रविवार, 8 नवंबर 2015

नाकाबन्दीले कृषिमा साढे ६३ अर्बको घाटा !

२२ कात्तिक, काठमाडौं । प्रमुख अन्नबाली गहुँ र जौं लगाउने समयमा रासायनिक मल, गहुँको बीउ, भाइटाभेक्स-२०० नपाएर किसान चिन्तित भएका छन् । कृषि विकास मन्त्रालयका अनुसार गहुँ तथा जौं बालीका लागि ९२ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ ।
agree-5अहिले कृषि सामग्री संस्थानमा ६ हजार मेट्रिक टनमात्र मल मौज्दात छ ।  नेपालमा करिब ७ लाख ६५ हजार हेक्टर जमिनमा गहुँ र करिब २८ हजार हेक्टर जमिनमा जौं खेती गरिन्छ । भारतले गरेको अघोषित नाकाबन्दी डेढ महिना नाघिसकेको छ । करिव तीन महिनादेखिको मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण सीमा क्षेत्रमा अबरोध हुँदा नेपालमा आउँदै गरेको १ सय २० मेट्रिक टन रासायनिक मल सुख्खा बन्दरगाहमा थन्किएर बसेको मन्त्रालयका सहसचिव डा. सुरज पोखरेलले जानकारी दिए ।‘सरकारले कृषि मलमा ६ अर्ब रुपैयाँ अनुदान दिएको छ, यो रकम गत वर्षको भन्दा तीन अर्ब रुपैयाँले बढी हो, समयमा मल ढुवानी गर्न कृषि सामग्री कम्पनीलाई भुक्तानी दिइसकिएको छ, कम्पनीले बोलपत्र आहृवान गरी मल ढुवानी गरिरहेकै बेलामा समस्या आयो’ सहसचिव पोखरेलले भने ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले जोत्नका लागि प्रयोग हुने ट्रयाक्टर, पावर ट्रेलर  इन्धन नभएर सञ्चालन गर्न नसक्नु, भाइटाभेक्स-२०० सुख्खा बन्दरगाहमा थन्किनु र समयमा गहुँको बीउ नपाउनुले उत्पादन वृद्धिमा थप जटिलता पैदा हुनसक्ने बताए ।
भाइटाभेक्स-२०० गहुँ तथा जौं बालीमा प्रयोग हुने औषधि हो, जुन  प्रयोग गर्नाले गहुँ तथा जौं बालीमा लाग्ने डढुवा, खैरो, पहेँलो सिन्दुरे, कालो पोके, गन्हाउने कालो पोके र धर्सेलगायत रोग निवारण हुन्छ ।  नेपालमा गहुँ तथा जौंमा लगाइने यो औषधि सरकारले १६ मेट्रिक टन भारतबाट आयात गर्ने गरेको छ ।
मन्त्रालयले पछिल्लो समयमा भारतले गरेको नाकावन्दीका कारण ४५ दिनको अवधीमा कृषितर्फ ६३ अर्ब ४९ करोड चार लाख ५३ हजार पाँच सय ४१ मूल्यबराबरको क्षति भएको जानकारी दिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्याँकअनुसार माछा, फलफूल, तरकारी, मसला, दूध, कुखुराजन्य, खसीबोका, गहुँ र धान तथा मलतर्फ नाकावन्दी पश्चात नेपालले ठूलो मूल्यबराबरको घाटा व्यहोर्न बाध्य भएको हो ।
यस्तै भारतको कलकत्ता वन्दगाह र वीरगञ्जस्थित सुख्खा वन्दरगाहमा रसायनिक मल आएर पनि नेपाल भित्रिन नसक्दा २९ करोड २० लाख ५८ हजार मूल्यबराबरको घाटा पनि यसमा जोडिएको छ । मन्त्रालयकाअनुसार भारतले गरेको अघोषित नाकावन्दीका कारण पछिल्लो ४५ दिनमा कृषितर्फ ठूलो मूल्यबराबरको घाटा भएको छ । 

कोई टिप्पणी नहीं: