शनिवार, 26 अप्रैल 2014

स्थानीयको आक्रमणबाट घाइते प्रनानि पोखरा रिफर

तनहुँ, वैशाख १३ - तनहुँको दुलेगौडामा स्थानीयको आक्रमणबाट घाइते प्रहरी नायब निरीक्षक भवानीप्रसाद धमलालाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल रिफर गरिएको छ । स्थानीय दुलेगौडा पोलिक्लिनिकमा उपचारपछि उनलाई पोखरा पठाइएको हो । स्थानीय युवाको ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ३० टाँका लगाइएको छ । स्थानीयको आक्रमणमा उनीसहित नौ प्रहरी घाइते भएका थिए । घाइते चार प्रहरी हवल्दार र जवानको दुलेगौडास्थित सेतीगंगा अस्पताल र दुलेगौडा पोलिक्लिनिकमा उपचार जारी छ । दुई दिनअघि स्काभेटरको ठक्करबाट स्थानीय दुई युवाको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले आज बिहान प्रहरीमाथि आक्रमण गरेका हुन् । स्थानीयले आज पनि दुलेगौडामा पृथ्वी राजमार्ग ठप्प पारेका छन् । उनीहरुले हिजो नौ घण्टा राजमार्ग जाम गरेका थिए । प्रहरीले स्काभेटर चालक गगन खाम्चालाई नियन्त्रणमा लिएको छ । खाम्चा दुर्घटना गराउने चालक नभएको स्थानीयको आरोप छ । उनीहरुले दुर्घटना गराउने चालक लुकाएर प्रहरीले खाम्चालाई थुनेको आरोप लगाएका हुन् । बिहीबार स्काभेटरको ठक्करबाट स्थानीय २६ बर्षका राजन रुचाल र २२ बर्षका राजन रूचालको मृत्यु भएको थियो । 

कोई टिप्पणी नहीं: