शनिवार, 9 जनवरी 2016

उद्योगबाटै ठूलालाई भनेजति ग्यास

पुस २५ - सरकारले डिपोबाट मात्रै ग्यास वितरण गर्ने नियम लागू गरे पनि उद्योगबाटै ठूला व्यवसायीलाई वितरण गरेको पाइएको छ । नाकाबन्दीले ग्यासको चरम अभाव भएपछि वाणिज्य मन्त्रालय, आयल निगम, उद्योगी र ग्यास बिक्रेता सहितको बैठकले डिपोबाट मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको थियो । उपभोक्तालाई सहज रूपमा ग्यास वितरण गर्न डिपोबाट मात्रै बिक्री गर्ने निर्णय गरेको थियो ।
 तर, सरकारी निर्णय विपरीत उद्योगीले धमाधम ग्यास वितरण गरेको फेला परेको हो ।
पहुँचवाला र उद्योगबाटै ठूलो व्यावसायिक घरानामा ग्यास वितरण भएकाले उपभोक्ताले भने सास्ती भोग्नुपरेको छ । आयात र वितरणसम्बन्धी जानकारी गराउन गठित ‘ग्यास कन्ट्रोल रुम’ को तथ्यांकअनुसार पुस २२ गतेसम्म ३ सय ८१ बुलेट भित्रिएको छ । ती बुलेटमा १४ दशमलव २ किलोअनुसार ४ लाख ७६ हजार २ सय ५० सिलिन्डर (एक बुलेटमा १२ सय ५० सिलिन्डर) ग्यास आयात भएको देखिन्छ ।  नाकाबन्दीयता अभाव चुलिएपछि सिलिन्डरमा परिमाण आधा घटाएर ७ किलो मात्रै ग्यास सिलिन्डर बिक्री भइरहेको छ ।

यसअनुसार ९ लाख ५२ हजार ५ सय सिलिन्डर सिलिन्डर आयात भएको देखिन्छ । यति ग्यास भित्रिँदा पनि सर्वसाधारणको सास्ती घटेको छैन । कन्ट्रोल रुमकै तथ्यांकअनुसार सुगम ग्यासले पुस १९ गते नक्सालमा रहेको भाटभटेनी सुपर मार्केटलाई ७०, क्षेत्रपार्टी पार्टी प्यालेसलाई २०, दिव्य पस्मिना उद्योगलाई २०, जी क्याफे २० सिलिन्डर दिइएको छ ।
लिटिल एन्जल्स स्कुललाई ७०, सापकोटा मिठाई भण्डार, ३० बार्वची रिभिजिटेड रेस्टुरेन्ट २० होटल अन्नपूणलाई ३० सिलिन्डर ग्यास दिइएको छ ।
यस्तै पुस २१ गते लिटिल एन्जल्स स्कुल, जी क्याफे, सापकोट मिठाई पसल, बार्वची रिभिजिटेड र अन्नपूर्ण होटललाई पुन: सोही परिमाणमा ग्यास वितरण गरिएको छ । शंकर होटललाई पनि ३० सिलिन्डर दिइएको छ ।
होटल रेस्टुरेन्टलाई अत्यावश्यक क्षेत्रमा गणना गरिए पनि ठूलो मात्रामा वितरण गरिँदा कालोबजारी भएको गुनासो बढ्दो छ । उद्योगबाट सिधै व्यवसायीलाई वितरण गर्दा अन्य सार्वसाधरणलाई अन्याय र नियम विपरीत भएको बिक्रेताहरू बताउँछन् ।
‘एउटै होटललाई ५ सय २८ सिलिन्डर वितरण भएको जनकारी पाएका छौं । पहुँचको भरमा मिठाई, खाद्यान्नमा पनि वितरण भएको छ,’ ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य राजेश दाहालले भने, ‘यो सर्वसाधरण प्रति अन्याय हो ।’
उनका अनुसार केही पसलले खाद्यान्न किने मात्रै ग्यास दिने गरेका छन । ग्यास दिने बहानामा कुहिएको चामलसमेत बिक्री गर्दै आएको उनीहरूको भनाइ छ । ‘कुनै खाद्यान्न पसलले ग्यासको दिने नाउमा चामल बिक्री गर्ने खेल सुरु गरेका छन्,’ दाहालले भने, ‘चामल बेच्नकै लागि ग्यास राखेका छन् ।’ महासंघका अनुसार उपत्यकामा करिब ५ हजार ग्यास बिक्रेता छन् । तर, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले प्रमाणीकरण गरेका डिपो संख्या भने ८ सय मात्रै छ ।
सरकारले पनि सोही प्रमाणीकरण भएको डिपोबाट उपभोक्तालाई ग्यास वितरण गर्ने जनाएको थियो । तर, व्यवसायीको दादागिरीका कारण वितरण व्यवस्थित हुन नसकेको विभागको दाबी छ ।
‘हामीले प्रमाणीकरण गरिएकाबाट मात्रै वितरण गर्ने भनेका छौं,’ विभागका अनुगमन शाखा निर्देशक तथा कन्ट्रोल रुमका संयोजक हरिनारायण बेल्बासेले भने, ‘तर उद्योगीलाई नियन्त्रण गर्न सकेका छैनौं ।’
कन्ट्रोल रुमका अनुसार सरगमाथा ग्यास उद्योगले अर्याल भाँडा पसललाई ३०, रबिन स्टिल स्ट्रोललाई २५, हिमाली तुलसी हर्बललाई २० सिलिन्डर ग्यास दिएको छ ।
नेपाल ग्यास प्रालिले सिजी मार्टलाई ३५, साल्ट ट्रेडिङले सुस्मिता इलेक्ट्रिक्सलाई ७०, ओम्स इनभेटमेन्ट प्रालिलाई ७०, श्रीराम ग्यास उद्योगले न्यु मिनी मार्ट ७० सिलिन्डर ग्यास दिइएको छ । यस्तै बाबा ग्यास उद्योगले लक्षमण स्टेसनरीलाई ७०, श्रीराम ग्यासले निकान्त कोल्ड स्टोरलाई ७०, नेपाल डेरीलाई १५, खरीबोट मिनी स्टोरलाई १० सिलिन्डर दिएको छ । यस्तै सगरमाथा ग्यास उद्योगले लक्ष्मी भाँडा पसललाई ३०, नन्दन स्विट्स एन्ड रेस्टुरेन्टलाई ४०, एसियन किचेनलाई ४५ र युनिक हार्य वयरलाई १ सय सिलिन्डर दिइएको छ ।
संकटको मौका छोपी केही उद्योगले नयाँ सिलिन्डर बेच्न चलखेल गरेको बिक्रेताको भनाइ छ । उनीहरूका अनुसार खाद्यान्न, इलेक्ट्रिक पसललाई सिलिन्डर दिएर नयाँ बेच्ने चलखेल सुरु भएको छ । यही विषयमा अवाज उठाउँदा उद्योगीले अप्ठेरोमा पारेको उनीहरूको भनाइ छ ।‘ग्यास उद्योगमा सिन्डिकेट चलेको छ । अवाज उठाउँदा भनेको समयमा ग्यास नदिएर दुख दिन्छन्,’ एक बिक्रेताले भने, ‘उद्योगीले चेन ब्रेक गरेर सिधै होटललाई दिएको छ ।’ 

कोई टिप्पणी नहीं: