केपी ढुंगाना, काठमाडौं, असोज २९- श्रम इजाजतै नलिई घुम्न जाने भन्दै नेपाली युवतीलाई विदेशी डान्सबारमा पठाउन सक्रिय रहेको आरोपमा नेपाल एयरलायन्सका कर्मचारीसहित तीनजना पक्राउ परेका छन्।
प्रहरीले 'ट्राभल भिसामा डान्सबार र डिस्कोथेकमा काम गर्न हिँडेका' सातजना युवतीको उद्धार गरी शनिबार उनीहरूलाई पक्राउ गरेको हो। मानव ओसारपसारको आरोपमा नेपाल एयरलायन्सका सिनियर असिस्टेन्ट मिगी केसी, कल्चर सेन्टरका सञ्चालक ललित महर्जन र ग्यालिलियो ट्राभल्सका सञ्चालक राजन सुवेदीलाई विमानस्थल सुरक्षा गार्डका प्रहरीले पक्राउ गरेको हो।शुक्रबार बेलुकी नेपाल एयरलायन्सको साढे ११ बजेको उडानबाट दुबई र मलेसिया जान विमानस्थल पुगेका सात युवतीसँग पूर्ण डकुमेन्ट नदेखेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा मानव ओसारपसारमा सक्रिय समूहको पोल खुलेको डिआइजी नारायण बस्ताकोटीले बताए।
ती युवतीसँग विदेश जाँदा अनिवार्य चाहिने ट्राभल्स चेक, दोहोरो हवाई टिकट र बस्ने होटलबारे जानकारी नभएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा ६ जना मलेसिया र एकजना दुबईको डान्सबारमा काम गर्न हिँडेको खुलेको छ। उनीहरू २० देखि ३५ वर्षका छन्। अधिकांश पटकपटक विदेशी डान्सबारमा काम गरेका छन्।
उनीहरूकै सहयोगमा समातिएका तीनै जनाविरुद्ध मानव ओसारपसारको अभियोगमा कारबाही अघि बढाउने डिआइजी बस्ताकोटीले बताए।
समातिएकामध्ये ग्यालिलियो ट्राभल्सका राजनले भिसा र प्लेन टिकटमात्र मिलाइदिएको दाबी गरे। 'मैले त भिसा र टिकटमात्र दिने हो, उनीहरू कहाँ के गर्न जान्छन् थाहा हुन्न,' उनले भने।
कल्चर सेन्टरका ललितले साँस्कृतिक कार्यक्रमका लागि युवतीहरू विदेश पठाउने गरेको स्वीकार गरे पनि डान्सबारमा काम गराउन नपठाएको दाबी गरे।
प्रहरीले युवती र दुवै आरोपीको कुराकानी विवरण तथा युवतीसँग दुबई र मलेसियाका एजेन्टले गरेको टेलिफोन संवाद पनि शनिबार सार्वजनिक गरेको थियो। राजनले युवतीहरूसँगको कुराकानीमा 'सबै सेटिङ छ, डराउनुपर्दैन' भनेका छन्। एजेन्टहरूले 'प्रहरीले सोधे आफन्त भेट्न जान लागेको मात्र भन्नु' भन्दै बाँकी सबै काम मिलाउने आश्वासन दिएका छन्।
अनुसन्धान स्रोतका अनुसार विमानस्थलमा खटिने अध्यागमन कर्मचारी, एयरलायन्स कर्मचारी र प्रहरीको समेत यसमा मिलेमतो छ। दलालहरूले प्रतियुवती ११ हजार दिने गरेको पनि खुलेको छ।
डिआइजी बस्ताकोटीले मानव ओसारपसारका दलालसँग जोडेर प्रहरी बद्नाम भएपछि एक महिनाअघि अनुसन्धान सुरु गरेको जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाटै 'पूर्ण डकुमेन्ट नभए पनि युवतीलाई सहजै विदेश पठाउन विमानस्थलमा संगठित समूह सक्रिय देखिएको' उनले बताए।
'प्रहरीको समेत मिलेमतोमा यस्तो काम हुने गरेको सुनेपछि अप्रेसन सुरु गरेका हौं,' उनले भने, 'प्रहरीमाथि पनि अनुसन्धान गर्छौं, संलग्न देखिए कारबाही हुन्छ।'
डान्सबारमा काम गरेर फर्किएका युवतीहरूका अनुसार मलेसिया र दुबईसँगै दक्षिण अफ्रिकाका डान्सबार र डिस्कोथेकसम्म नेपाली युवती पुगेका छन्। अधिकांश दलाल यहाँका डान्सबारमै आइपुग्छन्। 'कतिपय कहीँ काम नगरेका केटीहरू पनि हुन्छन्,' मलेसियाको डान्सबारमा काम गरेर फर्किएकी एक युवतीले भनिन्, 'तिनलाई दलालले नै नाच्न सिकाउँछन्।'
युवतीहरू खोजेपछि फोटोसेसन गराएर तस्बिर पठाइन्छ। प्रायः तस्बिर अर्धनग्न खिचिएका हुन्छन्। विदेशी एजेन्टले त्यही हेरेर छनौट गर्छन्। त्यसपछि दलालले राहदानी बनाउनेदेखि भिसासम्मको काम गर्छन्।
डान्सबार र डिस्कोथेकमा काम गर्न जाने युवतीले पैसा तिर्नुपर्दैन। छनौट भए १० देखि २० हजार रुपैयाँसम्म नेपालमै पाइने ती युवतीले जानकारी दिए। उता मासिक आम्दानी ८० हजारसम्म हुन्छ। नेपालमा भने मासिक पारिश्रमिक र टिप्स जोड्दा ५० हजार पुग्छ।
डान्सबारहरू रित्तिए
नेपाली महिला घरेलु कामदारका रूपमा विदेश जान पाउने भए पनि डान्सबार र डिस्कोथेकमा काम गर्न भने सरकारले रोक लगाएको छ। दलालहरूले विभिन्न बहानामा नेपाली युवतीलाई विदेशको डान्सबार र डिस्कोथेक पुर्याउँदै आएका छन्।
विदेश पुर्याउने समूहको सक्रियताले उपत्यकाका डान्सबार रित्तो भएको रात्रिकालीन व्यवसायी संघका अध्यक्ष समीर गुरुङले बताए। सरकारले रात्रिकालीन व्यवसायमाथि गरेको अनुदार व्यवहारले युवतीहरू विदेश आकर्षित भएको उनको भनाइ छ।
'दलालहरू रेस्टुरेन्ट चाहारेर राम्रा डान्सर र वेटरलाई आर्थिक प्रलोभन दिँदै विदेश लैजान्छन्,' उनले भने, 'प्रतिदिन चार सयसम्मको संख्यामा डान्स र रेस्टुरेन्टमा काम गर्ने युवतीहरू विदेशिने गरेका छन्।' उपत्यकाका केही डान्सबार सञ्चालकै यसमा सक्रिय रहेको उनले दाबी गरे।
यसरी पुर्याइन्छ विदेश
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें