शुक्रवार, 20 नवंबर 2015

कांग्रेस नेता चौधरी भन्छन्-सुशील मन्द बुद्धिका, रामचन्द्र काइते बाहुन !

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्सा ४ का सांसद सुरेन्द्रप्रसाद चौधरी यसै सातादेखि घोषणा गरेरै मधेस आन्दोलनमा सहभागी हुने भएका छन् । संविधानमा हस्ताक्षर गर्ने बेलादेखि नै असन्तुष्ट रहेका चौधरीले कांग्रेस नेताहरुको नामै लिएर उनीहरु मधेसबिरोधी रहेको आरोप लगाए । अहिलेका वार्ताबाट समाधान नहुने ठोकुवा गर्दै चौधरीले भने- अब रामचन्द्र पौडेलहरुको पछि लाग्दैनौं, आन्दोलन कसैले नसोचेको खालको हुन्छ र त्यहीँबाट सबै हिसाब किताब हुन्छ ।
प्रस्तुत छ, चौधरीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको संक्षिप्त कुराकानी :
तस्वीरः थारूवानप्रदेशहरुका सीमांकनमा परिमार्जन गर्ने कुरा कांग्रेसले नमानेको हो ? 
तराई मधेसबाट आजसम्म सधैं कांग्रेसले चुनाव जितेको छ । कांग्रेसलाई जति विश्वास मधेसी जनताले अरु पार्टीलाई गरेनन् । तर, यही कांग्रेसको नेतृत्वबाट मधेसी जनताले पटक-पटक धोखा खाएकाले अब हामी नै मान्दैनौं । हेरिरहनुस् अब म मात्र होइन, हामी कांग्रेसका सांसदहरु घोषणा गरेरै आन्दोलनमा जान्छौं । कांग्रेसका केही मधेसबिरोधी नेताहरु अहिले सीमांकन परिमार्जन गर्न हुँदैन भनेर अड्को थापिरहेका छन् । यो कुरा हामीलाई स्वीकार्य छैन ।

सीमांकन परिमार्जन गर्ने भनेर त सैद्धान्तिकरुपमा सबै सहमत भएका होइनन् र ? 
सीमांकन परिमार्जनको औचित्य पहिलेदेखि नै छ । हाम्रो कुरालाई शुरुमै बेवास्ता गरेर मूढे बलमा जुन तीनदलको सिण्डिकेटले काम गरेको हो, यसैबाट भयावह द दुश्चक्रमा मुलुक फस्यो । यिनीहरु अझै चेतेका छैनन्, अब तपाई हामी कसैले कल्पना पनि नगरेको घटना हुँदैछ देशमा ।
के हो त्यो अकल्पनीय घटना ? 
त्यो म अहिले किन भन्छु ? तर, मधेस आन्दोलनमा मेरो शत प्रतिशत समर्थन छ । यो कुरा तपाईले लेखिदिनुस् । अब म घोषणा गरेरै मधेस आन्दोलनमा सहभागी हुन्छु र धेरै साथीहरु पनि हुनेछन् । यिनीहरु सहमति र सम्झौताको पक्षमा छैनन् । अब आन्दोलन यस्तो मोडमा जान्छ कि, यिनीहरुले आन्दोलनकारीलाई रातो कार्पेट बिछ्याएर माग पूरा गर्न बोलाउनेछन् । त्योबेला आन्दोलनकारीले मागेको भन्दा बढी पाउने र यिनीहरुले अहिले दिन चाहेको भन्दा सबै गुमाउने अवस्था आउँछ ।
तर, नेपाली कांग्रेसको पदाधिकारी बैठकले नै सीमाकंन परिमार्जन हुँदैन भनेपछि आन्दोलन त तपाईहरुले पहिले पार्टीभित्रै गर्नुपर्‍यो नि होइन ?
रामचन्द्र पौडेल र कृष्ण सिटौलाजस्ता नेताले भनेका कुराहरु बकबास हुन् । सिटौला, ओली, पौडेल जस्ताहरुले नै मुलुकलाई यो हालतमा लगेका हुन् । कांग्रेसको कुरा गर्नुहुन्छ भने सुशील कोइराला मन्द बुद्धिका मानिस हुन् । रामचन्द्र पौडेल काइते बाहुन् हुन् । रामचन्द्र पौडेलको काइते बुद्धिले यो मुलुक दुष्चक्रमा फसेको छ र कल्पना गर्न नसकिने आन्दोलनको तयारी हुँदैछ ।
आफ्नो पार्टीका शीर्षनेतालाई कुन आधारमा यस्तो आरोप लाउँदै हुनुहुन्छ ? 
यो खुलमखुल्ला कुरा छ, लेख्नुस तपाईले । रामचन्द्र पौडेल, कृष्ण सिटौला, महेश आचार्य, रामशरण महतलाई मधेसीहरुले देख्न पनि चाहँदैनन् । यिनीहरु मधेसविरोधी हुन् भन्ने सबैलाई परिसकेको छ । अहिले राजनीतिक समितिका नाममा फेरि सिटौला वार्तामा बस्न खोजिरहेका छन् । यिनीहरुले मधेस आन्दोलनको माग पूरा गर्न दिँदैनन् नि ।
अहिले त कांग्रेसका कारण हलो अड्कियो भन्ने सन्देश गयो होइन ? 
मैले भनिसकें सिटौलाजस्ता मान्छेहरुलाई वार्तामा राख्नुहुँदैन । अहिले सीमांकन परिमार्जनको कुरा कांग्रेसले गर्दा अड्केको सन्देश गयो । वास्तवमा भन्ने हो भने यो सीमांकन औसत बुद्धि भएका मान्छेले गरेका हुन् । सिटौला त बुद्धि भएका मान्छे नै होइनन् । बरु रामचन्द्रको नेपाली लेखनचाहिँ राम्रो छ, उनी नेपाली भाषामा एमए गरेका मान्छे हुन् । कांगंेसको शीर्ष नेतृत्वमा बसेका मान्छे सबै यस्ता छन्, त्यसैले त यो कार्यान्वयन नहुने संविधान जरी गरे यिनीहरुले ।
यस्तो संविधानमा तपाईले किन हस्ताक्षर गर्नुभयो त ? 
वास्तवमा म संविधानमा सही गर्ने पक्षमा थिइँन । तर, धेरै बिचार गरेर यस कारण सही गरेँ कि, नेपालको इतिहासमा जनताको छोराले पहिलोपटक संविधान जारी गर्दैछ । यसअघिका संविधान त राजाहरुले गर्थे । त्यही भएर मैले सही गरेको हुँ । संविधान मन परेर सही गरेको होइन ।
कांग्रेसको नेतृत्वमा संविधान जारी भएको छ, तर तपाई यस्तो कुरा गर्दै हुनुहुन्छ, किन ?
हामी त अब आन्दोलनमै जाने हो । आन्दोलनलाई सघाउने लाइनमा हो । अब हामी रामचन्द्र पौडेलको पछि लाडेर हिडिँदैन । यिनीहरुले कुरै बुझ्दैनन् । यिनीहरुको क्षमता त बिहार राज्य चलाउने जतिको पनि छैन । यिनीहरुको क्षमता र सामथ्र्यलाई मैले नजिकबाट देखेको छु । अब हेरिरहनुस् आन्दोलन कसैले सोच्न नसक्ने खालको हुनेछ ।
यसरी आन्दोलनमा जान्छु भनेर धम्क्याउनु भन्दा मध्यमार्गी विकल्प दिन सकिँदैन ? 
यिनीहरुले हाम्रो मध्यमार्गी विकल्प मान्नुपर्‍यो नि । यिनीहरु त आफूलाई जमिन्दार ठान्छन् । सुशील कोइराला, रामचन्द्र पौडेल, केपी ओली र प्रचण्डहरुका अब दुर्गति शुरु हुनेछन् । हाम्रा सुझाव यिनीहरुले प्रकारान्तरमा बेवास्ता गरेकै कारण अहिलेको अवस्था आएको हो ।
तर, पनि प्रदेशको सीमांकन हेरफेर कसरी गर्ने भन्ने सुझाव त होला नि ?
हामी यसबारेमा छलफल गर्दैछौं । हामी एउटा भिजन दिन्छौं । चाँडै नै हाम्र्रोतर्फबाट घोषणा हुन्छ । तर, म तपाई मार्फत नै भन्छु, भोलिदेखि नै म आन्दोलनमा जान्छु ।
अहिलेको प्रदेश नम्बर २ मा थपघट गर्ने कुरा कसरी मिल्छ होला ?
घटाउने भन्ने त सम्भव नै छैन । तर, बढाउने सन्दर्भमा विकल्पहरु दिन्छौं । तर, यिनीहरुले तत्काल हाम्रो विकल्प मान्दैनन् । त्यसपछि आन्दोलन अर्कै मोडमा पुग्छ र रातो कार्पेट ओछ्याएर यिनीहरुले आन्दोलनकारीलाई स्वागत गर्नेछन् । त्यसभन्दा अघि मिल्ने सम्भावना छैन ।
तपाईको मतलव, अहिले जारी वार्ताबाट मिल्ने सम्भावना छैन ?
बिल्कुल मिल्दैन । अब केही दिनमा नसोचेको आन्दोलन हुन्छ त्यसपछि मात्र सबै कुराको छिनोफानो हुनेछ । अब मचाहिँ आन्दोलनमा हिडेँ ।
मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ, तपाई मिसिएर जन्ती हुने कि भातखौरे ?
यो आन्दोलन सबै मधेसी जनताको आन्दोलन हो कुनै मोर्चा वा पार्टीको होइन । आन्दोलनका क्रममा मधेसी मोर्चासँग वार्ता भए पनि आन्दोलन सबैको हो । यो कुनै पार्टीको झण्डामुनि गरिएको आन्दोलन होइन ।  

कोई टिप्पणी नहीं: