शुक्रवार, 11 दिसंबर 2015

विदेश धाउने र विदेशीले चासो दिने दुवै कुरा गलत : खनाल

विदेश धाउने र विदेशीले चासो दिने दुवै कुरा गलत : खनालअब चाँडै निकास निस्कन्छ
काठमाडौँ, २५ मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशभित्रको समस्या समाधानका लागि विदेश धाउने र विदेशीले चासो दिने दुवै कुरा गलत भएको बताएका छन् । सहिद रामकुमार राई स्मृति प्रतिष्ठानले हिजो यहाँ गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले विदेश धाउने प्रवृत्ति र विदेशीको चासो बढी भएकै कारण मुलुकले दुःख पाइरहेको धारणा राखे ।
नयाँ दिल्ली भ्रमण सकेर स्वदेश फर्किएका मधेसी मोर्चाका नेतासँग फेरि वार्ता सुरु भएकाले अब चाँडै निकास निस्कने उनले विश्वास व्यक्त गरे । “उहाँहरु दिल्लीमा छलफल गरेर फर्किनुभएको छ, हामी पनि अन्तरदिलदेखि नै छलफल गरेर समस्याको समाधान खोज्ने प्रयत्न गरिरहेका छौँ”– खनालले भने ।

राईको सम्मानमा केही काम गरिने
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले वार्ताबाट नै समस्याको समाधान गर्नुपर्छ भन्ने पक्षमा सरकार दृढ रहेको उल्लेख गरे । उनले नेपालको जस्तो जटिल संविधानसभाबाट अहिलेको जस्तो संविधान बन्नु संसारकै लागि उदाहरणीय भएको जिकिर गरे । सहिद रामप्रसाद राईको सम्मानमा सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता पनि सरकारका प्रवक्ताले व्यक्त गरे । सो अवसरमा प्रतिष्ठानका सदस्यसमेत रहेका मन्त्री राई मन्त्रीमा नियुक्त भएकामा प्रतिष्ठानका तर्फबाट बधाई प्रदान गरिएको थियो ।

कोई टिप्पणी नहीं: