मंगलवार, 29 दिसंबर 2015

मधेस आन्दोलनसँगै बढ्यो अपराध

गौतम श्रेष्ठ १४ पुस, रौतहट । मंगलवार बिहान काठमाडौंबाट गौर आउँदै गरेका भारत बिहार मेजरगञ्जका २२ वर्षीय पंकज कुमार गौर नगरपालिका १० मा लुटिए । सबगढहा दाल मिल नजिकै उनी चढेको मोटरसाइकल रोक्न लगाएर अज्ञात व्यक्तिहरुले चक्कु प्रहार गरी घाइतेसमेत बनाए । ‘गौरसम्म गाडी नचलेकाले भाडा तिरेर मोटरसाइकलमा आउँदै थिएँ । दुई-तीन जनाको समूहमा रहेका व्यक्तिहरुले चक्कु प्रहार गरे,’ घाइते भएर गौर अस्पतालमा उपचार गराउँदै गर्दा पंकजले अनलाइनखबरसँग भने, ‘काठमाडौंमा कमाएको १५ हजार रुपैयाँ थियो, त्यो खोसेर उनीहरु भागे ।’
pankaj-kumar,-Injuredलुटेराको चक्कु प्रहारबाट घाइते पंकज कुमार
चक्कु प्रहारबाट मोटरसाइकल चालक मंकरकुमार गिरी पनि घाइते भएका छन् । लुटेराहरुले पैसा माग्दा नदिएको भन्दै दुवै जनालाई पिठ्यूँ, हात र शरीरका अन्य भागमा चक्कु रोपेका थिए । यसैगरी रौतहटकै हजमिनीया चोकमा पनि यात्रु लुटिए । दुई साता अघि बालचनपुरमा मोटरसाइकलमा जाँदै गरेका यात्रुको साथबाट ४२ हजार रुपैयाँ लुटिएको थियो भने बमनहर क्षेत्रमा पनि लुटपाट भएको थियो । बमनहरमा भएको लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ गरे पनि अन्य घटनाका दोषी अझै फरार छन् । २४ मंसिरमा मौलापुरबाट दिपही जाँदै गरेको एक भारतीय नम्बरको गाडीलाई बकैया पुलमा बन्दुक देखाएर लुटपाटको प्रयास भएको थियो । सो बेला कर्कच कर्मैया ८ का २० वर्षीय रामानन्द मुखिया कटुवा पेस्तोलसहित पक्राउ परेका थिए । प्रहरीसँग रहेका यी घटना विवरण र तथ्यांकहरुले केही महिनायता रौतहटमा लुटपाट लगायतका अपराधिक गतिविधि बढेको देखिन्छ । मधेस आन्दोलनको मौका छोप्दै आपराधिक गतिविधि बढेको प्रहरीको निष्कर्ष छ । जनसम्पर्कसमेत प्रभावित विगत चार महिनादेखि रौतहट लगायत तराई मधेसका जिल्लाहरुमा मधेस केन्द्रित दलहरुको आन्दोलन जारी छ ।
आन्दोलनकारीको भिड नियन्त्रण र सुरक्षा व्यवस्था मिलाउन प्रहरी टोली बढी व्यस्त छ । आन्दोलन नियन्त्रणमा केन्द्रित हुनुपर्दा अपराधका घटना बढेको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजेन्द्र पोखरेलले भने, ‘दैनिकरुपमा हुने आन्दोलनका कारण नर्मल पुलिसिङ्ग गर्न पाइएको छैन । जनसम्पर्क समेत प्रभावित बन्दा अपराध बढेको हो ।’ सबै क्षेत्रमा सक्रिय भएर काम गर्नुपर्ने जिम्मेवारीसहितको प्रहरी आन्दोलनमा मात्रै केन्द्रित बन्दा अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण तथा ग्रामिण गस्ती फितलो बनेको छ । मोर्चाको आन्दोलनले गर्दा जनतासँग प्रहरीको सम्पर्क पनि पातलिएको छ भने सूचनाका श्रोतहरु पनि साँघुरिएका छन् । असहज परिस्थितिका बीच पनि अपराधका घटनाहरु रोक्न प्रहरीले काम गरिरहेको र गस्ती पेट्रोलिङका लागि पनि प्रहरीहरु खटाइएकाले केही दिन मै अपराध नियन्त्रण हुने विश्वास डिएसपी पोखरेलले व्यक्त गरे ।
  अपराध रोक्न मधेसी मोर्चाले सघाउने
अराजक गतिविधि नियन्त्रण गर्न मधेसी मोर्चाले सघाउने आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता अजय गुप्ताले बताए । ‘हाम्रो आन्दोलनलाई कुनै पनि अपराधि वा तस्करले कमाउने मौकाको रुपमा प्रयोग गर्न दिँदैनौं,’ गुप्ताले भने, ‘लुटपाट र तस्करी गर्नेहरु जो सुकैलाई कानून बमोजिम कारवाही गर्नुपर्छ । त्यसका लागि मधेसी मोर्चाले पनि सघाउँछ ।’
मधेसीको आन्दोलन समग्र मधेसको हक हितका लागि भएकाले अपराधी तथा तस्करहरुलाई आफूहरुले कहिले पनि साथ नदिने नेता गुप्ताको तर्क छ । मधेसी मोर्चाका केही नेता-कार्यकर्ताहरुले तस्करीका सामानहरु नियन्त्रणमा लिएर नष्ट गरे पनि त्यसमा कमी आएको छैन । मधेस आन्दोलनको मौका छोप्दै भारतसँग सीमा जोडिएका रौतहटको गौर, लक्ष्मीपुर, महादेवपट्टी, बंकुल, औरैयालगायतका नाकाहरुबाट तस्करहरुले व्यापकरुपमा कपडा, मेशिनरी तथा ईलेक्ट्रोनिक पार्ट, सिमेन्ट, ईन्धन सहितका बस्तुहरु तस्करी गरिरहेका छन् । सुरक्षा निकायको ध्यान मधेस आन्दोलनमा रहेकाबेला रौतहटको धन्सर, गैंडाटार, हिलेखोला, पौराइ, कनकपुर रंगपुर, बृन्दावन, चेतनगर, जंगलसैया बनक्षेत्रमा केही महिना यता व्यापक काठ तस्करी हुँदै आएको छ । 

कोई टिप्पणी नहीं: