काठमाडौं, कात्तिक ११ (नागरिक)- राजधानीका मिठाइ पसलहरुले दूषित पदार्थ मिसावट गरी मिठाइ बनाउने गरेको जनगुनासो बढिरहेको बेला त्रिपुरेश्वरस्थित सजन गोठ नामक पसलले बेचेको मिठाइभित्र जिउँदा किरा भेटिएका छन्। तिहारको अवसरमा विशेष प्याक बनाइ बिक्री गरिएका मिठाइमा किरा भेटिएका हुन्। भाइटीकाको अघिल्लो दिन वल्खु निवासी एक उपभोक्ताले किनेको तिहार विशेष प्याकमा राखिएका मिठाइहरु मध्ये लड्डुमा कीरा भेटिएको हो। 'श्रीगणेशाय नम:' लेखिएको प्याकभित्र अन्य मिठाइका अतिरिक्त ४ लड्डु थिए। लड्डुभित्र किरा भेट्नासाथ प्रमाणका लागि भिडियो खिचिएको थियो (भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नोस्।)
सजन गोठका मालिक प्रमोदले भने किरा परेको मिठाइ प्याक ल्याए सट्टामा अर्को मिठाइ प्याक फर्काउने बताए। 'काम गर्नेहरुले कहिले कहीँ के के गर्छन्, त्यस्तो छ भने आउनुहोस् म साटिदिन्छु। पैसा फिर्ता गर्दिन्छु', नागरिकन्युजसँग उनले भने।
'मिठाइ बेच्नेलाई उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कुन कानुनले दिएको छ ?' भन्ने प्रश्नमा उनले भने- 'मलाई त्यस्तो केही थाहा छैन।'
केही समय यता दूषित खाद्य सामग्री बेच्ने पसल तथा उद्योगलाई वाणिज्य विभागले स्थानीय प्रशासनको सहयोगमा बन्द गराउँदै आएको छ।
सजन गोठले तिहारको अवसरमा बिक्री गरेको विशेष प्याकमा रहेको लड्डु र किरा नागरिकन्युजसँग सुरक्षित छ।
एक वर्षअघि नागरिक दैनिकले राजधानीका मिठाइ पसलको अनुगमन गर्दा सजन गोठको किचेन अत्यधिक फोहोर पाइएको थियो। लगत्तै वाणिज्य विभागको कारवाहीमा परेको पसलले त्यसपछि स्तरोन्नति गर्दै किचेन खुला गरेको थियो भने स्वस्थकर खाना बिक्री गर्न थालेको दावी समेत गरेको थियो।
उपभोक्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने कम्पनीलाई उपभोक्ता ऐन २०५४ अनुसार कारवाही हुन्छ। ऐनले उपभोक्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गर्ने कम्पनीका सञ्चालकलाई ५ वर्षदेखि १४ वर्षसम्म कैद सजाय वा ३ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारी वा अदालतलाई दिएको छ।
यसअघि दूषित मिठाइबाट गुँदपाक बनाएर बिक्री गरेको अभियोगमा पक्राउ परेका न्युरोडस्थित कर्नर ताजा गुँदपाकका सञ्चालकद्वय मदनबाबा मास्के र मनिन्द्रलाल मास्के काठमाडौं जिल्ला प्रशासनको आदेशमा १५ लाख धरौटीमा रिहा भएका थिए। मालिकविरुद्ध मुद्दा चलिरहे पनि कुहिएका मिठाइबाट गुँदपाक बनाएको फेला पारेपछि वाणिज्य विभागले गुँदपाक भण्डार बन्द गराएको छ।
यसरी सल्बलायो सजन गोठको मिठाइको किरा
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें