रविवार, 22 नवंबर 2015

एम्बुलेन्समा आक्रमण सरकारी भिजिलान्तेबाट : मधेशी मोर्चा

 कुमार अमरेन्द्र, मंसिर ६ - आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तिहार र छठलगत्तै तराई मधेशमा जारी आन्दोलनलाई अझ सशक्त बनाएपछि भिडन्त बढेको छ ।यसैबीच औषधी बोकेका गाडी र विरामी बोकेका एम्बुलेन्समा समेत आक्रमण भएपछि आन्दोलनकारीहरुको आलोचना व्यापक भएको छ । तर आन्दोलनकारीहरुले एम्बुलेन्समा भएको आक्रमणमा सरकारी भिजिलान्ते प्रयोग भएको आरोप लगाएका छन्। शुक्रबार विराटनगरमा मोर्चाका कार्यकर्ताद्वारा सवारीसाधनमाथि भएको भनिएको तोडफोडको घटनाबारे जिज्ञासा राख्दा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादवले आमहड्ताल र राजमार्गको आन्दोलनलाई अवज्ञा गर्दा कारबाही गरिएको बताए । विराटनगर आन्दोलनको मोर्चा सम्हालेका यादवले अखण्डवादीहरुको हर्कतका कारण आन्दोलनकारीमा आक्रोश थपिएको जनाउँदै मोरङकै कटहरीमा एम्बुलेन्समाथि भएको आक्रमणमा भने आफ्ना कार्यकर्ताको कुनै संलग्नता नरहेको दाबी गरे ।आन्दोलनकारीलाई थकाउन नसकेपछि सरकारले आन्दोलनमा भिजिलान्ते प्रयोग गर्नै नीति अख्तियार गरेको जिकिर गर्दै शुक्रबार एम्बुलेन्समा भएको आक्रमण सरकारी भिजिलान्तेले गरेको आरोप लगाए ।
सत्ताधारी पक्षसँगको निर्णायक भनिएको पछिल्लो वार्ता पनि निकर्षविहीन भएपछि काठमाडौंमै बिहीबार बैठक बसेर मोर्चाको केन्द्रीय नेतृत्वले सीमानाका र राजमार्गमा आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको थियो । त्यही निर्णयअनुरुप नै मधेशका जिल्ला जिल्लामा संघर्षको मोर्चा सम्हालेका स्थानीय नेता तथा कार्यकर्ताले आन्दोलनलाई अझ सशक्त र आक्रामक बनाउँदै लगेका छन् । नाकाबन्दी सफल भए पनि आन्तरिक यातायात र आवतजावतमाथि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको निष्कर्ष निकाल्दै जिल्लास्थित मोर्चाका आन्दोलन समितिहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित गर्ने निर्णय गरेका छन् ।

मोटरसाइकलमाथि पनि रोक
आन्दोलनकारीहरुले शुक्रबारदेखि मोटरसाइकलसमेत चल्न दिएका छैनन् । मोटरसाइकलमा इन्धन कालोबजारी गरेर काठमाडौं र पहाडका जिल्लासम्म पु¥याएको भन्दै जिल्लास्थित मोर्चाका कार्यकर्ताहरुले शुक्रबार दजनौं मोटरसाइकलमा तोडफोड र आगजनी गरेका छन् ।
मोटरसाइकलमार्फत् पेट्रोलियम पदार्थको कालोबजारी जारी रहेको निष्कर्ष निकाल्दै मोर्चाका जिल्ला कमिटीहरुले मोटरसाइकलको आवतजावतमा समेत रोक लगाएको गृहनगर जनकपुरमा आन्दोलनको नेतृत्व गरिरहेका तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।
यसअघि मोर्चाले आन्दोलनरत कुनै पार्टीको झण्डा वा कालो झण्डा फहराएर मोटरसाइकललाई निर्बाध रुपमा चल्न दिएको थियो ।
मोटरसाइकलको ट्याङ्कीमा इन्धन भरेर ओसारपसार गरेको पाइए इन्धन नष्ट गरी मोटरसाइकल जलाउने निर्देशन कार्यकर्तालाई दिइएको उपाध्यक्ष लालले जानकारी दिए ।
सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका मोर्चाको घटक दलका नेताहरुको शुक्रबार जनकपुरमा बसेको बैठकले ती चारै जिल्लाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गमा रातको समयमा समेत यातायात पूरै अवरुद्ध गर्ने निर्णय गरेको छ । मोर्चाले तीन महिनादेखि आमहड्तालसहितको आन्दोलन जारी राखे पनि राजमार्गमा रातको समयमा प्रहरी स्कर्टिङमा मालबाहक गाडी र सवारीसाधन सुचारु हुँदै आएको छ ।
राति नाइट बसलगायतका सवारी साधन चलाउनु मधेश आन्दोलन विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले मंसिर ५ गतेदेखि नै राजमार्गमा रातको समयमा समेत गाडी चल्न नदिने तयारी गरेको छ ।
नेता लालले इन्धन कालोबजारीका लागि नभई व्यक्तिगत प्रयोजनका लागि मोटरसाइकल भने चल्न दिइने जानकारी दिए ।
‘चलु राजमार्ग, भरु राजमार्ग’
सप्तरी जिल्लास्थित मोर्चाको स्थानीय नेतृत्वले राजमार्ग चौबीसै घण्टा अवरुद्ध गर्न ‘चलु रामार्ग, भरु राजमार्ग’ अर्थात् ‘जाऔं राजमार्ग, भरौं राजमार्ग’ भन्ने अभियान नै चलाएको छ ।
अभियान सफल पार्न मोर्चाका जिल्ला नेता तथा कार्यकर्ताले दशैंलगत्तै गाउँगाउँ गएर जनतासँग अन्तर्क्रिया गरेका थिए ।
अन्तर्क्रियामा जिल्ला नेताहरुले एक परिवारबाट कम्तीमा एक सदस्य पूर्वपश्चिम राजमार्गमा पुगेर सवारी साधनको आवागमन अवरुद्ध पार्न जनसमुदायलाई आग्रह गरेका थिए ।
गृहजिल्ला सप्तरीमै क्रियाशील संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जिल्लाका अधिकांश गाउँ पुगेर राजमार्ग भरौं भन्ने अभियानमा सहभागी हुन आफूहरुले आमजनसमुदायलाई आग्रह गरेको बताए ।
‘एक परिवारबाट एक जना सदस्य, एउटा लाठी र एक किलो चामल लिएर राजमार्गमा उपस्थित हुन आग्रह गरेका छौं । अत्यधिक सहभागिताका साथ राजमार्ग भरौं अभियान सफल हुनेमा हामी विश्वस्त छौं,’ फोरम नेता साहले विश्वास व्यक्त गरे ।
साहले शनिबार ३ बजेदेखि राजमार्ग भर्ने कार्यक्रम रहेको र राति पनि राजमार्गमै जाग्राम बस्ने तयारी गरेको जानकारी दिए ।
सप्तरीस्थित राजमार्गमा पर्ने भारदह, रुपनी, बिसनपुर र कदमाहा चौकमा गरी चार स्थानमा राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम तय गरिएको साहले बताए ।
फोरमकै अर्का केन्द्रीय सदस्य अशोककुमार यादवले १०/१० हजार गरी चार स्थानमा कम्तीमा ४० हजार ग्रामीण जनसमुदाय सहभागी हुने विश्वास व्यक्त गरे । रातको समयमा स्कर्टिङमा स्थानीय प्रहरी प्रशासनले गाडी पास गराउने गरेकोले शुक्रबार रातिदेखि चारै स्थानमा आन्दोलनकारी जाग्राम बस्ने बताए ।
मोर्चाले स्थानीय थारु र मुस्लिमसम्बद्ध संघसंस्थासँग समन्वय गरी राजमार्ग अवरुद्ध गर्ने अभियानलाई तिब्रता दिएको छ ।
कम्तीमा तीन जिल्लाको मधेशी बहुल क्षेत्र चाहिन्छ
विवादित झापा, मोरङ र सुनसरीमा पनि मोर्चाको स्थानीय नेतृत्वले आन्दोलनलाई अझ सशक्त बनाएको छ । खासगरी मोरङको विराटनगर र रंगेली तथा सुनसरीको इनरुवा र दुहबी क्षेत्रमा आन्दोलनलाई आक्रामक बनाइएको विराटनगर आन्दोलनको मोर्चा सम्हालेका जयराम यादवले बताए ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले अखण्डवादीहरुले इटहरी क्षेत्रमा केही दिनदेखि आफूहरुको आन्दोलनविरुद्ध उपद्रो मच्चाउन थालेपछि पूर्वका तीन जिल्लामा मोर्चाले आन्दोलनलाई अलिकति आक्रामक बनाएको स्वीकार गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वका तीन जिल्ला टुक्र्याएर भए पनि संघीयतासम्बन्धी विवाद मिलाउनुपर्ने प्रस्ताव गरेपछि कांग्रेस र एमालेसम्बद्ध झापा, मोरङ र सुनसरीका कार्यकर्ताले केही दिनदेखि नागरिक समाजको नाममा अखण्ड आन्दोलन चर्काउन थालेका छन् ।
इसमतासँग कुरा गर्दै यादवले पर्सादेखि झापासम्मको पूर्वी मधेश स्थापना आफूहरुको प्रमुख माग रहेको उल्लेख गर्दै अखण्ड रुपमै झापा, मोरङ र सुनसरी नदिइए ती जिल्लाका मधेशी बहुल क्षेत्र प्रदेश नम्बर दुईमा जोड्नुपर्ने अडान दोहोर्‍याए ।
पूर्व सभासद् समेत रहेका यादवले स्थानीय प्रशासन र सुरक्षा निकायको धापमा पूर्वका अखण्डवादीहरु फेरि सल्बलाउन खाजेको आरोप समेत लगाए ।
तस्बिर : पूर्वपश्चिम लोकमार्गमा लाठीसहित उत्रिएका मधेसी जनता  / न्युजटुडे डटकम

कोई टिप्पणी नहीं: