शनिवार, 7 नवंबर 2015

उपराष्ट्रपतिका बुबाले भने, ‘मलाई भेट्न गाउँमै आउनू’!


काशीराम डाँगी, रोल्पा कार्तिक २१ - आफ्नो छोरो मुलुककै दोस्रो मर्यादा क्रमको पदमा पुगेपछि बुबालाई कस्तो लाग्ला ? छोरोलाई बधाई दिनु र कुनै उपहार बोकेर भेट्न चाँडै जानु स्वभाविक हुन सक्ला । तर उपराष्ट्रपति नन्दबहादुर पुनका बुबाले भने, ‘मलाई भेट्न चाँडै गाउँ आउनू ।’
उपराष्ट्रपति पुनका ८२ वर्षीय बुबा रामसुरले छोरा ‘त्यो पदमा बसेर के काम गर्न पाउँछ’ भन्नेबारे खुबै चासो राखेका छन् । पुन उपराष्ट्रपति भएको खबर उनले पाएपछि पहिले आफ्नो घरमा आउन आग्रह गरे । ‘तँ घरमा कहिले आउने हो ? घरमा आएर तेरो राजनीतिबारे मलाई बताउनुपर्छ ।’ एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुनले उनकै मोबाइलबाट सम्पर्क गराइदिएपछि मनसुरले भने, ‘नयाँ राज्य व्यवस्था ल्याउँछु भनेर घर छाडेको होस्, उपराष्ट्रपति भयो भन्ने सुनेको छु । कुरा के हो ? मलाई भेट्न घरमा जसरी पनि आउनू ।’

तत्कालीन माओवादीको पूर्णकालीन ‘छापामार’ बनेर वर्षौअघि घर छाडेर राजनीतिमा होमिएका नन्दबहादुरका बुबालाई अझै जिज्ञासा छ– के छोराले ठूलै पद पाएको हो ? छोरो उपराष्ट्रपति बनेपछि गाउँले घरैमा आएर रामसुरलाई बधाई दिइरहेका छन् । गाउँमा उनलाई सम्मान पनि गरियो । ‘उपराष्ट्रपति जन्माउने बुबालाई सम्मान गर्न आवश्यक ठानेर हामीले कार्यक्रम गरेका हौं ।’ एमाओवादी जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले भने, ‘विगतमा ‘जनयुद्ध’ का नायक पासाङलाई पार्टीले पनि सम्मान गरेको ठानेका छौं ।’
उपराष्ट्रपतिकी आमा मनसराको भने ०५३ मै मृत्यु भइसकेको छ । पाँच भाइमध्ये माइला नन्दबहादुरका एक भाइले तत्कालीन युद्ध अवधिमै ज्यान गुमाएका थिए । नयाँ संविधान बनेपछि पहिलो उपराष्ट्रपतिका रुपमा निर्वाचित पुनको गाउँमा खुसियाली छाएको छ । उनका बारे घर र गाउँमा खुबै चासो लिनेको संख्या पनि बढेको छ । ‘अब उपराष्ट्रपतिले के के काम गर्ने हुन् भन्ने चासो बढेको छ ।’ पुनको गाउँ पुगेका नेपाल मगर संघका पूर्व अध्यक्ष ऋषिराम रोकाले भने । गाउँलेले पासाङको विगत सम्झँदै उपराष्ट्रपति गाउँ आएपछि स्वागत गर्ने योजना बनाएका छन् ।
माओवादी राजनीतिमा छोरा होमिएपछि सामान्य किसान रामसुरले युद्धकालीन अवस्थामा परिवारलाई तत्कालीन राज्यपक्षबाट जोगाउन निकै कष्ट सहेका थिए । कतिबेला आफू र आफ्ना सन्तानलाई कसले के गर्ने हो भन्ने शंका भोग्दै युद्धमा लागेका छोरालाई सुरक्षित गराउँथे । ‘म अब वृद्ध भएँ, काठमाडौं आउन सक्दैन । जान्न । यतै बस्छु ।’ उपराष्ट्रपतिसँग फोनमा कुरा गर्दै रामसुरले भने । राजनीतिमा माथिल्लो पदमा पुगेका नन्दसँग तिहारमा घर आएका बेला उनले ‘घर व्यवहार’ को सल्लाह गर्ने सोच बनाएका छन् । ‘त पनि अब जान्ने बुझ्ने भइस्, घर व्यवहारबारे छलफल गर्न आइज्,’ उनले भने ।
नन्दका एक भाइ भीमप्रकाश गाउँकै उच्चमाविका प्राचार्य छन् । दाजु उपराष्ट्रपति भएपछि खुसी देखिएका भीमप्रकाश भन्छन्, ‘ढिलै भए पनि दाजु मुलुकको माथिल्लो पदमा पुगेकामा परिवारै गौरवान्वित भएका छौं ।’ नन्दका जेठा दाजु वीरबहादुर इन्जिनियर हुन् । साइलो भीमप्रकाश प्राचार्य, काइलो दीपक पूर्व शिक्षक हुन् भने कान्छोभाइ कमल जनयुद्धमा राज्यपक्षबाट मारिएका थिए ।
रामसुरले छोरा उपराष्ट्रपति भएकाले गाउँको विकास हुने विश्वास गरेका छन् । ‘अब गाउँमा पनि विकास हुन्छ कि बाबु ।’ राङ्सी पुगेका पत्रकारसँग रामसुरले भने, ‘मेरो छोरो नन्दले देशका लागि परिवर्तन गर्छु भनेर लागेको हो । अब सबै गरिब र सोझाले विकास पाउन् ।’ 

कोई टिप्पणी नहीं: