गुरुवार, 19 नवंबर 2015

चिसोको चपेटामा भूकम्पपीडित,तात्नै छाड्यो मन्डी

३ मंसिर, सिन्धुपाल्चोक । मंसिरको ठन्डीमा घमाइलो घाम प्यारो हुने नै भयो । त्यहीमाथि शीत चुहिने जस्तापाता ठोकिएको अस्थायी टहरोभित्र कठ्यांग्रिएको शरीर जाडो मौसमको कलिलो घाममा सेकाएर तताउन बाध्य छन्, यसपालि भूकम्पपीडित । 
बिहानीको ११ बज्न खोज्दैछ । सुदूरपूर्वबाट उदाएको सूर्यको किरणले बाक्लो जंगलको अग्ला लोठसल्ला र चिलाउनेको रुख छेड्दै स्याउलेको साङ्लीभन्ज्याङलाई घमाइलो बनाउन भ्याइसकेको छ। बिहानीको खाना खाइवरी साङ्लीभन्ज्याङवासी टहरोबाहिर घाममा मस्त रहेको नागरिकमा खबर छ ।
ठन्डीले सताएपछि दुई दिनदेखि ज्वरोले थलिएका ४२ वर्षीय चित्रबहादुर खत्री टहरोअघि मन्डी ओढेर घुप्लुक्क सुतिरहेका छन् । बिरामी लोग्नेको स्याहारमा खटिएकी पत्नी जितकुमारीले एक गिलास मनतातो पानी थमाइन् । चित्रबहादुरले आँखै नखोली पूरै पानी घुटुघुटु पिइदिए र गिलास फुत्त भुइँमा राखे । ‘घाँटी दुखेर पानी निल्नै मुश्किल पर्छ । भातको सितो त छिर्दैछिर्दैन,’ सुन्निएका आँखाका डिल देखाउँदै उनले भने ।
घमाइलो लागे पनि घाम नाम मात्रैको । सिरिरि…. जंगलबाट आउने सिरेटोले घामको तापलाई चिस्याइदिँदो रहेछ । ‘अ‍ैल्यै यस्तो ! पुस–माघको ठन्डी कसरी छल्ने हो कुन्नि ?’ कमजोर शरीर टुसक्क बिसाउनसमेत हम्मे परेपछि मन्डीमै गुड्ल्किँदै चित्रबहादुरले सुस्केरा छाडे ।

त्यति नै बेला उनकै घर सामुन्नेको पीपलबोटको फेदमा बुढ्यौली शरीर अड्याएर बसेका ८७ वर्षीय सञ्जमान तामाङ खोक्न थाले ।
हिरिक्क बनाएर लामो खोकी थामियो ।
‘उमेरले बूढो भए पनि शरीर बलियै थियो । यी बालाई पनि ठन्डीले भेटेछ,’ बिरामी चित्रबहादुरछेउ आइपुगेका छिमेकी बेलबहादुर खत्री भन्दै थिए ।
वैशाख १२ को विनाशकारी भूकम्पबाट सर्वस्व गुमाएर घाँसेमैदान साङ्लीभञ्ज्याङ आइपुगेका स्थानीय डाँडागाउँवासी ठन्डीबाट कठ्यांग्रिन थालेका छन् । चिसोले घरैपिच्छे टन्सिल, रुघा, ज्वरो, दम र खोकीका बिरामी छन् । केटाकेटी र वृद्धवृद्धालाई जोगाउन हम्मे परेको छ ।
मौसम फेरिए पनि उनीहरुका दुःख र सास्ती फेरिएका छैनन् । बरु अनगिन्ति समस्याका चाङ थपिँदो छ । भलबाढीबीच उनीहरुले कहालीलाग्दो बर्खा गुजारे । टहरोभित्र पानी उम्रन्थ्यो, भल पस्थ्यो, सोहोर्दैमा हैरान थिए । हिँउदमा केही सुविस्ता हुने ठानेका थिए उनीहरुले । तर ठन्डी लिएर आएको हिँउदले अझ बढी सास्ती दिने संकेत गरिरहेको छ । भुइँबाट पानी उम्रन छाडेको होइन, जस्ताको छानो र जस्ताकै बारबेर गरी बनाइएको टहरोभित्र बिहानीपख शीतको सानो भलबाढी नै बग्छ ।

कोई टिप्पणी नहीं: