राष्ट्रवादीहरुलाई विखण्डनकारी र अराष्ट्रिय तत्वको खुलापत्र
आदरणीय तीन ठूला दलका नेताज्यूहरु, सरकारमा पदासीन सबै राष्ट्रवादी नेताज्यूहरु, राष्ट्रवादी नागरिक अगुवा, बुद्धिजीवी, समाजसेवी, विज्ञ, राष्ट्रसेवक कर्मचारीलगायत सबै राष्ट्रवादी नागरिकज्यूहरु, थारु नागरिकको हार्दिक अभिवादन, नमस्कार, रामराम, सेवालागि, सेवारो, झोर्ले, वालेकुम सलाम ! स्वीकार्नुस् ।धेरै दिनपश्चात यहाँहरुलाई खुलापत्र लेख्ने वातावरण र अवसर मिल्यो । यसका लागि खुला दिलले धन्यवाद दिन चाहन्छु साथै आभार प्रकट पनि गर्न चाहन्छु । राष्ट्रवादी—विखण्डनकारीको खेलतमाशा शुरु नगरेको भए यो अवसर पनि प्राप्त हुने थिएन, अवसर प्राप्त भएकोले आफूलाई भाग्यमानी पनि ठानेको छु ।
धेरै समयदेखि हामी थरुहट मधेसका नागरिक यहाँहरुसँगै रह्यौं, बस्यौं, खायौं, पियौं, सुत्यौं, उठ्यौं, काम गर्यौं । ठूल्ठूला ऐतिहासिक आन्दोलन हाँक्यौं । २००७ सालको क्रान्ति होस् या २०३६ सालको जनमत संग्रह होस्, २०४६ सालको जनआन्दोलन होस् या दसवर्षे जनयुद्ध होस्, या ०६२/६३ सालको जनआन्दोलन होस्, हामी निरन्तर सहभागी भयौं, जीवन बलिदान गर्यौं । हामीले चोखो मनले हरेक कार्य गर्यौं । पूर्ण विश्वास गर्यौं । पाहुना सम्झी आफ्नै घरमा बास दियौं, असल मित्र सम्झी घरखेत सुम्प्यौं । हामीसँग भएका कुनै पनि चिज दिन कुनै कञ्जुस्याइँ गरेनौं । तर पनि हामी यहाँहरुको दिलदिमागमा स्थान पाउन सकेनौं । विश्वास जित्न सकेनौं । १८२५ सालदेखि हामी शासनसत्ताबाहिर बस्यौं, डाडुपन्यु यहाँहरुको हातमा रह्यो, जे दिनुभयो, त्यही खायौं । फेरि पनि विश्वास जित्न सकेनौं । यहाँहरु राष्ट्रवादी नै हुनुभयो, हामी विखण्डनकारी नै भयौं । राष्ट्रवादी हुनलाई हाम्रो योग्यता पुगेन ।
राष्ट्रवादीको योग्यता के हो ? हामी तराईबासीहरु त्यत्रो योगदान गर्दा पनि राष्ट्रवादीको अधिकारी किन भएनौं ?
कांग्रेस र कम्युनिस्ट पार्टी खोलेर यहाँहरुले नै अधिकारको कुरा सिकाउनुभयो, संगठित हुन सिकाउनुभयो । लड्न सिकाउनुभयो । अधिकारका लागि लड्दा हामी विखण्डनकारी भयौं ? पञ्चायती व्यवस्थाको अन्त्यपश्चात बहुदलीय व्यवस्था आएपछि हामी : आदिवासी जनजाति, मधेसी, मुश्लिम, पिछडा वर्गलाई आशा र भरोशा थियो कि हामी सबै अधिकारसम्पन्न हुनेछौं । हामीले माग राख्यौं, यहाँहरु सबैले राजतन्त्रलाई दोष दिनुभयो । राजतन्त्र दोषी छ भने ठिकै छ भनी सहमत भयौं । यहाँहरुले भनेअनुसार हामी फेरि जनयुद्धमा सहभागी भयौं, राजतन्त्रविरुद्ध लड्यौं । युद्धमा हामी हाम्रा धेरै छोराछोरी, दाजुभाइ, बुहारी गुमायौं । धेरै विधुर, बिधवा भयौं । धेरै अपाङ्ग भयौं । मारिने र बेपत्ता हुनेको तथ्यांक हेरे पुग्छ, हाम्रो योगदान कति छ भनेर । त्यसले पनि पुगेन, ०६२।६३ सालको जनआन्दोलनमा सहभागी भयौं, बलिदानी दियौं । आज अधिकार माग्ने बेलामा तराईका आदिवासी थारु, जनजाति मधेसी, मुश्लिम, दलित फेरि विखण्डनकारी भयौं ।
आखिर राष्ट्रवादीको योग्यता के हो ? हामी तराईबासीहरु त्यत्रो योगदान गर्दा पनि राष्ट्रवादीको अधिकारी किन भएनौं ? विखण्डनकारीको योग्यता के हो ? थरुहट मधेसमा बस्नेहरु, आन्दोलनको अगुवाइ गर्नेहरु, आन्दोलनमा सहभागी हुनेहरु कसरी विखण्डनकारी भए ? सदीयौंदेखि पिल्सिएका, राज्यबाट पाखा पारिएका विशेषगरी तराईका थारु, जनजाति, मधेसी, मुश्लिम, दलित कसरी विखण्डनकारी भए ? कसरी देशका लागि घातक भए ? थरुहट मधेसमा २ प्रदेश हुँदा, पहाडमा नमिसाई प्रदेश बनाउँदा कसरी देश विखण्डन हुन्छ ? राष्ट्रको हितविपरीत हुन्छ ? या यी समुदाय, जाति योभन्दा पहिले विखण्डनका लागि आवाज उठाए कि विखण्डनका लागि हतियार उठाए ? प्रमाण के छ ? सदीयौंदेखि राज्यका सारा सेवा सुविधा एकलौटी रुपमा हकभोग गर्नेहरु, विशेष गरी पहाडका ब्राम्हण, क्षेत्री पुरुषहरुमात्रै कसरी राष्ट्रवादी भए ? जवाफ चाहिएको छ । यदि जवाफ छैन भने नैतिकताको आधारमा भए पनि सार्वजनिक रुपमा गल्ती स्वीकार गर्दा, माफी माग्दा राम्रो होला कि ! विशेष गरेर देशका ३ ठूला दलहरुले, सरकारमा रहेका दलहरुले जसले तराईका थारु, मधेसी, जनजाति, मुश्लिम, दलितलाई बारम्बार विखण्डनकारी देख्छन् र भन्छन् ।
थरुहट मधेसमा बस्नेहरु, आन्दोलनको अगुवाइ गर्नेहरु, आन्दोलनमा सहभागी हुनेहरु कसरी विखण्डनकारी भए ? थरुहट मधेसमा २ प्रदेश हुँदा, पहाडमा नमिसाई प्रदेश बनाउँदा कसरी देश विखण्डन हुन्छ ?
यसो गर्न सकिएन भने कथित राष्ट्रवादी र विखण्डनकारीहरुको बीचमा आपसी मेलमिलाप र विश्वास सम्भव छ ? घर नोक्सान हुँदा, क्षति पुग्दा, मर्मत गर्न सजिलो हुन्छ । शरीरमा चोटपटक लाग्दा उपचार गर्न सजिलो हुन्छ, तर मनमा लागेको घाउलाई कसरी पुर्ने ? त्यो सोच्नु भएको छ कहिल्यै ? विखण्डनकारी भन्दै विखण्डनको दिशातिर जबर्जस्ती धकेल्ने, किनारासम्मै पुर्याउने अधिकार छ तपाईंहरुलाई ?यसो भन्दा यहाँहरुले भन्न सक्नुहोला, हामीले विखण्डनकारी कहाँ भन्यौं, कहिले भन्यौं ? तर दुनियाँलाई थाहा छ, तपाईंंहरु बारम्बार रेडियो, टि.भी., पत्रपत्रिका, इलेक्ट्रोनिक मिडियामार्फत भन्दै आइरहनुभएको छ । मधेसीहरुले एक मधेस, एक प्रदेशको आवाज उठाउँदा होस् या थारुहरुले थरुहट थारुवानको आवाज उठाउँदा होस्, राज्य पुनर्संरचना आयोगले तराईमा २ प्रदेशको खाका तयार पार्दा होस् वा तराईका आदिवासी जनजाति, थारु, मधेसी, मुश्लिम, दलित सबैले एक स्वरमा थरुहट मधेसमा २ प्रदेशको माग गर्दा होस्, यहाँहरुले बारम्बार भनिरहनुभएको छ– “तराईमा २ प्रदेश दिँदा, देश रहँदैन, विखण्डन हुन्छ, सिक्किम बन्छ, राष्ट्रको हितविपरीत हुन्छ, सुरक्षाको दृष्टिले खतरा हुन्छ ।” यो भनेको के हो ? ‘तराईलाई पहाडमा नमिसाउँदा देश विखण्डन हुन्छ, तराईमा २ प्रदेश माग्नेहरु विखण्डनकारी हुन्, राष्ट्रका हितविपरीत कार्य गर्नेहरु हुन्, राष्ट्रको सुरक्षाको हिसाबले खतरनाक ब्यक्तिहरु हुन्’ भन्न खोजेको हैन र ? के थरुहट, मधेसमा बस्नेहरुलाई विखण्डनकारीको आरोप लगाएर राष्ट्रवादी बन्न सकिन्छ ? आपसमा विश्वास बढ्छ ? मेलमिलाप र एकता हुन्छ ? राष्ट्र बलियो हुन्छ ? कहिल्यै सोच्नुभएको छ तपाईंहरुले ?
अहिले आफूलाई लोकतन्त्र/प्रजातन्त्रको मसिहा ठान्ने देशको पहिलो ठूलो दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । २ ठूला दल नेकपा एमाले, एनेकपा माओवादी तपाईंहरु सरकारमा हुनुहुन्छ । राप्रपा नेपाल र फोरम लोकतान्त्रिकलाई अलग्याएर हेर्ने हो भने अनेक वाम एक ठाम हुनुहुन्छ । थरुहट मधेसका जनतालाई विखण्डनकारी देख्नेहरुमा तपाईं वामहरु नै तुलनात्मक रुपमा बढी हुनुहुन्छ । तीन ठूला दलमा एमाले झन् बढी राष्ट्रवादी, त्यसपछि कांग्रेस अनि माओवादी भएको छ । तपाईंहरुको बोली, बचन, व्यवहारले अहिले पहाड राष्ट्रवादी, त्यसमा पनि ब्राम्हण, क्षेत्री अतिराष्ट्रवादी र तराईका थारुलगायतका आदिवासी जनजाति, मधेसी, मुश्लिम, दलित विखण्डनकारी देखिएका छन् । राष्ट्रवादी र विखण्डनकारीहरुको बीचमा तपाईंहरुले बढाउनुभएको यो दूरीलाई कम गर्ने जिम्मा पनि तपाईंंहरुकै होइन र ? विखण्डनकारीहरुको दिलदिमागमा लागेको भित्री घाउलाई पुर्न सकिएन भने आन्तरिक राष्ट्रवाद बलियो हुन्छ कि हुँदैन, त्यो तपाईंहरुलाई नै बढी थाहा छ । मैले त खोतलिदिएको मात्रै हो ।
राष्ट्रवादी र विखण्डनकारीहरुको बीचमा तपाईंहरुले बढाउनुभएको यो दूरीलाई कम गर्ने जिम्मा पनि तपाईंहरुकै होइन र ? विखण्डनकारीहरुको दिलदिमागमा लागेको भित्री घाउलाई पुर्न सकिएन भने आन्तरिक राष्ट्रवाद बलियो हुन्छ कि हुँदैन ?
महामहिमहरुलाई म स्मरण गराउन चाहन्छु, यो वा त्यो नाममा सदीयौंदेखि शासन गर्ने तपाईंहरु नै हुनुहुन्छ । देशमा उत्पीडनमा परेका जातजातिहरुलाई मिलाएर लैजाने जिम्मा शासक जातिहरुकै हुन्छ भन्ने कुरा पनि थाहै छ । उत्पीडनमा परेका जातिहरुले उत्पीडनबाट मुक्तिको माग गर्नु अधिकार हो, त्यो न्यायसंगत हुन्छ भने सदा शासनसत्तामा बसिरहेका शासक जातिहरुले शासनसत्तामा पहिलेकै जस्तै अधिकार पाउँ, बढी खाईपाई आएको अधिकारलाई कायम गरी पाउँ भनी माग गर्नु अधिकार होइन, त्यो दमन हो । त्यस्तो कार्यलाई न्यायसंगत मानिँदैन । नेपालको तराईमा बसोबास गर्नेहरुले युगौंदेखि पहाडबाट ठगिएको, हेपिएको महसुस गर्छन्, त्यसमा पनि पहाडका ब्राम्हण क्षेत्री सम्भ्रान्तबाट । सीमांकन पनि घुमाइफिराई ६ वटा प्रदेश ब्राम्हण क्षेत्रीकै बाहुल्यता पारेर बनाउनु भएको छ । व्यवस्थापिका संसद र राष्ट्रिय सभामा पनि तराईको प्रतिनिधित्वलाई नाकाबन्दी गर्नुभएको छ । प्रस्तावनामा राख्नुभएको छ, तर धारामा समानुपातिक समावेशीलाई स्वीकार गर्नुभएको छैन । यो तरिकाले सबैको चित्त बुझाउन सक्नुहुन्छ ?
अन्तिममा अनुरोध गर्न चाहन्छु, तराईबासीलाई विखण्डनकारीको आरोप लगाउने कार्य तपाईंंहरुले बन्द गर्नुपर्छ, आपसी मेलमिलाप र विश्वास यसरी सम्भव हुँदैन । साथै जातिवादको विरोध गर्ने तपाईं कम्युनिस्टहरुले देशमा ब्राम्हण क्षेत्रीको सामुदायिक शासनलाई संस्थागत गर्नुहुन्छ वा सबै जातजातिको शासन व्यवस्थालाई संस्थागत गर्नुहुन्छ ? राज्यलाई यथार्थमै पुनर्संरचना गर्नुहुन्छ वा यथास्थितिमै पुरानै विकास क्षेत्रलाई पुनर्संरचना गर्यौं भनी ढाँट्नुहुन्छ ? यो जिम्मा तपाईंहरुको हो । त्यतिमात्रै हैन, देशलाई निकास दिने, विकास दिने, डोर्याउने, डुबाउने सबै जिम्मेवारी तपाईंहरु वाम सरकार र प्रतिपक्षी कांग्रेसको हातमा छ । देशलाई सिङ्गापुर बनाउनुहुन्छ वा हाइटी बनाउनुहुन्छ, सोच्नुस्, गम्भीर हुनुस् र निकास दिनुस् । देश प्रतीक्षामा छ ।
विखण्डनकारीहरुको तर्फबाट
देशको भलो चाहने
उही थारु नागरिक
देशको भलो चाहने
उही थारु नागरिक
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें