शनिवार, 29 अक्तूबर 2011

गरिबी घटेको तथ्याङकप्रति अर्थविद्हरुको शङ्का

काठमाडौँ, १२ कार्तिक। तथ्याङ्क विभागले गतसाता सार्वजनिक गरेको नेपालमा गरिबीको प्रतिशत घटेको तथ्याङ्कलाई अर्थविद्हरुले शङ्कास्पद भनेका छन्। राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रमका सहभागीहरुले नेपालमा गरिबीको दर ३१ प्रतिशतबाट २५ प्रतिशतमा झरेको भनिएको सार्वजनिक तथ्याङ्क पत्याउन नसकिने बताउनुभयो ।
अर्थविद् डा चिरञ्जिवी नेपालले महँगी वृद्धि भइरहेको अहिलेको अवस्थामा दैनिक रु ५३ भन्दा माथि कमाउने परिवारलाई धनी भनी मापन गरिनु सही तथ्याङ्क नभएको बताउनुभयो। उहाँले गरिबीको मापन कसरी गर्ने भन्ने स्पष्ट खाका नभएसम्म सार्वजनिक गरिने तथ्याङ्कले जनतालाई झुक्याउने काममात्र गर्ने उल्लेख गर्नुभयो।
अर्का अर्थविद् चन्द्रमणि अधिकारीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सर्वेक्षण गरेर नेपालमा ६५ प्रतिशत गरिबीको दर रहेको भनी प्रतिवेदन सार्वजानिक गरेको अवस्थामा विभागद्वारा जारी गरिबी घट्यो भन्ने तथ्याङ्क भरपर्दो नरहेको बताउनुभयो। शिक्षा स्वास्थ्यजस्ता सूचाङ्कका आधारमा गरिबीको मापन हुनुपर्नेमा क्यालोरीका आधारमा विभागले तथ्याङ्क लिएकाले प्रक्रिया नै गलत भएको उहाँको भनाइ थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले विभागद्वारा सार्वजनिक तथ्याङ्क वैज्ञानिक आधारमा गरिएकाले सही भएको बताउनुभयो। उहाँले ज्यालादर र रेमिटेन्स बढेका कारणले गरिबीको दर घटेको उल्लेख गर्नुभयो। रासस

कोई टिप्पणी नहीं: