क्वालालम्पुर , आश्विन २७ - मलेसियामा अवैधानिक रुपमा रहेका नेपाली कामदारहरुबाट अढाईमहिना यताको अवधिमा करिब ७० लाख रुपैयाँ राजश्व जम्मा भएको छ ।
हाल मलेसियामा जारी आममाफी कार्यक्रम सुरु भएयताको समयमा अवैधानिक नेपाली कामदारबाट मात्रै उक्त राजश्व जम्मा भएको यहाँस्थित नेपाली दुतावासका उपनियोग प्रमुख लेखनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार, दुतावासले घर फर्कनेका लागि एउटा यात्रा अनुमति पत्रबापत् १ सय ६० रिंगेट शुल्क लिने गरेको छ ।
भट्टराईले अढाई महिनाको अवधिमा १८ सय नेपालीले यात्रा अनुमति पत्र लिएको बताए । उनले भने, 'गएको अगष्ट १ देखि यता १८ सय नेपालीले यात्रा अनुमति पत्र लिए । एउटा यात्रा अनुमतिपत्रको १ सय ६० रिंगेट शुल्क लिइन्छ ।' दुतावासका अनुसार, यसरी यात्रा अनुमति लिइसकेपछि तीन महिनाभित्र स्वदेश फर्किसक्नुपर्दछ ।
दुतावासले गएको अढाई महिनायता घर फिर्तीका लािग यात्रा अनुमतिपत्र लिन आउने नेपालीको संख्या बढेको जनाएको छ । यसरी यात्रा अनुमतिपत्र लिन आउनेको संख्या आममाफी कार्यक्रम हुनु अगावै भन्दा अहिले झण्डै दोब्बरले बढेको हो । दुतावासले सेवाग्रहीको चाप हेरी यात्रा अनुमतिपत्र जारी गर्दै आएको छ ।
पूरानो पासपोर्टको फोटोकपी वा नेपाली पहिचान खुल्ने नेपाली नागरिकताको सक्कल प्रति र पुलिस रिपोर्टसहित आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै यात्रा अनुमति पत्र -ट्राभल डकुमेन्ट) लिन पाउनेछन् । घर फर्कनका लागि यसरी दुतावासबाट अनुमतिपत्र लिइसकेपछि पुनः मलेसियाको अध्यागमनबाट पनि अस्थायी अनुमति पत्र लिनुपर्ने प्रावधान छ ।
मलेसियाले बिना कानुनी कारबाही फिर्ता हुन पाउनेगरी आममाफी कार्यक्रम ल्याएपछि दर्ता भएका ३३ हजार नेपालीमध्ये १८ सयले सो पत्र लिएका हुन् । तर यी मध्ये कतिपय दर्ता प्रक्रियामा सामेल नभएकाहरुसमेत रहेको दुतावासले बतायो ।
बिना कानुनी कारबाही फर्कने अवसर भएकाले अवैधानिक रुपमा रहेका कतिपय नेपालीहरु घर फर्कन थालेका छन् । अहिले बजारमा रिंगीटको भाउ बलियो भएकाले यहाा काम गरेका नेपालीलाई यसबाट लाभसमेत पुगेको छ । मलेसियाबाट मात्रै मासिक अबौं रेमिट्यान्स नेपाल भित्रिने गरेको छ ।
मृतकका परिवारलाई सहयोग
बारा घर भई मलेसियाको लाराज हाउस किपीङ कम्पनीमा कार्यरत गएको सेप्टेम्बर २३ मा मृत्यु भएका सुरेन्द्र चौधरीको परिवारलाई यहाँस्थित विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।बर्जाया टाइम स्क्वायर,नुशानतारा सेक्युरिटी र हार्ता हाउसकिपीङ लगायत कम्पनीमा कार्यरत नेपालीहरुले रु १६ हजार ६ सय ५२ रुपैंया संकलन गरी आइएमइ मार्फत मृतकका बाबु राजा चौधरीको नाममा प्राप्त हुने गरी सोमबार पठाइएको एक नेपालीले जानकारी दिए ।
चौधरीको सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनको परिवारमा आमाबाबु, श्रीमती, एक छोरा र एक छोरी रहेको बताइएको छ । मृतक चौधरीको शवलाई यही अक्टोबर गएको आइतबार नेपाल पठाइसकीएको छ ।
दुर्घटनामा एक नेपालीको मृत्यु
मलेसियाको सान सेङ लि कम्पनीमा कार्यरत फेदी ८ सुम्दे,खोटाङका २६ बषिर्य मेघनाथ राईको दुर्घटनामा परी मंगलबार मृत्यु भएको छ । सामान किन्नका लागि नजिकैको बजारमा मोटरसाइकलमा जाँदै गर्दा रोकी राखेको कन्टेनरमा ठोक्कीएर उनको घटनास्थलमै मृत्यु भएको थियो । काठमाडौंस्थित बिजे ओभरसिजमार्फत मलेसिया आएका उनको परिवारमा श्रीमती,दुई छोरा र दुई छोरी रहेको बताइएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें