मंगलवार, 4 अगस्त 2015

चक्काजाम गर्नेमाथि प्रहरी लाठी (फोटोहरु)

काठमाडौ, श्रावण १९ - संविधानसभामा प्रतिनिधित्व गर्ने १० पार्टीका दलित भ्रातृ संगठनले अब बन्ने संविधान दलित मैत्री हुनुपर्ने माग गर्दै राजधानीको विजुलीबजारमा चक्काजाम गरेका छन् । उनीहरुले १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरेका थिए ।
जाम खुलाउन प्रहरीले बल प्रयोग  गर्दा केही आन्दोलनकारी घाइते भएका छन् । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका छन् ।
घाइते अधिकांशको टाउकामा चोट लागेको र हातखुट्टा भाँचिएको छ । अहिले मीनभवनस्थित सिभिल अस्पतालमा उनीहरुको उपचार भइरहेको छ । नेकपा (एमाले)का नेता एवम् सभासद् जितु गौतमले दोस्रो जनआन्दोलनपछि स्थापित भएका दलितका अधिकार नयाँ संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएकाले त्यसलाई सच्याउन दबाब सिर्जना गर्न शान्तिपूर्ण विरोध प्रदर्शन गरिएकोमा प्रहरी ज्यादती भएकाले त्यसको छानबिन गर्न माग गरेका छन् ।

तस्बिरहरु: कौशल अधिकारी







































कोई टिप्पणी नहीं: