शनिवार, 31 अक्तूबर 2015

राज्यलक्ष्मीबारे कारवाही प्रक्रिया अगाडि बढाइएको छ : ज्ञवाली

गोल्छा प्रकरणबारे एमालेले मुख खोल्यो
१४ कात्तिक, काठमाडौं । सांसद राज्यलक्ष्मी गोल्छाले एमाले नेताहरुमाथि लगाएको आर्थिक आरोपबारे नेकपा एमालेले औपचारिकरुपमा प्रतिक्रिया दिएको छ । राज्यलक्ष्मीले लगाएका आरोपबारे मिडियामा आएका विषयहरु गम्भीरतापूर्वक अध्ययन गरिरहेको एमालेले जनाएको छ ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यलक्ष्मीले लगाएका आरोपहरुको खण्डन गरेका छन् । पार्टीले लिएको २५ हजारभन्दा माथिको चन्दाको स्रोत निर्वाचन आयोगमार्फत सार्वजनिक गरेर एमालेले उदाहरण प्रस्तुत गर्दै आएको ज्ञवालीले बताएका छन् ।
‘व्यवस्थापिका-संसदका सदस्य श्री राज्यलक्ष्मी गोल्छालाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका बिषयहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञवालीको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीले आर्थिक प्रश्नमा सधैभरि पारदर्शी र जवाफदेही प्रक्रिया अबलम्बन गर्दै आएको र पच्चीस हजार रूपैयाँभन्दा बढी चन्दा दिनेहरूको नामावली निर्वाचन आयोगमार्फत् सार्वजनिक गरेर आर्थिक पारदर्शिर्ताको अवलम्बन गर्नमा उदाहरण प्रस्तुत गर्दै आएकोे तथ्यसमेत स्मरण गराउन चाहन्छु ।’

राज्यलक्षमी गोल्छामाथि पार्टीले स्पष्टीकरण सोध्ने लगायतको कारवाही प्रक्रिया अघि बढाइएको ज्ञवालीले बताएका छन् । उनले वक्तव्यमा भनेका छन्- ‘संविधानसभाबाट संविधान पारित गर्ने जस्तो ऐतिहासिक अवसरमा समेत संविधानसभामा अनुपस्थित रहेको र प्रधानमन्त्री निर्वाचनको निणर्ायक क्षणमा पनि सहभागी नभई गम्भीर लापर्बाही गरेको देखिन आएकोले निजले पार्टीबाट प्रतिनिधित्व गर्ने सभासद्/सांसदले पालना गर्नुपर्ने दायित्व पूरा गरेको नपाइएको निष्कर्ष पार्टीले निकालेको छ । यस्तो निष्कर्षका साथ त्यस बिषयमा स्पष्टीकरण लगायतका कार्बाही प्रक्रिया अगाडि बढाइसकेको परिप्रेक्ष्यमा लगाइएका आरोपहरू पार्टी एवम् नेतृत्व पङ्क्तिलाई विवादित बनाउने हिसाबले आएको पार्टीको निष्कर्ष रहेको छ ।’
उद्योग व्यवसाय क्षेत्रको र विशेषतः व्यवसायी महिलाहरूको प्रतिनिधित्व हुन सकोस् तथा त्यस क्षेत्रका बिषयहरूले संविधानसभा र व्यवस्थापिका-संसदमा स्थान पाउन सकुन् भन्ने ध्येयका साथ पार्टीले गोल्छालाई संविधानसभामा समानुपातिक कोटाबाट निर्वाचित गरेको ज्ञवालीले स्पष्ट पारेका छन् ।
ज्ञवालीले जारी गरेको विज्ञप्ति
Bigyapti

कोई टिप्पणी नहीं: