गुरुवार, 12 नवंबर 2015

प्रधानमन्त्रीको व्यस्तता : पुरस्कार वितरणदेखि रात्रीभोजसम्म

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार बिहानैदेखि विभिन्न सार्वजनिक समारोहमा व्यस्त रहने भएका छन् । बिहानै पुरस्कार वितरणबाट सुरु हुने प्रधानमन्त्रीको व्यस्तता साँझ शीतलनिवासमा आयोजना गरिएको रात्रीभोजमा पुगेर टुंगिनेछ ।
प्रधानमन्त्री ओली विहीबार बिहानै नयाँ सम्वत ११३६ को अवसरमा उग्रचण्डीमाई जावलाखेलमा आयोजना गरिएको प्रभातफेरीको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सहभागी भएका छन् । जावलाखेलको कार्यक्रम सकेपछि ठिमीस्थित शंखधर चोकमा शंखधर साख्वाःको पहिलो प्रतिमामा माल्यार्पण गर्ने प्रधानमन्त्रीको कार्यसूची छ ।
भक्तपुरको कार्यक्रमपछि प्रधानमन्त्री ओली वसन्तपुरमा आयोजित नयाँ सम्वतको सांस्कृतिक प्रभात फेरी र्‍यालीको समापन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । साँझ ५ बजेपछि प्रधानमन्त्री ओली शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्री भोजमा सरिक हुने छन् ।

बहादुरभवनपछि शीतलनिवासमा भोजराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ शीतलनिवासमा रात्रीभोजको आयोजना गरेकी छिन् । यसअघि मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले बहादुरभवनस्थित आफ्नै कार्यलयमा दिवाभोज गरेका थिए ।
राष्ट्रपतिले आयोजना गरेको रात्रीभोजमा मन्त्रीहरु, दलका शीर्ष नेता एवं विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
मुलुकमा ग्यास तेल लगायतको इन्धन संकटले जनताको तिहार खल्लो भए पनि सरकारले चाडबाडका अवसरमा हुने नियमित परम्परालाई सामान्य अवस्थामा जस्तै निरन्तरता दिएको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा दसैंको अवसरमा भोज गरेका थिए, जसको सामाजिक सञ्जालमा सामान्य आलोचनासमेत भएको थियो ।

कोई टिप्पणी नहीं: