शुक्रवार, 3 जुलाई 2015

कलाकारले सम्झे आफ्नै गाउँ

सिन्धुपाल्चोक, असार १८ - खुट्टामा फित्ते चप्पल । हाफ प्यान्टमाथि थोत्रो सर्ट । बिहानै एक डोको घाँस गोठमा फ्यालेर मात्रै उनी यसरी स्कुल जाने तयारी गर्थे । घन्टी लाग्दै गर्दा उनी एक घन्टा लामो पैदल यात्रा हुँदै स्कुल आइपुग्थे ।
अभिनेता जितु नेपालले आफ्नो स्कुले अनुभव सुनाइरहँदा सुन्नेहरू खासै गम्भीर भएनन् । बरु रमाइलो मान्दै हाँसिरहे । कुरो यथार्थ नै थियो, तर हास्य कलाकारका वास्तविक अनुभव पनि हँसाउनकै लागि ठाने मंगलबार सिन्धुपाल्चोकको कोठे गाउँका बासिन्दाले ।
sindhuकोठेकै जालपा उच्च माध्यमिक विद्यालयमा जितुले पूर्वविद्यार्थीका रूपमा अतीत सम्झेका थिए । ज्यामिरे घर भएका उनी कुनै समय स्कुल आउने जाने गरेको उकालीओराली उस्तै रहे पनि अक्षर सिकेका कक्षाकोठा भने सबै भताभुंग थिए । भूकम्पले भवन भत्किए पनि उनको मानसपटलमा विद्यालयको स्मरण हटेन । त्यसैको याद गर्दै आफूलाई अक्षर चिनाएको स्कुलमा केही सहयोग गर्न पुगेका थिए उनी । उनलाई केदार घिमिरे (माग्ने बूढा), दीपकराज गिरी र टेलिभिजन कलाकर्मी मञ्चकी अध्यक्ष दीपाश्री निरौलाले पनि साथ दिएका थिए ।
केदारको पहलमा भुटनिज कम्युनिटी अफ सिन्सिन्याटी अमेरिकाबाट पाँच थान कम्प्युटर र एक प्रिन्ट मेसिन जितुले सहयोगार्थ पाएका थिए । ती सहयोग जितुले प्रधानाध्यापक नीलप्रसाद सुवेदीलाई हस्तान्तरण गरे ।‘आफू जन्मेको र पढेको ठाउँ बिर्सन नसकिँदो रहेछ,’ जितुले भने, ‘म कलाकार कसरी भएँ थाहा छैन, तर अक्षरचाहिँ यहींबाटै चिनेको हुँ ।

कम्प्युटरहरू पाएपछि पाँच दशक पुरानो उक्त विद्यालयका शिक्षक र विद्यार्थी प्रफुल्लित देखिन्थे । प्रधानाध्यापक सुवेदी असुरक्षित भनिएको विद्यालय प्रशासनमै कम्प्युटर थन्काउन बाध्य भए । उनले पूर्वविद्यार्थी जितुको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । भूकम्पले भएको कम्प्युटर सबै पुरिएपछि विद्यार्थीले चलाउन पाएका थिएनन् । अब भने कम्प्युटर सिक्न सघाउ पुग्ने बालबालिकाले सुनाए ।
दीपा, दीपक र केदारले भूकम्प पीडित विद्यार्थी, शिक्षक र अभिभावकलाई हँसाउने प्रयास गरे । उनीहरूले सकारात्मक विचार रमाइलो शैलीमा सुनाउँदै विपत्मा नआत्तिन र फेरि पुनर्निर्माणमा जुट्न आग्रह गरे । लोकदोहोरी गायक रामजी खाँडले पनि ‘थाहा पाए छन्...’, ‘सबै देख्छु तरुनी...’, ‘फूल फुलेर पह्याँलै भयो...’, ‘काली पनि...’ लगायतका गीत सुनाए ।
कलाकर्मीलाई सहयोग
भूकम्पपीडित कलाकर्मीलाई राजधानीमा आइतबार टेलिभिजन कलाकर्मी मञ्चले सहयोग गरेको छ । मञ्च अध्यक्ष दीपाश्री, नेपाल टेलिभिजनका अध्यक्ष नीर शाहले पीडितलाई १०/१० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । कलाकार अमरमान सिंह कुँवरले उक्त रकम सहयोगार्थ उपलब्ध गराएको दीपाले बताइन् । त्यस्तै, उनले एक बन्डल जस्तापाता किन्ने रकम पनि दिइएको बताइन् ।

कोई टिप्पणी नहीं: