रविवार, 6 दिसंबर 2015

दूधमा परनिर्भरताको दृश्य : घरभरि कपडा, वीरे नाङ्गै !

नविन अर्याल २० मंसिर, काठमाडौं । कृषि प्रधान देश नेपालमा चामल र खाने तेलसमेत भारतबाटै आउँछ । काम गर्ने किसानहरु गाईभैंसी पाल्न छाडेर विदेशतिर लाग्ने क्रम बढेपछि यतिबेला दूध र दूधजन्य पदार्थमा समेत विदेशकै भर पर्न थालिएको छ ।
नेपालमा दूध उत्पादन नै नभएर विदेशको भर पर्नु परेको चाँहि होइन । तर, ‘घरभरि कपडा, वीरे नाङ्गै’ भन्ने आहानजस्तै उत्पादन भएको दूधको समेत किसानहरुले बजार पाएका छैनन् । अर्कातिर दूधपाउडर बनाउने नेपाली उद्योगहरु बन्द गरिएको छ । र, भारत लगायत विभिन्न देशबाट पाउडर दूधको आयात गरिँदैछ ।
पाँच वर्षयताको तथ्यांकलाई हेर्दा ०६७/०६८ मा नेपालमा ९० करोड ७० लाख रुपैयाँको हाराहारीमा दूध तथा दुग्ध पदार्थको आयात हुन्थ्यो । ०७१/०७२ सम्म आइपुग्दा यो क्रम बढेर नेपालले २ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको दुग्ध पदार्थ आयात गर्न थालिसकेको छ ।
हेर्नुहोस् तलको चार्ट-
Milk import in 5 years
अहिले नेपालमा पाउडर दूध, पनिर, क्रिम, बटर, दही, घ्यू लगायतका उत्पादन विभिन्न देशबाट आयात गरिँदै आएको छ । छिमेकी मुलुक भारतदेखि युरो, अमेरिकाबाट समेत दुग्धजन्य पदार्थ आयात गरिन्छ । नेपालमा युरोप, अमेरिका लगायतका मुलुकबाट समेत दुग्धजन्य पदार्थ आयात हुन्छ । डेनमार्क, फ्रान्स, जर्मनी, हङकङ, भारत, साउदी अरेबिया, कोरिया, थाइल्यान्ड, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, चाइना, जापान, कुवेतबाट दुग्धजन्य पदार्थ आयात हुन्छ ।
यसैगरी लिथुनिया, मलेसिया, नेदरल्यान्ड, कतार, सिंगापुर, स्वीट्जरल्यान्ड, युएई, अमेरिका, युगान्डा, स्वीडेन, ताइवान, बहराईन, बुल्गेरिया, इटाली, स्पेन, पोल्यान्ड, रसिया, टर्की, पाकिस्ता, इजिप्ट, इटाली, अष्ट्रिया, ब्राजिल, ग्रिस, क्यानाडा, किर्गीस्तान, नाइजेर, ओमान, फिलिपिन्स, पोल्यान्डबाट पनि दुग्धजन्य पदार्थ आउँछ ।
नेपालमा ठूलो परिमाणमा आयात हुने दूग्ध पदार्थमा पाउडर दूध मुख्य रहेको नेपाल डेरी उद्योग संघका बरिष्ठ उपाध्यक्ष राधाकृष्ण सापकोटा बताउँछन् । सापकोटाका अनुसार अहिले मुलुकमा ४७ लाख लिटर दूध उत्पादन हुने गरेको छ । जसमध्ये डेरी उद्योगमा आउने करिव १७ प्रतिशत अर्थात् ७ लाख लिटर हो । करिव ३५ प्रतिशत अर्थात् १६ लाख लिटर दूध किसानले आफै बिक्री गर्छन् । बाँकी ५० प्रतिशत २३/२४ लाख लिटर दूध आफैं उपभोग गरिन्छ ।
कहिले दूध पाइन्न, कहिले बजारै पाइन्न
दूग्ध तथा दूग्धजन्य वस्तुहरुमा आत्मनिर्भर हुन नसक्नुमा अस्पष्ट सरकारी नीति नै पहिलो कारण रहेको डेरी एशोसियसनका उपाध्यक्ष सापकोटा बताउँछन् । दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय उपाध्यक्ष अम्मर कुँवर पनि सरकार दुरदर्शी नभएकै कारण दूग्धजन्य पदार्थमा आत्मनिर्भर नभएको तर्क गर्छन् ।
‘नेपालमा दूधको उत्पादन कम भएर हामी विदेशीको भर पर्नु परेको होइन’ डेरी एशोसियसनका सापकोटाले भने- ‘उत्पादित दूधको सही सदुपयोग गर्न नसक्दा हामी परनिर्भर हुनुपरेको हो ।’
नेपालमा अहिले दूधबाट दही, पनिर, चिज, खुवा, घिउ, क्रिम, बटर, आइक्रिम, मिठाई, छुर्पीलगायतका वस्तुहरु उत्पादन हुँदै आइरहेको छ । नेपालमा उत्पादित वस्तुले माग धान्न नसकेपछि विदेशबाट आयात गरिँदै आएको छ । कतिपय दूग्धजन्य वस्तुहरु नेपालमा उत्पादन हुँदैनन् । दूध बढी उत्पादन हुँदा पाउडर बनाउने र दूध कम उत्पादन हुने समयमा उद्योगहरुलाई बेच्ने गरेमा धेरै हदसम्म आत्मनिर्भर हुन सकिने सापकोटा बताउँछन् । अहिले उद्योगीहरुले ड्राई सिजनमा भारत लगायतका देशबाट पाउडर दूध आयात गर्दै आएका छन् ।
किसानहरु सिजनमा दूध बिक्री नहुने डरमा हुन्छन् । सरकारले उत्पादित दूध सबै खपत हुने व्यवस्था गरेमा किसानहरु थप आकषिर्त हुने डेरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष सापकोटाको भनाइ छ ।
हामीले बेबी फुड, सेर्लेक्स लगायतका दुग्धजन्य वस्तुहरु उत्पादनमा जोड दिनुपर्ने उपाध्यक्ष कुँवरको भनाई छ । ‘दूध बढी हुँदा बाटोमा खन्याउने होइन, दूग्धजन्य वस्तुहरु उत्पादनमा जोड दिनुपर्छ’ उनले भने । दुग्धजन्य वस्तुहरुको मार्केट बढेमा यस्ता उद्योगहरु समेत लगानी बढ्ने निश्चित छ ।
नेपालमा दूध उत्पादनका दुईवटा सिजन छन् । शरद याममा प्रशस्त दूध उत्पादन हुन्छ भने सुख्खा याममा उत्पादन घट्छ । यतिबेला किसानको दूध बिक्री नभएर ‘मिल्क होली डे’ लगाउने तयारीमा सरकार तथा निजी उद्योगी रहेका छन् । तर, सुख्खा मौसममा दूध उत्पादन घट्ने हुँदा डीडीसी र निजी उद्योगीले पाउडर दूधको प्रयोग गर्ने गरेका छन्, जसले गर्दा विदेशी पाउडर दूधको आयात बढ्ने गरेको छ ।
मुलुक दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्न नसक्ने होइन । दूधको उत्पादन बढेर पटक-पटक ‘मिल्क होली डे’ घोषणा गरिएको छ । किसानले दूध बिक्री नभएर धेरैपटक बाटोमा पोखेर विरोध समेत गरिसकेका छन् । तर, सरकारको अदुरदर्शिताको कारण मुलुक दुग्धजन्य पदार्थमा विदेशीको भर पर्नुपरेको किसान बताउँछन् । केही वर्ष अघिसम्म भारतबाट कच्चा दूधसमेत आयात हुने गरेकोमा पछिल्लो समय कम भएको छ ।
विदेशबाट ल्याउने गरिएको पाउडर दूधसमेत नेपालमै उत्पादन गर्न नसकिने पनि होइन । दैनिक अढाइ लाख लिटर दूधको पाउडर बनाउने उद्योग नेपालमा सञ्चालमा समेत छन् । डीडीसीको बिराटनगरमा भएको उद्योगले दैनिक ४० हजार लिटर दूधलाई पाउडर बनाउन सक्छ । पोखरामा रहेको सुजल फुड्सले ६० हजार र नारायणगढमा रहेको चितवन मिल्कमा डेढ लाख लिटर दूधबाट पाउडर बनाउने क्षमता छ ।
अहिले चितवन मिल्क उद्योग बन्द छ भने बाँकी दुई उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यी तीन उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए पाउडर दूधमा आत्मनिर्भर भई निर्यात समेत गर्न सकिने दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कुँवर बताउँछन् ।
‘दूध धेरै उत्पादन हुँदा सरकारले मिल्क होली डे घोषणा गर्ने होइन, बरु त्यो दूधलाई पाउडर बनाउन प्रोत्साहन गर्नुपर्छ’ कुँवरले भने- ‘उद्योगका के समस्या छन्, सरकाले सम्बोधन गरेर भएपनि उद्योग चलाउनुपर्छ ।’ व्यवसायीका अनुसार सिजनमा ४० देखि ५० हजार लिटर दूध बढी हुने गर्छ ।
पशु सेवा विभागले तीन वर्षभित्र दूधमा पूर्णरुपमा आत्मनिर्भर हुने तथ्यांक सार्वजनिक गरेको छ । अबको तीन वर्षमा दूधको उत्पादन १० देखि १५ प्रतिशत बढ्ने सरकारको अनुमान छ । पछिल्लो समय विदेशबाट फर्किएर गाई भैंसी पाल्नेहरु बढेपछि सरकारले यस्तो अनुमान लगाएको हो ।
तर, उत्पादित दूधलाई प्रसोधन गर्ने व्यवस्था नहुँदासम्म दूग्धजन्य पदार्थमा आत्मनिर्भर हुन सकिने अवस्था छैन । पहिला पाउडर दूधमा आत्मनिर्भर हुन सकिएमा विस्तारै अन्य उत्पादनमा पनि आत्मनिर्भर हुन सकिने सापकोटा बताउँछन् ।
किसान के चाहन्छन् ?
पछिल्लो समय किसानहरु गाई भैंसी पालनमा आकषिर्त भइरहेका छन् । तर, किसानहरु आफुले उत्पादन गरेको दूध बिक्री नहुने हो कि भन्ने चिन्तामा हुन्छन् । सरकारले किसानको दूध किनिदिने ग्यारेन्टी गरिदिनुपर्ने कुँवर बताउँछन् । छिमेकी मुलुक भारतमा सरकारले किसानलाई ठूलो अनुदान उपलब्ध गराउँछ । भारतमा उत्पादन लागत कम हुँदा नेपालमा भन्दा त्यहाँ लिटरमा ५ रुपैयाँ ९६ पैसा सस्तो पर्ने डेरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष सापकोटाले बताए ।
भारतमा उत्पादन लागत कम रहेका कारण नेपालमा उत्पादित पाउडरभन्दा भारतमा उत्पादित पाउडर सस्तो पर्न जान्छ । नेपाललाई आत्मनिर्भर बनाउनका लागि सबैभन्दा पहिला किसानलाई सरकारले अनुदान दिनुपर्ने सापकोटाको माग छ । किसानलाई घाँस खेती गर्न, पानीको व्यवस्था गर्न, दाना, औषधि र घाँसको बिउमा सरकारले अनुदान दिनुपर्ने कुँवर बताउँछन् । ‘उत्पादित दूधको जिम्मा पनि सरकाले लिनुपर्‍यो, अनिमात्रै दूध उत्पादनमा किसानहरु हौसिन्छन्’ उनले भने ।
‘केही समय अगाडि किसानलाई दूधमा ६ रुपैयाँभन्दा बढी नाफा दिएपछि किसानहरु निकै उत्साहित भएका थिए’ कुँवरले भने- ‘तनहुँमा एक वर्ष अगाडि ३५/४० वटामात्र फार्म थिए, नाफा बढी हुने भएपछि अहिले सय कटिसकेका छन् ।’ पछिल्लो समय दानामा आधारित दूध उत्पादनमा केन्द्रित हुन थालेपछि उत्पादन लागत बढेको विज्ञ बताउँछन् । गाई भैंसीलाई बजारबाट किनेको दाना खुवाएर दूध उत्पादनमा लागिएको छ । घाँसमा आधारित दूध उत्पादनमा जोड दिए लागत कम हुने व्यवसायीको अनुभव छ ।

कोई टिप्पणी नहीं: