३ पुस, काठमाडौं । संविधान संशोधन विधेयकलाई अघि बढाउन सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल चलाएकी छन् । संविधानसभा भवनमा सत्तारुढ र प्रमुख विपक्षी नेपाली कांग्रेस सहितका दलका शीर्ष नेताहरुसँग सभामुखले विधेयक अघि बढाउनेबारे छलफल गरेकी हुन् ।
सभामुखका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार संविधान संशोधनको सैद्धान्तिक छलफल भने विहीबारदेखि मात्रै सुरु हुनेछ । ‘संविधान संशोधनको प्रक्रिया आजैबाट सुरु हुने भए पनि सैद्धान्तिक छलफल भने विहीबारबाट मात्रै हुनेछ । त्यसबीचमा सहमतिको लागि दलहरुबीच पहल हुनेछ,’ शर्माले भने । आजको संसद बैठक केहीबेर बसेर स्थगित गर्ने र सहमतिको प्रयास गर्ने दलहरुबीच सहमति भएको छ । मधेसी मोर्चाको असहमतिका बीच संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि थप छलफल र परिमार्जनसहित पारित गर्नुपर्ने धारणा कांग्रेसले राखेको छ ।
सत्तारुढ एमालेले भने फास्ट ट्र्याकबाट संविधान संशोधन बिधेयक पारित गर्न खोजेको कांग्रेसको आरोप छ । यद्यपी एमालेले भने संविधान संशोधन बिधेयक कांग्रेसको दबावमा ल्याउनुपरेको भन्दै समस्या समाधानको लागि यो विधेयक चाँडो पारित गर्न उपयुक्त हुने बताएको छ ।
भारतले समेत नेपालको संविधानमा संशोधन गर्ने विधेयक संसदमा पेश भएपछि मधेस आन्दोलनको माग एक हदसम्म पूरा भएको भन्दै यसप्रति चासो राखेको बेला विधेयक अघि बढाउनेबारे छलफल थालिएको हो ।
मधेसी मोर्चाले भने प्रदेशहरुको सिमांकन हेरफेर बिना संविधान संशोधनमा आफ्नो सहमति नहुने बताएको छ।
सभामुखसँगको छलफलमा कांगे्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार लगायत सहभागी थिए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें