शनिवार, 14 नवंबर 2015

नाकाबन्दीको बहानामा चरम कालोबजारी

कान्तिपुर, कार्तिक २८ - नाकाबन्दीको वहाना बनाउँदै चाडवाडका बेला दैनिक उपभोग्य वस्तुको चरम कालोबजारी हुन थालेको छ । ठूला उद्योगीहरूको मिलेमतोमा खाने तेलको मूल्य दोब्बर बढाइएको छ । चिनी, चामल दाल लगायतका वस्तुको पनि मूल्य अकासिएको छ ।
भारतले गरेको नाकाबन्दीका कारण कच्चा पदार्थ आयात ठप्प भएको वहानामा ती उद्योगहरूले मूल्य दोब्बर पारेका हुन । व्यवसायीले चर्को मूल्य असुल्न थालेपछि आपूर्ति व्यवस्था र बजार अनुगमन गर्न जिम्मा पाएको वाणिज्य विभागमा उजुरीसमेत पर्न थालेको छ । विभागका बजार अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेका अनुसार खाने तेलमा चर्को मूल्य असुलेको भन्दै २० वटा उजुरी परेको छ । यसघि लेबल गरिएको मूल्य माथि पुन: अर्को लेवल राखी बढी मूल्य असुल्ने गरेको उजुरीमा उल्लेख गरेको बेल्बासेले बताए ।
उजुरीको आधारमा विभागले मंगलबार बालाजु, गोंगबु र समाखुसी क्षेत्रमा अनुगमनसमेत गरेको थियो । अनुगमनको क्रममा खुद्रा पसलहरूले १ सय ८० रुपैयाँ पर्ने तेलको मूल्य २ सय ७० रुपैयाँदेखि २ सय ८० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । ‘अनुगमनका क्रममा तेलको मूल्य अत्यधिक बढेको
भेट्यो । अधिकतम बिक्री मूल्य नै २ सय ७०/८० राखिएको छ,’ अनुगमन टोलीको नेतृत्व गरिरहेका विभागका अनुगमन अधिकृत पोसराज खनालले भने, ‘मूल्य कसरी ह्वात्तै बढ्यो अध्ययन गर्नु जरुरी छ ।’

दसैंअघि तेलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँसम्म पथ्र्यो । उनले खुद्रा पसलभन्दा होलसेल पसलबाट मूल्य बढेर आएको बताए । अनुगमन टोलीले अनुगमन प्रतिवेदन सम्बन्धित शाखामा पेस गरिसकेको जनाएको छ । तिहारमा मिठाई, सेल रोटीलगायत अन्य परिकार पनि बनाउने प्रचलन भएकाले तेलको खपत अत्यधिक हुन्छ । सोही मौका छोपी व्यवसायीहरूले मूल्य बढाएको उपभोक्तावादीको भनाइ छ ।
‘नाकाबन्दीको वहानामा उद्योगीले कार्टेलिङ र कृत्रिम अभाव गरी कालोबजारी गरेका छन्,’ अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘अनुगमन र कारबाही जरुरी छ ।’ उनले उद्योगबाटै कालोबजारी भएको बताए । ‘मुलुकमा संकटमा रहेकाले जति मूल्य बढाए पनि उपभोक्ताले खरिद गर्ने व्यवसायीको मानसिकता छ । जसले गर्दा केही उद्योगीले मूल्य बढाएका छन्,’ उनले भने, ‘सरकारको हस्तक्षेप र नियन्त्रण जरुरी छ ।’
 यस्तै, भटमासको तेल २ सय ४० रुपैयाँभन्दा बढीमा बिक्री भएको छ । खनालका अनुसार केही ठूला/ठूला पसलमा समेत तेल छैन । खुद्रा पसलमा भेटिए पनि मूल्य चर्को लिने गरेको खनालले बताए । ‘अनुगमनको क्रममा केही ठूला/ठूला पसलमा तेल छैन । आधिकारिक रूपमा वितरण गरिएको देखिँदैन,’ उनले भने, ‘साना पसलमा भेटिए पनि मूल्य दोब्बर छ ।’ खुद्रा व्यापार संघका अध्यक्ष पवित्रा बज्रार्चायले मूल्य बढेकामा खुद्रा व्यवसायीहरूको हात नभएको बताए । ‘होलहेल व्यवसायीहरूबाट सामान खरिद गर्दा प्रत्येक पटक मूल्य बढेको भन्दै बढी मूल्य लिने गरेका छन्,’ उनले भने, ‘होलसेल व्यवसायीले बढी मूल्यमा बिक्री गरेपछि खुद्रा व्यवसायीहरू पनि बाध्य भएर मूल्य बढाएका हुन् ।’ संघका अनुसार दाल र चामल, चना, चिनीको मूल्यमा पनि वृद्धि भएको छ । ‘रहर, मासको दाल र चनाको मूल्य करिब २५ प्रतिशतले बढेको छ । प्रतिकिलो चामलमा ५ देखि १० रुपैयाँ बढेको छ,’ बज्राचार्यले भने । यस्तै, चिनीको मूल्य पनि किलोमा १० रुपैयाँ बढेको जनाएको छ ।
विभागका अनुगमन शाखा निर्देशक बेल्बासेले मूल्य वृद्धिबारे सूक्ष्म अध्ययन भइरहेको बताए । ‘दसैंलगत्तै केही उद्योगीले मूल्य बढाएको पाइएको छ । उजुरी पनि परेको छ,’ उनले भने, ‘उद्योगीहरूको विवरण मगाएर अध्ययन गरिरहेका छौं । चाँडै अनुगमन र कारबाही गर्छौं ।’ मूल्य वृद्धि भएको सन्दर्भमा केही दिनअघि विभागले ठूला व्यवसायीहरूसँग छलफल पनि गरेको थियो । त्यसक्रममा व्यवसायीहरूले बन्दले गर्दा कलकत्ताबाट सामान आउन नसकेको, कच्चा पदार्थको मूल्य वृद्धि भएकाले त्यसको असर बजारमा परेको बताएको बेल्बासेले बताए
‘छलफलको क्रममा बन्दले रोकिएको सामान आउन नसकेको, कच्चा पदार्थको मूल्य वृद्धि र अर्कोतर्फ अभाव भएको व्यवसायीहरूले जानकारी गराएका थिए,’ बेल्बासेले भने । बन्दले केही समस्या भए पनि केही सातामै दोब्बर मूल्य बढ्नु शंकास्पद भएको विभागको ठहर छ । व्यवसायीहरूको भनाइ सत्यतथ्यबारे निगरानी राखेको विभागले जनाएको छ । ‘व्यवसायीहरूको कार्यको निगरानी गरिरहेका छौं । अध्ययन पनि भइरहेको छ,’ बेल्बासेले भने, ‘तिहार बिदा लगतै तीव्र अनुगमन र दोषीलाई कारबाही हुन्छ ।’ विभागका अनुसार मुलुकमा करिब १६ ठूला खाने तेल उद्योग छन् । बज्राचार्यका अनुसार खाद्यान्नको माग दैनिक बढ्दै गएकाले मूल्य थप बढ्ने सम्भावना छ । ‘आपूर्तिको समस्याले माग दैनिक बढ्दै गएको छ । थोक व्यवसायीले पनि मूल्य बढाएका छन्,’ अध्यक्ष बज्रचार्यले भने, ‘बिस्तार मूल्य थप बढ्ने सम्भावना छ ।’ बजार नियन्त्रण गर्नका लागि तत्काल आपूर्ति सहज र थोक व्यवसायमा अनुगमन गर्नपर्ने उपभोक्तावादीहरू बताउँछन् । 

कोई टिप्पणी नहीं: