गुरुवार, 10 दिसंबर 2015

लोकसेवाले माग्यो ५ सय ५१ जना शाखा अधिकृत

खुलातर्फ ३१० जना, महिला ७९, आदिवासी जनजातिका लागि ६४,

मधेसी ५५, दलित २२, अपाङ्ग १५ र पिछडिएको क्षेत्रतर्फ ६ जनाको माग

काठमाडौ, मंसिर २४ । लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का कर्मचारीको लागि विज्ञापन गरेको छ । बुधबार सूचना प्रकाशित गरी लोकसेवाले विभिन्न समूहका ५ सय ५१ जना अधिकृत माग गरेको हो ।
विभिन्न सेवा तथा समूहमा माग गरिएका कर्मचारीमध्ये खुलातर्फ ३१० जना, महिला ७९, आदिवासी जनजातिका लागि ६४, मधेसी ५५, दलित २२, अपाङ्ग १५ र पिछडिएको क्षेत्रतर्फ ६ जना रहेका छन् ।
बुधबार आयोगले निकालेको विज्ञापनअनुसार पछिल्लो समय अधिकृत तहमा माग गरिएको यो सबभन्दा धेरै संख्या हो । व्यवस्थापिका संसद, न्याय, प्रशासन, परराष्ट्र र लेखापरीक्षणका लागि ती कर्मचारीको माग गरिएको हो । व्यवस्थापिका संसद सेवामा खुला तीन जना, महिला १ र आदिवासी जनजाति १ गरी पाँच जना माग गरिएको छ । न्यायसेवाअन्तर्गत न्याय समूहमा ६६ जना, कानुनतर्फ २३, सरकारी वकिल ५० जना माग गरेको छ । त्यस्तै परराष्ट्रमा खुला ९, महिला २, आदिवासी जनजाति २, मधेसी २ र अपाङ्ग १ जना गरी १६ जना मागिएको छ । सामान्य प्रशासनमा खुला १ सय ५४, महिला ४२, आदिवासी ३४, मधेसी २७, दलित १२, अपाङ्ग ६ र पिछडिएको क्षेत्रबाट पाँच जना गरी २ सय ८० जना माग गरिएको छ ।


प्रशासन सेवाको लेखा समूहमा खुला ४१, महिला ११, आदिवासी ०९, मधेसी ७, दलित ३, अपाङ्ग २ र पिछडिएको क्षेत्रबाट १ जना मागिएको छ । प्रसासन सेवाको राजस्व समूहमा खुला १०, महिला २, आदिवासी २, मधेसी २, दलित १ र अपाङ्ग गरी १७ जना माग गरिएको छ । लेखापरीक्षण सेवामा खुला ७, महिला २, आदिवासी १, मधेसी ३, दलित १ र अपाङ्ग १ जना माग गरिएको छ ।
अनलाइनमार्फत आह्वान गरिएको दरखास्त पुस १४ गतेसम्म भर्न सकिने र दोब्बर शुल्क तिरेर भने पुस २१ गतेसम्म भर्न सकिने छ । परीक्षाको हकमा व्यवस्थापिका संसदतर्फ पहिलो चरणको चैत्र १६ र दोश्रो चरणको चैत्र १६ गते परीक्षा हुने छ । सबै सेवा समूहको प्रशासनिक अभिरुचि परीक्षण माघ २३ गते हुने लोकसेवाले जनाएको छ । प्रथम चरणमा उत्तिर्ण भएकाहरुका लागि चैत्र १८ देखि २२ गतेसम्म दोश्रो चरणको परीक्षा हुने लोकसेवाले जनाएको छ । विज्ञापन आयोगको वेबसाइट तथा गोरखापत्र दैनिकको वेबसाइटमा पनि हेर्न सकिन्छ ।

कोई टिप्पणी नहीं: