गुरुवार, 10 दिसंबर 2015

विभेद र असमानतासहितको संविधान कसरी विश्वकै उत्कृष्ट हुन्छ ?

“नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियान”को एक महिने अभियान शुरु भयो

काठमाडौं  मंसिर २४। आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट संविधान भन्दै सरकारी स्तरबाट थालिएको प्रचारबाजी झूठको खेती भनी आरोप लगाएका छन् ।
newa-pradesh-1रत्नपार्कस्थित शान्तिवाटिकामा ‘नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियान’को घोषणा कार्यक्रममा बोल्दै तुलाधरले आरोप लगाएका हुन् । अभियन्ता तुलाधरले नेपाली समाजका सबै खाले विभेद र असमानता यथावत राखिएको नयाँ संविधान कसरी विश्वकै उत्कृष्ट संविधान हुनसक्छ भनी प्रश्न उठाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलाधरले भने, ‘नयाँ संविधानमा खस नेपाली भाषाको मात्रै एकाधिकार छ । यसमा अन्य नेपाली भाषाको हैसियत, प्रयोग र अधिकार कति हुन्छ, किटान गरिएको छैन । यसरी भाषाका आधारमा विभेद यथावत छ । धर्मको नाममा पनि विभेद यथावत छ, संस्कृतिमा पनि विभेद यथावत छ । धर्मनिरपेक्षतालाई सनातन धर्मसँग गाँसेर विभेदलाई कायम राखिएको छ भने अन्य धर्म र संस्कृतिका हक अधिकारलाई असमान व्यवहार गरिएको छ । अनि कसरी विभेद र असमानतासहितको संविधान विश्वकै उत्कृष्ट संविधान हुनसक्छ ?’


‘हामीले न्याय र समानताका लागि पटक पटक आन्दोलन र क्रान्ति गर्यौं, तर हामीलाई संविधानको नाममा भाषा, जातजाति, धर्म, संस्कृतिका मानवअधिकारलाई बेवास्ता गरिएको संविधान दिइयो । के अब फेरि पनि राज्य र सरकारले हामीलाई आन्दोलन र क्रान्तिका लागि चुनौती दिएको हो ? दिएको हो भने हामी त्यसका लागि तयार छौं’, तुलाधरले भने ।
बुधबार १२ बजेदेखि २ बजेसम्म शान्तिवाटिकामा भएको प्रदर्शनमा तुलाधरलगायत डा. महेशमान श्रेष्ठ, डा. कृष्ण भट्टचन, नरेश ताम्राकार, जितपाल किराती, नरेशवीर शाक्य, नन्द कन्दङवा, डा. विजय सैंजु र शंकर लिम्बूलगायत आदिवासी जनजाति अभियन्ताहरुको उपस्थिति थियो । कार्यक्रममा नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानका संयोजक अर्जुन महर्जनले अभियानको पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका थिए ।
घोषित कार्यक्रमअनुसार मंसिर २५ गते फोनिजको कार्यालयमा संचारमाध्यमसँग जागरण अभियानका सम्बन्धमा अन्तर्क्रिया, मंसिर २८ गते नागरिक अभियन्ता र राजनीतिक दलका नेताहरुसँग अन्तर्क्रिया, पुस १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन, पुस ३ गते नेपालस्थित संयुक्त राष्ट्र संघ र राष्ट्रिय मानवअधिकार आयोगसामु मधेसमा सरकारले जारी राखेको दमनविरुद्ध धर्ना गरिने भएको छ ।
त्यस्तै, पुस ५ गते मूलधारका मिडियाबाट मधेसी र थारु समुदाय र आन्दोलनकारीहरुविरुद्ध भएको भ्रामक समाचारको सम्प्रेषणविरुद्ध प्रेस काउन्सिलमा मानवसाड्लोसहित प्रदर्शन, पुस ९ गते वैदेशिक नियोग, दूतावास व दातृनिकायलाई देशको वास्तविकता जानकारी गराउने, पुस ११ गते काठमाडौं उपत्यकाभित्र गाउँ र टोलमा विभिन्न गतिविधिसँगै कोणसभा रर पुस २७ गते पहिलो चरणको अभियान समापन गरिने भएको छ ।
यसैबीच नेवा: जागर मञ्चले बांगेमुढाबाट वर्तमान राजनीतिमा नेवारहरुको सरोकार र्‍याली निकालेकाे छ । आदिवासी जनजाति र मधेसीहरुका जायज माग पूरा गर पेट्रोलियम पदार्थको आपूर्ति सहज गर र बजारमा अनियमितता गर्नेहरुलाई कारबाही गर भन्ने नाराका साथ र्‍याली गरिएको छ । र्‍यालीको अगुवाइ जनजाति अगुवाहरु मल्ल के. सुन्दर, डा. मंगलसिद्धि मानन्धर, राजेन्द्र श्रेष्ठ,  सुजीव बज्राचार्य र मनराजा शाक्यहरुले गरेका थिए ।
newa-jagaran-mancha
तस्बिर : टहल थामी, नृपेन्द्रलाल श्रेष्ठ र नेवा: अनलाइन न्यूज

कोई टिप्पणी नहीं: