मंगलवार, 16 फ़रवरी 2016

प्रशिक्षकले चिन्न नसकेका प्रकाश र भारतविरुद्धको फ्री किक गोल

Sanjeev-Mishra४ फागुन, काठमाडौं । १२ औं सागमा नेपालका लागि तेस्रो स्वर्ण पुरुष फुटबलमा आयो । चीरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ बर्षपछि साग फुटबलको उपाधि उचाल्यो । नेपालले पाएको यो सफलताले फुटबलको नयाँ युग सुरु भएको मानिएको छ । नवयुग श्रेष्ठजस्ता फरवार्ड र प्रकाश बुढाथोकीजस्ता मिडफिल्डरको उदय भएको छ ।
सञ्जीव मिश्र
साग गेम्समा नेपाली पुरुष फुटबल टोलीको फुटबल बिश्लेषक सञ्जीव मिश्रले यसरी बिश्लेषण गरेका छन्-
१२ औं दक्षिण एशियाली खेलकुदमा फुटबल सबै समर्थकहरुका लागि प्रतिक्षित प्रतियोगिता थियो । एक महिनाअघि मात्र बंगबन्धु गोल्डकपमा यही टोलीले उपाधि जितेकाले सागमा पनि उपाधि जित्नेमा धेरै आशावादी थिए । र, नेपाली युवा टोलीले २३ बर्षपछि सागको उपाधि जितेर सुस्ताइरहेको नेपाली फुटबललाई पुनर्जागृत गराएको छ । लामो समयपछि नेपालले पहिलोपटक यस प्रतियोगितामा सकारात्मक फुटबल खेले । फिजिकल गेम भएपनि फुटबलमा अनुशासनको निक्कै महत्व हुन्छ । नेपाली फुटबलरले यसपटक अनुशासित फुटबल खेले र उपाधि जित्न सफल भए ।

पछिल्लो ८-९ बर्षमा नेपालले ‘पोजिसन वाइज’ फुटबल खेलेको थिएन । डिफेण्डर, मिडफिल्डर र फरवार्डले आ-आफ्नो पोजिसनमा खेलेर नै जित निस्कन सम्भब भएको हो । अर्को कुरा पछिल्लो समय नेपाली फुटबलको सबैभन्दा ठूलो समस्या भनेको मिडफिल्डमा थियो । तर, भारतबिरुद्धको फाइनलमा नेपाली मिडफिल्डरहरुले शतप्रतिशत एफोर्ट लगाएर फुटबल खेले ।
आधुनिक फुटबलमा मिडफिल्डको महत्व धेरै हुन्छ । बंगबन्धुपछि नेपाली फुटबलमा मिडफिल्डमा सुधार आएको छ । मिडफिल्डमा देखिएको सुधारका कारण नै नेपालले पछि परेको स्थितिलाई उल्टाएर सेमिफाइनल र फाइनलमा नतिजा आफ्नो पक्षमा पारेको हो । मिडफिल्डकै कारण प्रतिस्पर्धीको क्षेत्रमा हामीले निरन्तर आक्रमण बुन्न सक्यौं ।
भारतबिरुद्धको हिजोको फाइनलमा घरेलु मैदानको फाइदा उठाउँदै भारतले खेलको सुरुमा डोमिनेट गरेको थियो । सुरुवाती बीस मिनेटमा भारत पूरै हावी देखिएको थियो । नेपाली खेलाडीहरु मैदानमै छैनन् की जस्तो देखिएको थियो । त्यसबीचमा उसले गोलका १-२ अबसर सिर्जना गरेपनि नेपाली रक्षापंक्तिले त्यसलाई विफल पारेको थियो ।
बीस मिनेटपछि नेपालले क्रमशः खेलमा सुधार ल्याउन थाल्यो । केहि आक्रमणहरु बुन्न थाल्यो भने खेलाडीमा जुझारुपन बढेको देखियो । तर, दुर्भाग्य ३१ मिनेटमा भारतले पेनाल्टी पायो, पेनाल्टीमा हालिचरण नाजारीले भारतलाई अग्रता दिलाए । आदित्यको सानो गल्तीले भारतले पेनाल्टी पाएको थियो ।
त्यसपछि नेपाली टोलीमा सकारात्मक उर्जा प्रवाह भएको जस्तो देखियो । नेपालको खेल विस्तारै सुधार हुँदै गयो । ४१ औं मिनेटमा प्रशिक्षक राजुकाजी शाक्यले विंगर मानबहादुर तामाङको स्थानमा प्रकाश बुढाथोकीलाई मैदानमा पठाउने महत्वपूर्ण र सही निर्णय गरे ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपाल, भारतबिरुद्ध कमजोर देखिएको थियो । भारतीय खेलाडीहरुले ‘रफ’ फुटबल खेल्दा पनि रेफ्रीले भारतकै पक्षमा निर्णय दिएका थिए । जब कि सामान्यतः अवे टोलीलाई रेफ्रीले केहि ‘एट्भान्टेज’ दिने गर्छन् ।
तर, दोस्रो हाफमा भारत बढी आत्मविश्वासी देखियो । उसले नेपाललाई कमजोर आँक्न थाल्यो र आफ्नै क्षेत्रमा मात्रै फुटबल खेल्न थाल्यो । भारत बढी आत्मबिश्वासी देखिएका बेला नेपालका अग्रपंक्तिले भने पाएको अवसरमा आक्रमण गर्न थाले । दोस्रो हाफमा नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, विशाल राई, विमल घर्तीमगर लगायतको अग्रपंक्तिका खेलाडीको प्रदर्शन निक्कै सुधारिएको थियो ।
६५औं मिनेटमा अञ्जनलाई भारतीय डिफेण्डरले फल गरेपनि नेपालले १८ यार्ड ठीक बाहिर फ्री किकको अवसर पायो । ६६औं मिनेटमा प्रकाश बुढाथोकीले उत्कृष्ट फ्री किक प्रहार गर्दै नेपालका लागि बराबरी गोल गरे ।
प्रशिक्षकले चिन्न नसकेका प्रकाश
Prakash-Budhathoki
प्रशिक्षक राजु शाक्यसँग प्रकाश
भारतबिरुद्धको खेलमा निक्कै दबावको अवस्थामा प्रकाशले विश्वस्तरीय फ्री किक प्रहार गर्दै गोल गरे । १८ यार्डको ठीक बाहिरबाट प्रकाशले दोस्रो बार च्याप्दै गरेको गोल भारतीय गोलकिपरले पत्तै पाएनन् । युरोप र दक्षिण अमेरिकाको लिग फुटबलमा पनि बिरलै देख्न पाइन्छ त्यस्तो गोल ।
०६६/६७ को राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबबाट फुटबल खेल्न थालेका सुनसरीका प्रकाश फ्री सेलेक्सनबाट राष्ट्रिय टोलीमा समावेश भएका हुन् । त्यसपछि थ्रीस्टारबाट खेल्दै आएका उनी मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडी हुन् । मिडफिल्डमा दायाँ र बायाँ दुबै पोजिसनमा खेल्न सक्ने खुबी छ उनमा ।
नेपाली टोलीका स्वदेशी तथा बिदेशी प्रशिक्षकले चिन्न नसकेका खेलाडी हुन् प्रकाश । सन् २०१३ को काठमाडौंमै भएको साफ च्याम्पियनसीपमा राष्ट्रिय टोलबाट डेब्यू गरेका उनले २०१४ को एशियाली खेलकुदमा चाइनिज ताइपेईबिरुद्धको खेलमा गोल गरेका थिए । प्रशिक्षक र अफिसीयलको नजरमा नपरेकै कारण उनले राष्ट्रिय टोलीमा आफ्नो कला प्रदर्शन गर्न पाएका छैनन् । हिजोको गोलबाट उनले आफूलाई सबैसामू प्रमाणित गरेका छन् ।
नेपालले बराबरी गोल गरेपछिको एक मिनेटपछि नै बिमल र बिशालको प्रहार बारमा लागेर फर्किएको थियो । जसले भारतलाई अझै दबाबमा राख्ने काम गर्‍यो ।
७१औं मिनेटमा नेपालले खेलमा अग्रता लियो । नवयुग श्रेष्ठले अर्को विश्वस्तरीय गोल गरे । त्यो गोल पनि प्रकाशकै सहयोगमा सम्भव भएको थियो । मैदानको बायाँ क्षेत्रबाट प्रकाशले मिलाएको उत्कृष्ट क्रसमा नवयुगले उत्कृष्ट ‘एफोर्ट’ लगाउँदै ‘वान टच’ मा गोल गरेका थिए ।
नेपालले अविश्वसनीय अग्रता लिएपछि भारतीय टोली अत्तालिन थाल्यो । त्यसयता भारतले एयर बल बढी खेलेको थियो । तर, नेपाली गोलकिपर विकेश कुथुले भारतीय खेलाडीका २/३ प्रहारलाई बिफल पारेपछि नेपालको जित निश्चित देखियो ।
विकेशमा किरणलाई रिप्लेस गर्ने क्षमता छ
Bikesh-Kuthu
विकेश कुथु
सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेललाई छाडेर नेपालका दोस्रा राजाईका गोलकिपर विकेश कुथुको प्रदर्शन यस प्रतियोगितामा निक्कै उत्कृष्ट रह्यो ।
लिग चरणमा भुटान र बंगलादेशबिरुद्धको प्रदर्शनबाटै नेपाली राष्ट्रिय टोलीमा उनको स्थान सुरक्षित हुनसक्ने देखिएको थियो । त्यसमा पनि भारतबिरुद्धको खेलमा उनको प्रदर्शन प्रेरणादायी रह्यो ।
सुरुदेखि अन्त्यसम्म उनले भारतीय स्ट्राइकरलाई खुलेर पोष्टमा आक्रमण गर्न दिएनन् । भारतले ३१ औं मिनेटमा पेनाल्टीमा गरेको गोलमा पनि उनले सही दिशा पत्ता लगाएका थिए । सेमिफाइनलमा माल्दिभ्सबिरुद्ध भने उनकै कमजोरीले नेपालले दोस्रो र तेस्रो गोल खाएको थियो ।
बंगबन्धु र साग गेम्सको प्रदर्शनपछि राष्ट्रिय टोलीको नियमित गोलकिपरको रुपमा रहेका किरण लिम्बुको स्थान लिनसक्ने क्षमता विकाशमा देखिएको छ । पछिल्लो चार बर्षदेखि किरणले राष्ट्रिय टोलीको गोलपोष्ट धान्दै आएका छन् ।
२०६६/६७ सालमा सरस्वती क्लवबाट राष्ट्रिय लिगमा डेब्यू गरेका कुथुले त्यसपछि मध्यपूर युथ एशोसियसनमा रहँदा नेपालका अहिलेसम्मकै उत्कृष्ट गोलकिपर उपेन्द्रमान सिंहको प्रशिक्षणमा फुटबल खेल्ने मौका पाए । त्यसपछि खारिएको उनको प्रदर्शन नेपाल आर्मी क्लवमा आवद्ध भएपछि अझै तिखारियो ।
सन् २०१२ को नेहरुकपमा क्यामरुनबिरुद्धको खेलमा सब्सिच्युड खेलाडीको रुपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०१४ को एशियाली खेलकुदमा उनलाई नेपाली युवा टोलीको गोलपोष्ट सम्हाल्ने अवसर पाएनन् । उनी प्रशिक्षक र अफिसीयलको नजरमा नपरेका खेलाडी हुन् ।
समग्रमा साग
सन् १९९९ मा काठमाडौंमै भएको आठौं दक्षिण एशियाली खेलकुदमा नेपाल फुटबलतर्फ फाइनलमा पुगेको हो । सागमा १७ बर्षपछि नेपाल फाइनलमा पुग्यो भने २३ बर्षपछि उपाधि जित्यो । संयोग पनि सन् १९९३ को ढाका सागमा स्वर्ण जित्दाका कप्तान राजुकाजी शाक्य अहिले नेपालका प्रशिक्षक छन् । तर, त्यसपटकको सागमा राष्ट्रिय टोली समावेश हुन्थ्यो भने सन् २००६ देखि २३ बर्षमुनिका टोलीले सहभागिता जनाउन थालेको हो ।
यस सागमा नेपालको प्रदर्शन समग्रमा उत्कृष्ट रह्यो । अनेकन विवादमा फसेर आलोचित बनेको नेपाली फुटबललाई सागको स्वर्णले ठूलो राहत दिएको छ । नेपाली टोलीमा जित्ने क्षमता बढेको छ । जुनसुकै बेला खेलमा फर्कनसक्ने र जित्नसक्ने टोलीको रुपमा उदाएको छ ।
तर, यो उमेर समूहको टोली हो । यद्यपि राष्ट्रिय टोलीका धेरै खेलाडीहरु यही टोलीमा छन् । तर, यस्तै प्रदर्शन गर्न सक्ने क्षमतावान खेलाडीहरु पनि छन्, जसलाई राष्ट्रिय टोलीमा समावेश गराइनुपर्छ । विश्वास श्रेष्ठ, कर्ण लिम्वु, योगेश गुरुङ, जंवु शेर्पा लगायतका खेलाडीहरु क्षमतावान छन् । 

कोई टिप्पणी नहीं: