शुक्रवार, 28 अक्तूबर 2011

मलेसिया पुग्नेवित्तिकै तीन नेपाली महिलाको दुर्घटनामा मृत्यु

malaya
क्वालालम्पुर , कार्तिक ११ - वैदेशिक रोजगारीको लागि मलेसिया आएका तीन नेपाली महिला कामदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
दुर्घटनामा सिन्धुपाल्चोक घर भइ सो कम्पनीमा कामका लागि आएकी डिल कुमारी श्रेष्ठ (राहदानी नं ०५५५६१२८), झापाकी कमलादेवी गुरागाईं (राहदानी नं. ०५४७२२७१)  र सोही जिल्लाकी गुम्दाकी दिल माया गुरुङ (राहदानी नं. २५८१९३५) को घटनास्थलमै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।
मलेसिया आएको केही घण्टा नबित्दै बिहीबार बिहान यहाँस्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट केलाङस्थित टप ग्लोब कम्पनीतर्फ आउँदै गर्दा उनीहरु सवार भ्यान व्यस्त सडकमा दुर्घटनामा परेको थियो । तर सो दुर्घटना के कारणले भयो भन्ने जानकारीमा आइसकेको छैन ।
सो घटनाका मृतक तीनै जनाको हाल पोस्टमार्टम भइरहेको साथै शवलाई नेपाल पठाउने तयारी भइरहेको पनि दुतावासले जनाएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको सुंगाइबुलो र केलाङस्थित अस्पातालहरुमा उपचार भइरहेको छ भने अन्य १२ जनालाई सामान्य उपचारपछि कम्पनीको आवासगृहमा राखीएको छ । हाल उपचाररत फालावाङ्ग २, सल्यानका मन बहादुर वलि, चुलाचुली-३ की जीना राई, गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङ्गको स्वास्थ्यस्थिती सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरलाई उध्दृत गर्दै दुतावासले जनाएको छ ।
दुतावासले मृतक तीनै जनाको दुर्घटनाको क्षतिपूर्ति साथै जीवन बिमा दिलाउन कम्पनीपक्षलाई आग्रह समेत गरेको छ । कम्पनीले नेपाली दुतावाससाग घटनामा परी मृतक तथा घाइतेप्रति चिन्ता व्यक्त गर्दै राहत तथा बिमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।
दुतावासले घटनाको खबर प्राप्तभएलगत्तै शुक्रबार बिहानै सो दुर्घटनाको बारेमा जानकारी लिइ घाइतेहरुको अवस्था बुझेको थियो । घटनाबारे शुक्रबार विहान यहाँस्थित नेपाली राजदूत डा. ऋषिराज अधिकारी, श्रमसहचारी सूर्य प्रसाद भण्डारी र द्वितीय सचिव चक्रकुमार सुवेदी सहितको टोलीले अस्पताल र टप ग्लोव कम्पनीमा स्थलगत भ्रमण गरी जानकारी लिएको हो । 
नेपाली राजदूतावासले शुक्रबार अपरान्ह विज्ञप्ती जारी गर्दै सो दुःखद् दुःखद घटनाले मर्माहत भएको जनाउँदै मृतकका आत्माहरुको चिरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदनासमेत व्यक्त गरेको छ ।

कोई टिप्पणी नहीं: