गुरुवार, 19 नवंबर 2015

भारतीय नाकाबन्दीले सिकाएका आठ वटा पाठ !

पूर्ण सापकोटा मंसिर ३ - नेपालको लागि कस्तो संविधान बनाउने भन्ने कुरा नेपाली जनताले निर्णय गर्ने कुरा हो । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले जनताले दिएको निर्देशानुसार संविधान बनाउने विधि सर्वोत्तम विधि हो । कुनै पनि देशको संविधान बाहिरी दबाब र विदेशीको आग्रहमा बन्ने होइन ।
भारतीय नाकाबन्दीले सिकाएका आठ वटा पाठत्यसैअनुसार नै नेपालको संविधान पनि नेपाली जनताका प्रतिनिधिहरुले आफैले बनाएका छन् । त्यसको स्वागत र समर्थन हुनु जति स्वाभाविक छ, त्यसरी नै आलोचना वा विरोध हुनु पनि स्वभाविक छ । यसैलाई निमित्त कारण बनाएर छिमेकी देशले भूपरिवेष्ठित नेपालमाथि नाकाबन्दी थोपर्नु र नेपाली जनतालाई समस्यामा पार्नु सोहै आना गलत कार्य हो ।
भारतीय नाकाबन्दीले आज सबै नेपालीको दैनिकीमा गम्भीर असर परेको छ । जीवनदायक औषधी, इन्धन र खाद्यान्नसमेत नाकाबन्दी गरेर आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र भारतले मानव अधिकारको ठाडो उल्लंघन गरिरहेको छ । यसलाई जतिसुकै निन्दा गरे पनि पुग्दैन । हामी सबै स्वाभिमानी देशभक्त नागरिकहरुले यो नाकाबन्दीलाई पनि पाठको रुपमा लिएर व्यवहार गर्न थाल्ने हो भने समस्याको हल र निकास पाउने छौं । त्यसको लागि देशको सार्वभौमसत्ता र अखण्डता बचाइराख्न देशको राजनीतिक नेतृत्वका साथै आम जनतामा पलाएको नकारात्मक सोच र निराशालाई सकारात्मक दिशातर्फ परिवर्तन गर्नु आवश्यक छ ।

हाम्रो देशमाथि हस्तक्षेप गरेर अनावश्यक दबाब दिने भारत आफ्नै देशमा स्वतन्त्र राज्यको माग गर्दै लडिरहेका दार्जलिङ, शिलगुढी, मिरिक र कालीङपोङका नेपाली भाषीहरुको समस्या किन हल गर्दैन ? यहाँ नेपालमा भएको मधेश आन्दोलन जस्ता आन्दोलन त त्यहॉ दर्जनौं छन् । ती आन्दोलनका मागलाई संवोधन गर्न किन तयार छैन ?
के के पाठ सिकायो नाकाबन्दीले ?
एक, भारतीय नाकाबन्दीलाई एउटा पाठको रुपमा आत्मसात् गर्नु भनेको परनिर्भरतालाई न्यूनीकरण गर्दै आत्मनिर्भरताको बाटोमा अघि बढ्ने संकल्प गर्नु हो । सन् १९८० को दशकसम्म चामललगायत अन्य कृषि जन्य सामग्री निर्यात गर्ने हाम्रो मुलुक अहिले वर्षमा चामल मात्रै १२–१३ अर्व रुपैयाँको आयत गर्दछ । उब्जाउ हुने खेत बारीहरु बाँझै छन् । तिनलाई हराभरा गराउने प्रवाहरु खाडीका मरुभुमीमा पसिना बगाइरहेका छन् । यो नाकाबन्दीले नेपाली युवामा अब ती पौरखी हातहरुले विदेशमा होइन, स्वदेशकै माटोमा पसिना बगाउनुपर्छ भन्ने सोच पलाएको छ ।
दुई, यो नाकाबन्दीले नेपाली जनतालाई आयतमुखी अर्थतन्त्रभन्दा आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र दिगो र भरपर्दो हुने कुराको शिक्षा दिएको छ । विशेष गरी २०४६ को जनआन्दोलनपछि बनेका सरकारहरुले खुला बजार अर्थतन्त्र र निजीकरणलाई अन्धाधुन्द अबलम्बन गर्दा देशमा परनिर्भरता बर्षेनी बढ्न गयो । आज देश महँगा र विलाशी वस्तु खरिद गर्दा आउने भन्सार राजस्वमा निर्भर छ ।
तीन, विगतमा देशलाई केही मात्रामा भए पनि आत्मनिर्भर गराउने उद्देश्यले खुलेका कलकारखानाहरु बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना, बीरगंज कृषि औजार कारखाना, जस्ता कारखाना कौडीको भाउमा बेचिए । कृषिमा अनुदान घटाउँदै लगियो । जवकि खुलाबजार अर्थतन्त्रको वकालत गर्ने स्वयं अमेरिका र भारतमा किसानहरुलाई राज्यले अरबौं अनुदान दिने गर्दछ । त्यसैले अब आन्तरिक उत्पादनलाई बढवा दिंदै कृषि अनुदानमा बृद्धि, निर्यात प्रवर्धन र आयत प्रतिस्थापनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्ने र समानुपतिक वितरणलाई प्राथमिकता दिने नीति अवलम्बन गर्नुपर्ने गतिलो शिक्षा यस पटकको नकाबन्दीले दिएको छ ।
चार, वैकल्पिक इन्धनको (ऊर्जाका) प्रवर्धन र प्रयोगलाई बढाउनुपर्ने शिक्षा यस पटकको नाकाबन्दीले दिएको अर्को महत्वपूर्ण शिक्षा हो । अहिले हामीले उपयोग बढाउँदै लगेको इन्धन सबैभन्दा बढी हरित गृह ग्याँस उत्सर्जन गर्ने इन्धन हो । हरित गृह ग्याँसले आज विश्वव्यापी तापक्रम वृद्धि तथा वातावरणमा प्रदुषण बढाएको छ । त्यसैले आजको आवश्यकता बढी भन्दा बढी जलविद्युत, सौर्य ऊर्जा र वायुऊर्जा जस्ता ऊर्जाको स्रोतलाई उपयोग गर्नु हो । छिटोभन्दा छिटो त्यसप्रकारका ऊर्जा उत्पादनका आयोजनाहरुको निर्माणलाई बढाउनुपर्ने शिक्षा यो नाकाबन्दीले दिएको छ ।
पाँच, यो नाकाबन्दीले नीति निर्माताहरुलाई पेट्रोलियम पदार्थको आयात गर्दा आउने भन्सारमा आधारित राजस्व संकलनलाई जोड दिने होइन कि त्यसलाई प्रतिस्थापन गरेर जलविद्युतबाट आउने राजस्वले देश चलाउनतिर लाग्न प्रेरणा दिएको हुनुपर्दछ । यो इख मानेर देश विकासमा लाग्ने स्वाभिमानी नेतृत्वको लागि निकै राम्रो अवसर र गतिलो शिक्षा हो ।
छ, व्यापार विविधिकरण गर्नुपर्ने चेतना नाकावन्दीले दिएको अर्को महत्वपूर्ण शिक्षा हो । देशको व्यापार एक देशमा मात्रै केन्द्रित नगरेर प्रतिस्पर्धा र पारस्परिक हितमा आधारित भएर धेरै देशसँग गर्नुपर्ने शिक्षा यो नाकाबन्दीले दिएको छ । विगतमा अन्तर्राष्ट्रिय व्यापार भारतमा मात्र केन्द्रित गर्दा उत्तरतर्फका चिनिया नाकासम्म जोड्ने राजमार्ग, भन्सार, सुख्खा बन्दरगाह जस्ता पूर्वाधार विकास गर्न जोड दिइएन । यस नाकाबन्दीले सबैतिर पूर्वाधार निर्माण गर्नुपर्ने रहेछ भन्ने शिक्षा दिएको छ ।
सात, राष्ट्रिय मुद्दामा देशभित्रका राजनीतिक पार्टीहरु एक हुनुपर्ने शिक्षा पनि यो नाकाबन्दीले नेपालका राजनैतिक पार्टीहरुलाई दिएको छ । आज संसारका विकसित देशहरु अमेरिका, चीन, जापान, बेलायत वा भारत पनि रातारात आजको स्थितिमा आएका होइनन् । अमेरिकाले वेलायतको उपनिवेशबाट मुक्त हुन शताब्दीयौं लडेको थियो । त्यहाँ त्यतिबेला हजारौंको बलिदान भएको थियो । चीनले जापानी उपनीवेशबाट मुक्त हुन र नयाँ जनवादी क्रान्तिसम्पन्न गर्न दशकौं लडाई लडेको थियो । त्यहाँ पनि लाखौको वलिदान भएको हो । छिमेकी राष्ट्र भारतमा पनि बेलायती उपनिवेशबाट मुक्त हुन शताब्दीयौ लामो लडाइँ र हजारौंको वलिदान भएको हो । त्यसैले ती देशका राजनैतिक दल र नागरिकहरु आज राष्ट्रियताका मुद्धामा सबै एकै ठाउँमा आउँदछन् ।
भारतीय शासकहरुले तपाईं मधेशी जनताहरुको काँधमा बन्दुक राखेर नेपालतिर पड्काउन थाले ।नेपाली जनतालाई नाकावन्दीको नाममा यातना र प्रताडना लादियो, नेपालका शाषकहरु र राज नेताहरुलाई झुकाउन खाजियो तापाईहरुको आन्दोलनलाई भारतिय नाकावन्दीसँग जोडेर हेर्न थालियो । त्यसै दिनदेखि त्यो सर्मथन तपाईंहरुले गुमाउनुभयो ।
आठ, नेपाल कहिल्यै कसैको उपनिवेश बनेको छैन । यो हाम्रा लागि गौरवको विषय हो । तर सुगौली सन्धिपछि हाम्रा शासकहरुमाजुन दास मनोवृत्तिको विकास भएको छ । उनीहरु अब त्यसबाट मुक्त भएर स्वाभिमानका साथ उभिने प्रयास गर्नुपर्दछ । हाम्रा शासकहरु र राजनेताहरुलाई यस नाकावन्दीले दिएको सवैभन्दा ठूलो शिक्षा यही हो । स्वाभिमानी नेपाली जनताले यतिबेला भनिरहेका छन्, आदरणीय राजनैतिक नेतृत्वहरु, तपाईहरु राष्ट्रियहितलाई केन्द्रमा राखेर अघि बढ्नुहोस्साथ दिन र जस्तो सुकै कष्ट सहन हामी तयार छौं । वलिदान गर्न हामी तयार छौ। यो नेपाल र नेपाली जनताको हित रक्षाको दृष्टिले निकै ठूलो एकता प्रदर्शन हो ।
घरको समस्या घरभित्रै सल्ट्याऊ !
देश विकासका लागि, स्वतन्त्रता र स्वाधिनताको लागि इतिहासमा एउटा पिढीले दुःख पाउन तयार हुनैपर्छ । सबै देशकोइतिहास यहीहो । हामी त्यसका लागी तयार छौ हुनैपर्दछ । भारतले मधेशको समस्यालाई निमित्त कारण बनाएर नाकाबन्दी लादेको मात्र छैन, अनावश्यक दबाब र हस्तक्षेप बढाएको छ । स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न हाम्रो देशमाथि आफ्नो हैकम लाद्न खोजेको छ । हामी उसको त्यसप्रकारको हैकम मान्न तयार छैनौ । हाम्रो देशमाथि हस्तक्षेप गरेर अनावश्यक दबाब दिने भारत आफ्नै देशमा स्वतन्त्र राज्यको माग गर्दै लडिरहेका दार्जलिङ, शिलगुढी, मिरिक र कालीङपोङका नेपाली भाषीहरुको समस्या किन हल गर्दैन ? यहाँ नेपालमा भएको मधेश आन्दोलन जस्ता आन्दोलन त त्यहॉ दर्जनौं छन् । ती आन्दोलनका मागलाई संवोधन गर्न किन तयार छैन ?
जहाँसम्म मधेश आन्दोलनको कुरा छ, हामीलाई थाहा छ मधेशमा धेरै विभेद र अन्याय छ । त्यहाँको आन्दोलनप्रति हामी सबै नेपालीको सहानुभुति र नैतिक सर्मथन छ । तर जब आन्दोलनको नाममा मधेशी केही नेताहरुको इशारामा तपाईंहरु सिमापारी बसेर दशगजाबाट नेपालतिर ढुंगा वर्षाउन थाल्नुभयो । भारतीय शासकहरुले तपाईंहरुको काँधमा बन्दुक राखेर नेपालतिर पड्काउन थाले । सारा नेपालीलाई दुःख दिन थाले । नेपाली जनतालाई नाकावन्दीको नाममा यातना र प्रताडना लादियो, नेपालका शाषकहरु र राज नेताहरुलाई झुकाउन खाजियो तापाईहरुको आन्दोलनलाई भारतिय नाकावन्दीसँग जोडेर हेर्न थालियो । त्यसैदिनदेखि त्यो सर्मथन तपाईंहरुले गुमाउनुभयो । तपाईंहरु यतिबेला तपाईंहरुका मागप्रति ऐक्यवद्धता जनाइरहेका आम नेपाली जनताबाट एक्लिनुभएको छ । त्यसैले सिमाना केन्द्रित आन्दोलन होइन,आन्दोलनका अरु कार्यक्रम ल्याउनुहोस, आम नेपालीको सर्मथन पाउनुहुनेछ ।
अन्तमा देशमा राजनीतिक नेतृत्व त सधै हुन्छ । तर संकटमा पार लगाउने दल र नेताहरु नै सही अर्थमा राष्ट्रका नेता हुन र तिनीहरु नै इतिहासमा अमर र सम्मानित हुन्छन् । अहिले तपाईंहरु प्रतिरोध मात्र गरिरहनुभएको छ । केही समय प्रतिरोध त २०४५ सालको यस्तै नाकावन्दीमा तत्कालिन प्रधानमन्त्री मरिचमानले पनि गरेका थिए । जनताहरु यतिबेला निकासको प्रतिक्षामा छन् । इतिहासमा यत्तिको जनसमर्थन कुनै सरकारले पाएको थिएन ।
नेपाली जनताहरु २–४ लिटर तेल र आधा सिलिन्डर ग्यासको लागी ३–४ दिनसम्म लाइनमा बस्न अभ्यस्त भएका छन् तर पनि सरकारको विरोधमा चुँसम्म गरेका छैनन् । यो जनताको सदासयता हो । शासकहरुले जनताको सदासयतालाई कमजोरी ठान्ने गल्ती गर्नुहुँदैन । त्यसैले चाँडोभन्दा चाँडो समस्याको समाधान र राजनीतिक संकटको निकासमा सरकारले गंभीरता प्रदर्शन गर्नुपर्दछ ।


घुवाङ, प्यूठान

कोई टिप्पणी नहीं: