सोमवार, 17 अक्टूबर 2011

ठूला चिनियाँ लगानीबारे छलफल

काठमाडौं, असोज ३० (नागरिक)- चिनियाँ राजदूत योङ हउलानले नेपालका ठूला परियोजनामा लगानी गर्न उच्च तहमा छलफल भइरहेको बताएका छन्। काठमाडौंमा रिङरोड विस्तार, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, त्रिशुली जलविद्युत परियोजना लगायत सिँचाइसम्बन्धी ठूला परियोजनामा लगानी गर्नेबारे दुई देशबीच छलफल भइरहेको उनले जानकारी दिए।

'आपसी सम्बन्ध प्रगाढ बनाउन र आर्थिक सहयोग तथा लगानीका क्षेत्र विस्तार गर्न उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ,' उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, 'उपयुक्त समय निकाली भ्रमणको मिति तय गरिने छ।' दुई देशका प्रधानमन्त्रीमध्ये एकले छिट्टै अर्को देशको भ्रमण गर्ने उनले बताए।

तिब्बती शरणार्थीलाई माध्यम बनाउँदै केही अन्तर्राष्ट्रिय शक्तिले नेपालमा चीनविरोधी गतिविधि गरिरहेको पनि उनले उल्लेख गरे। ती अन्तर्राष्ट्रिय शक्तिको उक्साहटमा लागेर केही नेपाली यस्तो कार्यमा संलग्न रहेको उनको भनाइ थियो।
पछिल्लो तीन दशकमा चीनले विश्वलाई चकित पार्नेगरी आर्थिक फड्को मारेको जनाउँदै राजदूत हउलानले चीनको विकास देख्न नसक्नेले नेपालमा चीनविरोधी गतिविधि गरेको आरोप लगाए। 'नेपालमाथि हाम्रो विश्वास छ, नेपालले चीन विरोधी गतिविधि हुन दिनेछैन,' उनले भने।
नेपाल र चीनबीच राजनीतिक रूपमा कुनै समस्या नरहेको बताउँदै उनले बितेका वर्षमा विश्वमा धेरै परिवर्तन भए पनि दुई देशको सम्बन्धमा कुनै नकारात्मक परिवर्तन नआएको उल्लेख गरे।

कोई टिप्पणी नहीं: