रविवार, 8 नवंबर 2015

एमाओवादीसँग एकता गर्ने वैद्य माओवादीको जोड !

२२ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले एकीकृत नेकपा माओवादीसँगको एकतामा मुख्य जोड दिएको छ । आइतबार परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि एमाओवादीसँगै एकता गरी अघि बढ्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका छन् । वैद्य माओवादीको शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा बोल्ने अधिकांशले नेकपा (एकीकृत)सँगको एकतापछि माओविचार मान्ने पार्टीहरुसँगको एकतालाई पनि मूर्तरुप दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सूर्य सुवेदी, मायाप्रसाद शर्मा, शावित्री काफ्ले, दिनेश शर्मा, दीलिप प्रजापति, मौसम लिम्बु, महेश्वर दाहाल लगायतले एमाओवादीलगायत माओविचार मान्ने दलहरुसँगको एकता प्रक्रियालाई मूर्त रुप दिन नेतृत्वलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले बताए । नेकपा एकीकृतसँगको एकता प्रक्रिया शुरु भइसकेकाले यतिमा मात्रै रोकिन नहुनेमा उनीहरुको जोड थियो । नेकपा एकीकृतसँगको एकता अधिवेशन आज नेकपा-माओवादी र नेकपा (एकीकृत)को संयुक्त अधिवेशन आइतबारदेखि शुरु हुने भएको छ । एकता अधिवेशनको तयारीका लागि शनिवार पोलिटब्युरो बैठक बसेको थियो ।

आइतबार अपरान्ह शुरु हुने एकता अधिवेशनअघि विहान ११ बजेदेखि केन्द्रीय समिति बैठक शुरु हुने भएको केन्द्रीय सदस्य रामदीप आचार्यले बताए । केन्द्रीय समिति बैठकले पार्टी एकतापछिको पार्टीको नाम तथा पार्टीको संरचना कस्तो बनाउने भन्नेबारेमा निर्णय गर्ने आचार्यले बताए । केन्द्रीय समिति बैठक सकिएपछि दिउँसो १ बजेदेखि संयुक्त अधिवेशन शुरु हुने कार्यक्रम तय गरिएको आचार्यले बताए । पोलिटब्युरो बैठकमा पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी केन्द्र वा नेकपा माओवादी एकीकृत राख्ने भन्नेबारे छलफल भए पनि निश्कर्ष ननिस्किएको माओवादीले जनाएको छ ।
संयोजक तय गरी आयोजक समिति बन्ने नेकपा-माओवादीले संयुक्त एकता अधिवेशनबाट दुवै पार्टी केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ । महाधिवेन आयोज समितिका लागि एकजना संयोजक तय गरी अरु महाधिवेशन आयोजक समिति बनाउने दुई पार्टीबीच छलफल भएको छ ।१५१ सदस्यीय केन्द्रीय समिति रहेको नेकपा-माओवादीमा नेत्रविक्रम चन्द ‘विप्लव’ विभाजित भएपछि बैकल्पिक केन्द्रीय सदस्यलाई पनि बढुवा गर्दै १ सय २५ सदस्य केन्द्रीय समिति बनाइएको छ । एक पदीय संरचना रहेको नेकपा एकीकृतमा भने २९ सदस्य केन्द्रीय समिति छन् । दुबै पार्टीका केन्द्रीय सदस्य गाभेर १ सय ५४ सदस्य केन्द्रीय सदस्य बन्नेछ ।  

कोई टिप्पणी नहीं: