मंगलवार, 25 अक्तूबर 2011

दाहाल र बाबुरामलाई माओवादीमा बस्ने अधिकार छैनः गजुरेल

cp
सिन्धुली, कार्तिक ८ - माओवादीका सचिव सीपी गजुरेलले क्रान्तिको बाटो छाड्ने अध्यक्ष दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइलाई माओवादी भित्र बस्ने अधिकार नभएको बताएका छन् । क्रान्ति पूरा नभएकाले अहिले क्रान्तिको बाटो छाड्ने अध्यक्ष र उपाध्यक्षलाई पार्टीबाट छुट्टी गरिदिने उनको तर्क थियो ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ को देउरालीमा मंगलबार बिहान 'जनतासँग सभासद कार्यक्रममा' सचिव गजुरेलले माओवादी भित्र टिकिरहनका लागि नेतृत्वले क्रान्तिका कुरा गरेपनि बाटो भने छाडेको बताए । क्रान्ति अधुरो रहेकाले क्रान्तिका कुरा छाडेर शान्तिको मात्र रटान लगाउने माओवादी हुनै नसक्ने उनको धारणा थियो ।
 क्रान्तिका स्वरुप बदलिएको चर्चा गर्दै उनले नयाँ-नयाँ प्रयोग भइरहेको जनाए । क्रान्ति पूरा नभएरै जनताले दुःख कष्ट पाएको उनको भनाइ थियो । नेतृत्वले क्रान्तिको बाटो छाडिदिँदा बन्दुक उठाउनुनै गल्ती भएको जस्तो लाग्न थालेको सचिव गजुरेलले टिप्पणी गरे ।
भारतसँग भएको बिपा संझौता राष्ट्रघाती भएको भन्दै सचिव गजुरेलले भारतमा नचलेका उद्योग धन्दा सबै नेपालमा आउने र घाटा व्यहोरेर सरकार टाट पल्टिने खुलासा गरे । बिहार र यूपीमा नचलेका उद्योग धन्दा सबै नेपाल भित्रन्छन् र घाटा देखाएर सरकारसँग रकम असुल्ने उनले जिकिर गरे । प्रधानमन्त्री बाबुराम भट्टराईको अर्थशास्त्र बिचित्रको भएको टिप्पणी गर्दै उनले भारतको दलाली गरेको आरोप लगाए ।
भारतीय गुप्तचर संस्था 'र' को अथवा कुन कारणले नेतृत्वमा बिचलन आएको मंगलबारबाटै सुरु हुने बैठकमा छर्लङ्ग हुने भन्दै उनले पार्टी फुट्ने नफुट्ने यही बैठकबाट टुङ्गो लाग्ने जनाए । बाबुरामको सरकारले चमत्कार गरेर देखाउने बुद्धिजिवीहरुमा परेको भ्रम क्रमश हट्दै गएको सचिव गजुरेलले बताए ।
संविधान सभासदका कारणले बन्न नसकेको नभइ राजनीतिदलहरुमा सहमति बन्न नसकेकाले नबनेको उनको धारणा थियो । डेढ वर्ष भित्रै सबै विषयगत समितिले आफ्नो आफ्नो खाँका संविधानसभामा बुझाइसकेकाले सभासदहरुको कुनै गल्ती नभएको उनले जिकिर गरे ।

कोई टिप्पणी नहीं: