शनिवार, 4 फ़रवरी 2017

पहिचानसहितको संघीयताका लागि संविधान संशोधन जरुरी : तामाङ !

रुद्र श्रीस लेखनाथ, माघ १९ - नेपाल तामाङ घेदुङ चार नम्बर प्रदेशका अध्यक्ष दीपक वाइबा तामाङले पहिचानसहितको संघीयताका लागि संविधान संशोधन अनिवार्य भएको बताउनुभएको छ।
बुधबार नेपाल तामाङ घेदुङ छारग्याम तामाङ एकाइ समिति, भण्डारढिक, नयाँबस्ती, लेखनाथको २८५३ औं सोनाम ल्होछारकाका अवसरमा आयोजित सामूहिक भोज, विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानमा बोल्दै तामाङले यस्तो बताउनुभएको हो । सोनाम ल्होछारको तामाङ जातिसँग सांस्कृतिक र धार्मिक रूपमा निकै महत्वपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तामाङले सुकुम्बासीका समस्या समाधानका लागि समेत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा लेखनाथ नगरपालिका वडा नं. १ का वडा नागरिक मञ्चका संयोजक मनदेवी गुरुङ, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष बलबहादुर गुरुङ, नयाँबस्ती तमु समाजका अध्यक्ष सीता गुरुङ, प्रेमप्रसाद बाँस्तोला, लोकबहादुर पुन, दिलबहादुर गुरुङलगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा बाँदर वर्गको बिदाइ गरी चरा वर्गको स्वागतमा पूजा आराधना समेत गरिएको थियो ।
नेपाल तामाङ घेदुङ छारग्याम एकाइ समिति, नयाँबस्ती, भण्डारढिकका अध्यक्ष सोमप्रसाद तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिन्ती तामाङले गर्नुभएको थियो ।

कोई टिप्पणी नहीं: