मंगलवार, 25 अक्तूबर 2011

ग्राहकले मिठाइ अर्डर गरेनन्, व्यापार सुनसान

काठमाडौं, कार्तिक ९ -   गत वर्षको तिहारमा कार्टुन/कार्टुन खानेकुरा र मिष्ठान्नहरु अर्डर गर्ने ग्राहकले यसपाली मिठाइ किनमेल नै नगरेको व्यापारीहरु बताउँछन् । राजधानीका चर्चित मिठाइ पसलमा समेत तिहारका लागि विशेष मिठाइ बनाइएको छैन । 'तिहारमा नयाँ/नयाँ परिकारका मिठाइ अर्डर अनुसार बनाइन्थ्यो' त्रिपुरेश्वरस्थित सजनगोठका सञ्चालक शौरभ अग्रवालले भने- 'अर्डर नआएपछि तिहारका लागि भनेर नयाँ केही बनाएको छैन ।'
उनका अनुसार विगत वर्षहरुमा तिहार आउन एक साता अघिदेखि नै बिक्री गर्न भ्याइ/नभ्याइ हुन्थ्यो । 'ठेलमठेल गर्दै ग्राहक मिठाइ खरिद गर्थे' उनले भने, 'यसपाली गत वर्षको भन्दा ४० प्रतिशत व्यापार घटको छ ।'
सरकारले दशै अघि खाद्यान्न अनुगमन गर्दा मिठाइमा फोहोर देखेपछि व्यापार खस्किएको हो । 'अनुगमन गर्दा अन्य ठाउँका मिठाइ पसलमा फोहोर देखिएको थियो,' उनले भने, 'तर हाम्रो पसलमा समेत व्यपार खस्कियो ।'
अनुगमन र मिडियाले गर्दा राजधानीको मिठाइ व्यवसाय खस्केको उनले बताए । त्रिपुरेश्वस्थित आँगन स्वीट्समा समेत व्यापार कम भएको कर्मचारीहरु बताउँछन् आँगनमा दश वर्षदेखि कार्यरत नरेश सिंहले भने, 'तीस प्रतिशत व्यापार घाटा छ ।' तिहारमा नियमित अर्डर गर्ने ग्राहकले समेत मिठाइ खरिद गरेका छैनन् । 
थापाथलीस्थित राम भण्डारका प्रोपाइटर दिवाकर राजकणिर्कार विगतको भन्दा ग्राहकहरु सचेत भएको बताउँछन् । 'हाम्रो पसल एक सय पचास वर्ष पुरानो हो । पुराना ग्राहकले विश्वासले खरिद गर्छन्,' उनले भने, 'अनुगमनले व्यपारमा सामान्य असर परेको छ ।'
चाडपर्वमा टनाटन मिठाइ खरिद गर्ने ग्राहकले समेत खाद्यान्न अनुगमनपछि खरिद गर्न छाडेका छन् । तिहारमा दाजुभाइलाई खुवाउन विभिन्न परिकारका मिठाइ खरिद गर्ने कपनकी अनिता रिजालले यसपाली भने केही खरिद गरिनन् । 
कुहिएका बिस्कुट र फोहोर पानी हालेर मिठाइ बनाउदै गरेको टेलिभिजनमा देखेपछि बाहिरको खानेकुरा किन्नै छाडेको उनी बताउँछिन् । 'फोहोर मिठाइ खरिद गर्नुभन्दा आँफैले बनाएर खुवाउने योजना बनाएकी छु,' तिहारको किनमेल गर्न न्युरोडमा भेटिएकी रिजालले भनिन्, 'लालमोहन, अनरसा, सेल, लड्डु लगायत परिकार घरैमा बनाउँछु ।' न्युरोडस्थित नन्दन, आँगन, रामेश्वर मिठाइ पसलमा ग्राहकको चहलपहल सामान्य थियो ।
राजधानीका सबैजसो मिठाइ पसलमा ग्राहकको चलहपलह कम थियो । मंगलबार अपह्रान्नमा मध्यबानेश्वरस्थित रामेश्वर मिठाइ पसल पुग्दा एक जना पनि ग्राहक भेटिएनन् । त्यहाँका कर्मचारी बिभिन्न प्रकारका मिठाइ फिँजाएर ग्राहकको प्रतिक्षामा थिए ।

कोई टिप्पणी नहीं: