शनिवार, 28 फ़रवरी 2015

बलमिच्याईँ गरे, विद्रोह हुने चेतावनी !

काठमाडौं फाल्गुन १६  : एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको जनसभा काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । राजधानीका विभिन्न १३ स्थानबाट निस्केको जुलुस खुलामञ्चमा पुगेपछि दिउँसो पौने २ बजेबाट जनसभा शुरु भएको हो । जनसभालाई अहिले साना दलका नेताहरुले सम्बोधन गरिरहेका छन् । जनसभालाई सम्बोधन गर्दै उनीहरुले सत्तारुढ दलले पेलेर अघि बढे हतियार उठाएर विद्रोह गर्ने चेतावनी दिए । सभालाई स्वागत गर्दै समाजवादी प्रजातान्त्रिक जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बहुमतको आडमा अघि बढेका कांग्रेस–एमालेलाई आन्दोलनबाटै घुँडा टेकाएर छाड्ने दाबी गरे ।
 हतियार उठाउन तयार छौं : गुरुङ
सभालाई सम्बोधन गर्दै आदिवासी जनजाति आन्दोलनका प्रवक्ता ओम गुरुङले आदिवासी जनजातिको अधिकार सुरक्षित नगरी संविधान जारी गरिए हतियार उठाएर विद्रोह गर्ने चेतावनी दिए । ‘आदिवासी जनजातिका अधिकार सुरक्षित नहुने संविधानलाई हामी मान्दैनौं’, उनले भने, ‘आदिवासी जनजातिहरु बन्दुकसँगै जन्मे, बन्दुकसँगै हुर्के र बन्दुकसँगै मर्छन्, मर्न तयार छन्, हामीलाई बन्दुक उठाएर विद्रोह गर्न बाध्य नपारियोस् ।’ खस समावेशी पार्टीका नेता राजन केसीले संविधानसभामा बहुमतको बलमा सत्तारुढ दल अघि बढेमा आफूहरु ढाल र तरबार लिएर मैदानमा उत्रन तयार रहेको चेतावनी दिए ।

कोई टिप्पणी नहीं: