिएपछि ट्वीटरमा सन्दीपलाई लिटिल च्याम्पियन भनेर सम्बोधन गर्नुभएको छ। ‘मेरा लागि यसले धेरै महत्त्व राख्छ, त्यो स्तरको खेलाडीले यस्तो तारिफ गर्नु,’ सन्दीपले भने।
सन्दीप र क्लार्कले एकले अर्कालाई ट्वीटरमा फलो गरेका छन्। त्यसमा सन्दीपलाई क्लार्कको जवाफ थियो, ‘इच एन्ड एभ्री प्लेर हयाज टु फलो वान एन्ड इच अदर।’ अर्थात् एउटा खेलाडीले अर्को खेलाडीलाई फलो गर्नुपर्छ।
सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए र उनी उक्त प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।
त्यस क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए। अघिल्लो महिना सन्दीपले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध कीर्तिपुरमा २ खेलमा ३ विकेट लिएका थिए।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें