सोमवार, 2 नवंबर 2015

आन्दोलन ७९औं दिनमा प्रवेश : बन्द र नाकाबन्दीलाई अझ सशक्त बनाउने मोर्चाको निर्णय!

कार्तिक १६ - जनकपुरमा दुई दिनसम्म चलेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले नाकाबन्दीसहितको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
आन्दोलन ७९औं दिनमा प्रवेश : बन्द र नाकाबन्दीलाई अझ सशक्त बनाउने मोर्चाको निर्णयजारी आन्दोलनलाई निरन्तरता दिनुको विकल्प नरहेको निष्कर्षमा पुग्दै मोर्चाका शीर्ष नेताहरुले तराईमधेशका राजमार्गमा नाकाबन्दीलाई अझ सशक्त बनाउनेमा समेत जोड दिएका छन् । बैठकले नेपालभारतको सीमानाकामा एक महिनाभन्दा बढी समयदेखि जारी नाकाबन्दी अत्यधिक सफल रहेको निष्कर्षसमेत निकालेको छ । जारी तेस्रो मधेश आन्दोलन र सरकारसँगको वार्ताबारे समीक्षा र आगामी रणनीति तय गर्न जनकपुरको एक होटलमा मोर्चाका चारवटै घटक दलका शीर्ष नेताहरुको सहभागितामा शनिबार र आइतबार बैठक बसेको थियो । बैठकले सरकारले वार्ताको नाटक गरेको निष्कर्षमा पुग्दै गम्भीर भएर वार्तालाई तार्किक निष्कर्षमा सरकारी पक्षलाई आग्रह समेत गरेको छ । बैठकपछि इसमतासँग कुरा गर्दै मोर्चाको घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आन्दोलनलाई यथावत् राख्दै मधेशका राजमार्ग क्षेत्रमा आमहडताल र नाकाबन्दीलाई अझ सशक्त बनाउनुपर्ने निर्णय गरिएको बताए ।


सरकारले वार्ताको नाटक गरिरहेको आरोप लगाउँदै यादवले ‘हामीले मधेशका मागप्रति गम्भीर भएर वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारसँग आग्रह गरेका छौं’ जानकारी गराए ।
यस्तै, अर्को घटक दल तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले पनि जारी आन्दोलनलाई यथावत् राख्दै राजमार्गमा नाकाबन्दीसहितको आन्दोलनलाई कडा र सशक्त बनाउने निर्णय गरेको बताए ।
मोर्चाको बैठकले वार्ताप्रति गम्भीर हुन र सक्दो चाँडो मधेशका माग पूरा गर्न सरकारलाई विशेष आग्रह गरेको लालको भनाइ छ ।
मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गरी अझ सशक्त बनाउने तथा वार्ता भंग गर्ने निर्णय गर्नसक्ने चर्चा र अनुमान चले पनि दुई दिन बसेको बैठकले त्यस्तो अप्रत्याशित निर्णय गरेन ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रेस विज्ञप्ति

२०७२ कार्तिक १४ र १५ गते जनकपुरधाम, धनुषामा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले निम्न अनुसारका निर्णयहरु गरेको छ ।
१. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा समान अधिकार, समानुपातिक समावेशिता, प्रादेशिक स्वायत्तता र पहिचानसहितको संघीयताका साथै मधेशी, थारु, आदिवासी–जनजाति, दलित, मुश्लिम आदि समुदायप्रति राज्यद्वारा गरिँदै आएको विभेद, असमानता, र उत्पीडनलाई अन्त्य गर्नका लागि जारी रहेको आन्दोलन आज ७९औं दिनमा प्रवेश गरेको छ । यस ऐतिहासिक आन्दोलनमा आम जनसमुदायद्वारा गरिएको व्यापक समर्थन र सहयोगको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यसप्रकारको सहयोग निरन्तर जारी रहने अपेक्षा गर्दछौं ।
२. आन्दोलनको दौरान सहादत प्राप्त गर्नुहुने सम्पूर्ण अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
३. आन्दोलनको दौरान जारी रहेको आन्दोलनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरु– आम हडताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग र कलकारखाना लगायत सरकारी कार्यालय तथा वित्तिय संस्थाहरुको बन्दी अझ बढी सशक्त रुपमा अगाडी बढाउने ।
४. जनपरिचालन कार्यक्रमहरु अझ बढी सशक्त र सहभागितामूलक बनाउने ।
५. सरकारले वार्ताद्वारा समस्या समाधान गर्नुको सट्टा वार्तालाई निरर्थक तथा उपलब्धिहीन र निष्कर्षविहीन बनाई वार्ताको नाटक मात्र रच्ने कार्य गरेको छ । वार्तालाई परिणाममुखी बनाउन सरकार संवेदनशील हुनुपर्दछ ।
६. शान्तिपूर्ण र अहिंसात्मक असहयोग आन्दोलनका दौरान सम्पूर्ण ओद्योगिक तथा व्यावसायिक वर्ग, किसानलगायतकाले लिएको बैंकको ऋणको ब्याज र जरिवाना मिनाहा गरिनुपर्दछ ।
७. संवैधानिक रुपले मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुश्लिम, पिछडावर्गलगायतकाले उठाएका मुद्दाहरु सम्बोधन नहुन्जेलसम्म आन्दोलन निरन्तर रुपमा यथावत् जारी नै रहने छ ।

उपेन्द्र यादव 
अध्यक्ष , संघीय समाजवादी फोरम
महन्थ ठाकुर
अध्यक्ष , तमलोपा
राजेन्द्र महतो
सदभावना पार्टी
महेन्द्र राय यादव
तमसपा

कोई टिप्पणी नहीं: