रविवार, 23 अक्तूबर 2011

खाद्य पदार्थमा मिसावट देशभरकै समस्या

काठमाडौँ, ६ कार्तिक। सर्वसाधारण जनताले दिनहुँ प्रयोग गर्ने खाद्यान्न र मिठाइमा हुने मिसावट तथा गुणस्तरमा खस्किनॆ समस्या काठमाडौँमा मात्र नभई देशव्यापी समस्याको रुपमा देखिएको छ। दशैंको पूर्व सन्ध्यामा सरकारी निकायले अनुगमन थालेपछि काठमाडौँका चर्चित मिठाइ पसल तथा गुँदपाक भण्डारमा अखाद्य वस्तु फोहर तथा दूषित पदार्थ भेटिएको थियो।
अनुगमनका क्रममा उनीहरुले दूध तथा दुग्धजन्य पदार्थमा पनि अखाद्य वस्तु फेला परेपछि काठमाडौँका जनतामा संत्रास फैलिएको थियो। यो समस्या काठमाडौँमा मात्र सीमित नभई काठमाडौँ बाहिरका र अन्य जिल्लामा पनि अखाद्य दुषित तथा मिश्रण भएका वस्तुका कारण त्यहाँका जनताले समस्या भोगिरहेको तर त्यहाँका जिल्ला प्रशासनले खासै पर्याप्त ध्यान नदिएकाले ती जिल्लाका उपभोक्ता हितसँग सम्बन्धित संस्थाले बताएका छन्।
उपभोक्ता हित संरक्षण मञ्च पर्साका सचिव धीरज शर्माले नेपालका प्रवेशद्धारको रुपमा चिनिएको पर्सा जिल्लाका विभिन्न सामाजिक तथा आर्थिक समस्याका साथसाथै दिनहुँ उपभोक्ताले प्रयोग गर्ने खाद्य वस्तुमा पनि अखाद्य वस्तुको मिसावटको समस्या रहेको बताउनुभयो। त्यहाँको जिल्ला प्रशासन कार्यालयले नियमावलीको नियम ५१ मा अनुगमन समिति गठन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भए पनि हालसम्म प्रमुख जिल्ला अधिकारीले त्यस्तो समिति गठन नगरेकोमा उहाँले गुनासो गर्नुभयो।
उहाँका अनुसार पर्सा जिल्लामा वाणिज्य कार्यालयमा दुई वर्षदेखि कार्यालय प्रमुख नभएको बजार अनुगमन समिति पनि नबनेको र सुरक्षाकर्मीको पनि अनुपस्थित रहेकाले उपभोक्ता हित संरक्षण माचको निरीक्षण र अनुगमनबाट बजार प्रभावकारी हुन नसकेको बताउनुभयो।
त्यस्तै उपभोक्ताहित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डितले कुनै पनि वस्तुको प्रयोग गर्नु अघि उपभोक्ता सचेत हुनुपर्ने औँल्याउँदै व्यवसायी इमान्दार नभएकाले उपभोग्य वस्तुमा मिसावटको समस्या रहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित प्रशासन जागरुक हुनु पर्नेमा जोडदिनुभयो। सोही संस्थाको मकवानपुरका अध्यक्ष अजय अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराइले व्यापारीसँग मिलोमतो गरी बजार अनुगमनमा बेवास्ता गरेको र माचले ज्ञापनपत्र बुझाइएपछि बाध्य भएर अनुगमन समिति बनाए पनि प्रभावकारी ढङ्गले काम नगरेको बताउनुभयो।
त्यस्तै धादिङ जिल्लामा पनि उपभोग्य वस्तुमा मिसावट गुणस्तर हिनको समस्या विशेषगरी राजमार्ग क्षेत्रका पसलमा भेटिएको त्यहाँका प्रतिनिधिले बताएका छन्। उपभोक्ताहित संरक्षण माच भक्तपुरका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोग्य वस्तुको मिसावटको समस्या निराकरण गर्न बजार अनुगमन निर्देशिका बनाउनुपर्ने तथा उपभोक्ताको वास्तविक अधिकारको सुरक्षा गर्ने सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। रासस

कोई टिप्पणी नहीं: