रविवार, 8 नवंबर 2015

हाइड्रोपावरको लाइसेन्स ‘होल्ड’ गर्दै भारतीय कम्पनी !

२२ कात्तिक, काठमाडौं । भारतीय कम्पनीले नेपालका अधिकांश ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएर ‘होल्ड’मात्र गरेका छन् । विद्युत विकास विभागले दिएको जानकारीअनुसार, भारतीय कम्पनीले करिब ६ हजार मेगावाट विद्युत उत्पादन क्षमताका डेढ दर्जन जलविद्युत आयोजनाको लाइसन्स लिएपनि हालसम्म एउटा पनि आयोजना सम्पन्न गरेका छैनन् ।
नेपालका खोला ओगट्ने उद्देश्यलेमात्रै लाइसेन्स लिएको आरोप भारतीय कम्पनीले खेप्दै आएका छन् । यतिखेर भारतीय कम्पनीहरुको नियतमाथि नै प्रश्नचिन्ह खडा भएको छ । भारतीय सरकारी तथा निजी कम्पनीले लाइसेन्स लिएका जलविद्युत् आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म छ । नेपाल सरकारले भारतीय कम्पनीलाई आयोजना सम्पन्न गरी भारतमा विजुली निर्यात गर्ने गरि लाइसेन्स दिएको छ । भारतीय कम्पनीले अपेक्षाअनुसारको काम गर्न नसकेको उर्जा मन्त्रालयका सहायक प्रबक्ता गोकर्णराज पन्थले बताए । ‘नेपाल सरकारले लाइन्सको शुल्क बढाउने निर्णय गरेपछि धेरै भारतीय कम्पनीहरु लाइसेन्सको नविकरण गर्न नै आएनन्’ उनले भने ।
सरकारले पनि प्ररतविद्धताअनुसार आवश्यक पूर्वाधार निर्माण गर्न नसकेका कारण भारतीय कम्पनीहरु निरुत्साहित भएको हुनसक्ने उनले बताए । नेपालको जलविद्युतमा लगानी गर्ने अन्तरदेशीय प्रसारण लाइनको अभाव मुख्य समस्या रहेको पन्थले बताए । यसअघि नै सरकारले भारतीय कम्पनीहरुलाई दिएको करिब ७ हजार मेगावाट बराबरको विद्युत उत्पादन गर्ने इजाजत खारेज भइसकेको उनले जानकारी दिए । ‘सरकारले धेरै स्वदेशी तथा आयोजनाको इजाजत रद्द गरी सरकारी बाष्केटमा राखेको छ । भारतीय कम्पनीहरुको जसमध्ये करिब ७ हजार मेगावाट बराबरको इजाजत रद्द भएको छ ।’ पन्थले भने । ९ सय मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लाइसेन्स लिएको ६ वर्ष भइसके पनि भारतीय कम्पनी जिएमआरले अहिलेसम्म आशलाग्दो काम गर्न सकेको छैन । जिएमआरले नै लमजुङमा पर्ने ६ सय मेगावाटको माथिल्लो मस्र्याङदी -२ आयोजनाको लाइसेन्स लिएपनि निर्माण गर्ने सुरसार छैन । त्यसैगरी, सतलज जलविद्युत निगमले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको लाइसेन्स लिएको ६ वर्ष पूरा भयो । काम गरेको भए यसबेलासम्म निर्माण सम्पन्न भइसक्थयो तर यो आयोजना पनि अझै अन्यौलमै छ ।
लाइसेन्स होल्ड गरिएका परियोजना 
 माथिल्लो कर्णाली, जिएमआर कम्पनि  ९०० मेगावाट
अरुण तेस्रो सतलज, जलविद्युत निगम ९०० मेगावाट
दूधकोसी-२ ,मेतास मिनरल रिसोर्सेसकम्पनी , १३८ मेगावाट
दूधकोसी-४ ,केभिआर इन्डिया इन्फा विद्युत् भेन्चर्स ३५० मेगावाट
कर्णाली-७ , लान्को इन्पफोटेक कम्पनी  ३३० मेगावाट
ठूली भेरी, गेज कम्पनि  १२१ मेगावाट
भेरी-१ , केएसके इनर्जी भेन्चर्स ४४० मेगावाट
घान्द्रुक , पञ्चाजन्य हाइड्रो १११मेगावाट
 ठूली भेरी-१ त्रिशक्ति ऊर्जा ११० मेगावाट
भेरी-३ (जलासययुक्त) सनराइज हाइड्रोपावर ४८०मेगावाट
 माथिल्लो मर्स्याङ्दी-२, जिएमआर कम्पनि ६००मेगावाट
 बूढीगण्डकी ‘क’ पटेल इन्जिनियरिङ १३० मेगावाट
 बूढीगण्डकी ‘ख’ पटेल इन्जिनियरिङ २६० मेगावाट
बलेफी, त्रिवेणी ग्रुप ५० मेगावाट
 तिला-१ एससी पावर कम्पनि  ४४० मेगावाट
तिला-२ एससी पावर ४२० मेगावाट 

कोई टिप्पणी नहीं: