सोमवार, 24 अक्तूबर 2011

एमाले नेता बामदेवको घोषणा – प्रधानमन्त्रीको आयु अब पांचहप्ता !

 कार्तिक ७ एमाले नेता बामदेव गौतमले मंसिर १४ गते जसरी पनि प्रधामन्त्री डाक्टर बाबुराम भट्टराईलाई राजिनामा दिन बाध्य पारिने बताउनुभएको छ । झलनाथ खनाल र माधवकुमार नेपाललाई जस्तै राजिनामा दिन बाध्य पारिने उल्लेख गर्दै  नेता गौतमले राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खोल्न प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई आग्रह गर्नुभएको छ । युनाइटेड नेपलिज डेमोक्रेटिक फोरमले अमेरिकाको न्युयोर्कमा गरेको कार्यक्रममा बोल्दै नेता गौतमले मंसिर १४ गते वर्तमान प्रधानमन्त्रीलाई राजिनामा दिन बाध्य पारिने निश्चित भएकाले त्यो भन्दा अगाडि नै राजिनामा दिएर राष्ट्रिय सहमतिको विकल्प खोज्न आग्रह गर्नुभएको हो ।

एमाले , कांग्रेस र माओवादीभित्र राष्ट्रिय सरकारका निर्माणका लागि आन्तरिक सहमति भइसकेको दावी गर्दै नेता गौतमले राष्ट्रिय सहमतिको सरकारका लागि तीनवटै दलहरु तयार भएकाले वर्तमान सरकारलाई निरन्तरता दिन नहुने बताउनुभयो । शान्ति प्रकृयाको पूर्णता, संविधान निर्माण र सेना समायोजनलाई पूर्णता दिनका लागि राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएको भन्दै एमाले नेता बामदेव गौतमले त्यस्तो सरकारको नेतृत्व माओवादीले नै गरेपनि आफूहरुलाई आपत्ति नहुने स्पष्ट पार्नुभएको छ ।
संविधान निर्माणका लागि मूल मुद्दाहरुमा ९० प्रतिशत कुरा मिलिसकेको बताउदै नेता गौतमले ६ महिनापछि वर्तमान संक्रमणको पूर्णत अन्त्य भइसक्ने र मंसिर १४ पछिको तीन महिनाभित्रै नयां संविधान जारी हुने दावी गर्नुभयो । नेता गौतमले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेको बिपा सम्झौताको पनि आलोचना गर्नुभयो । विपा सम्झौतामा केही सकारात्मक कुराहरु भएपनि वैदेशिक लगानीकर्तालाई घाटा भएमा सरकारले क्षतिपूर्ति दिनेजस्ता सम्झौताहरु त्रुटीपूर्ण भएको नेता गौतमको भनाई छ । एमाले नेता बामदेव गौतम नीजि भ्रमणका क्रममा पत्नी सहित दोश्रँे पटक अमेरिका भ्रमणमा आउनुभएको हो ।
त्यही अवशरमा गरिएको कार्यक्रममा बोल्दै समाजसेवी तथा प्रोफेसर डाक्टर तारा निरौलाले शान्ति प्रकृया, संविधान निर्माण र सेना समायोजनलाई पूर्णता दिदै सबै जातजाती धर्म , वर्ण, लिंग र क्षेत्रका व्यक्ति अट्न सक्ने नेपालको निर्माण गर्न राजनीतिक दलहरुलाई नेताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता आनन्द बिष्ट, नेपाल आदीवासी जनजाती महासंघका दीपेश लिम्बु र युएनडिफकी अध्यक्ष सिता खरेल लगायतले राजनीतिक मतभेद अन्त्य गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

(किशोर पन्थी ,न्युयोर्क, अमेरिका)

कोई टिप्पणी नहीं: