शुक्रवार, 21 अक्टूबर 2011

असिनापानीले धानबाली नष्ट

सन्तोष पोखरेल, पोखरा, कात्तिक ४- कास्कीको ढिकुरपोखरी र आसपासका क्षेत्रमा शुक्रबार बेलुकी बाक्लो असिनापानी परेको छ। असिनाले उक्त क्षेत्रको धानबाली र तरकारी खेतीमा क्षति पुर्‍याएको छ।
ढिकुरपोखरी सहित लुम्ले र आसपासका क्षेत्रमा परेको भिषण असिनापानीले पाक्ने बेला हुन लागेको धानबाली नष्ट गरेको स्थानीयबासिले जानकारी दिए। शुक्रबार बेलुकी साढे पाँचबजेदेखि करिब एक घण्टा उक्त क्षेत्रमा भिषण असिनापानी परेको स्थानीय मदन पौडेलले जानकारी दिए।

'बाक्लो असिनाले गाउँमा पाकेर काट्ने अवस्थामा पुगेको धानबाली नष्ट पारेको छ' पौडेलले भने, 'करिब एक घण्टा परेको असिनाले सबै खेतीमा क्षति पुर्‍याएको छ।' उक्त क्षेत्रमा बिहीबार बेलुकी पनि असिना परेको उनले जानकारी दिए।

त्यसैगरी लुम्लेका स्थानीयबासी नुमलाल देवकोटाका अनुसार भिषण असिनापानीले उक्तक्षेत्रको धानबालीमा नोक्सान पुर्‍याएको छ। बेमौसमी असिनाले क्षति पुर्‍याएपछि कृषकहरु चिन्तित भएका छन्। पाकेर काट्ने अवस्थामा पुगेको धानबाली असिनाले क्षति पुर्‍याएको देवकोटाले जानकारी दिए।

गत वर्ष पनि उक्त क्षेत्रमा यस्तै सिजनमा भिषण असिनापानी परेको थियो। हावापानी कार्यालय पोखराका प्रमुख निराजन सापकोटाले स्थानीय वायुको प्रभावले अहिले असिना परेको बताए। 'स्थानीय वायुको प्रभावले अहिले असिना परेको हो, अझै एक/दुई महिना यस्तै रहन्छ' उनले नागरिकसँग भने, 'पोखरा र अन्य क्षेत्रमा यसको प्रभावले असिनापानी पर्ने थप सम्भावना छ।' लम्जुङ र गोरखाको माथिल्लो क्षेत्रमा पनि बिहीबार रातभर असिनापानी परेको सापकोटाले जानकारी दिए। पोखरामा शुक्रबार बेलुकी भिषण असिना पानी परिरहेको छ।

कोई टिप्पणी नहीं: