काठमाडौं- , कार्तिक ९ - संविधान निर्माणका लागि तेस्रोपटक थपिएको म्याद सकिन तीन साता पनि बाँकी रहँदा दलका शीर्ष नेताहरु शान्ति र संविधान पूरा हुनेमा ढुक्क देखिएनन् । उनीहरुले माओवादीले चाहेमात्र शान्ति र संविधान पूरा हुने दाबी गरे ।
'माओवादीको बोली-वचन र व्यवहारमा एकरुपता छैन,' कांग्रेस सभापति सुशील कोइरालाले बुधबार रिपोर्टर्स क्लवको देउसी टोलीसँग भने, 'माओवादी साँच्चै जिम्मेवार बने दुवै प्रक्रिया पूरा हुन्छ ।'
माओवादीको आन्तरिक कलहले शान्ति र संविधानका बाटाहरुलाई रोकेको दलहरुको उनको भनाइ छ । 'प्रधानमन्त्री भारत जानुअघि नै हामीबीच त करिव करिव सहमति भएको थियो,' कांग्रेस, एमाले र माओवादी संस्थापन समूहबीच सहमति भइसकेको संकेत गर्दै उनले भने, 'तर वैद्यजी (माओवादी उपाध्यक्ष मोहन वैद्य)ले प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि हस्ताक्षर गरौंला भनेपछि रोकियो ।'
एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले संकल्प नगरेसम्म शान्ति र संविधान निर्माणको कार्य पुरा नहुने ठोकुवा गरे । माओवादी शान्ति र संविधान निर्माणको लागि तयार भए अरु सबै दल तयार रहेको उनको दाबी छ ।
सबै नेपालीलाई शान्ति र संविधान चाहिएको भन्दै खनालले भने, 'झलनाथ खनालको मात्रै होइन ३ करोड नेपाली र सबै राजनीतिक दलको अर्जुनदृष्टि हुनु पर्छ ।' उनले व्यङ्ग्य गर्दै भने, दिपावलीजस्तो चाडले माओवादीलाई शान्ति र संविधानको जिम्मेवारी छिटो पूरा गर्न प्रेरणा मिलोस् ।'
राप्रपाका अध्यक्ष पशुपति शमसेर राणाले माओवादी लडाकुको समायोजन र पुनर्स्थापनामा अलमल हुँदा सवै प्रक्रिया अड्किएको बताए । 'यसमा वैद्यजीले समस्या ल्याइरहनुभएको छ,' उनले भने, 'यसैले प्रक्रिया नै डिरेल भएको छ ।'
जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले भने दलहरुको झगडाले शान्ति र संविधान तत्काल पूरा हुने अवस्था नरहेको बताए । मंसिरभित्र शान्ति र संविधान पूरा होला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'यो मंसिर कि अर्को मंसिर ?'
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें