काठमाडौं, कार्तिक १३ - कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रियाका विवादित मुख्य पाँच विषयमध्ये समायोजन हुने संख्या र पुनःस्थापनामा जाने लडाकुहरूको 'प्याकेज'मा मात्रै कुरा मिल्न बाँकी रहेको जनाएका छन् । यी विषय पनि माओवादीको आन्तरिक कलहले पछाडि धकेलिएको बताउँदै शनिबार कान्तिपुरसँगको कुराकानीमा उनले भने,'प्रचण्डजीले हिम्मत गर्नुभयो भने एक हप्ताभित्रै शान्ति प्रक्रिया र संविधान निर्माणमा सहमति हुन्छ ।'
शान्ति प्रक्रिया टुंग्याउने विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले इमानदारिता र गम्भीरता देखाएको उल्लेख गर्दै कोइरालाले थपे,'हिजो गिरिजाबाबुले पार्टीको विरोध हुँदाहुँदै पनि जसरी छलाङ मार्नुभयो,त्यसैगरी प्रचण्डजीले हिम्मत गर्नुपर्ने देखिएको छ । उहाँलाई चुनौती दिन पार्टीभित्र कोही निस्केलान् जस्तो मलाई लाग्दैन ।' कोइरालाले समायोजन हुने संख्या र पुनःस्थापना प्याकेजमा विद्यमान मतभेद छलफलका माध्यमबाट सुल्झाउन सकिने बताए । उनका अनुसार संख्याको कुरामा कांग्रेसको औपचारिक अडान तीनदेखि चार हजार र माओवादीको सात हजार भन्ने छ । तर कांग्रेसले बुधबार माओवादीसँगको बैठकमा पाँच हजारको संख्यामा समायोजन गर्न सकिने बताएको थियो । त्यस्तै पुनःस्थापना प्याकेजमा माओवादीले ६ देखि नौ लाख र कांग्रेसले ३ देखि ६ लाख रुपैयाँ हुनुपर्ने बताएका छन् । कोइरालाका भनाइमा, 'अहिले यसैमा अड्किएको छ । माओवादी तयार भयो भने बसेर यस विषयलाई पनि छलफलबाट टुंग्याउन सकिन्छ ।'
सभापति कोइरालाले शान्ति प्रक्रियासँगै सत्ता साझेदारीका विषयमा कुराकानी भइरहेको बताए । तर, शान्ति प्रक्रियाको विषय सरकारसँग नजोडिएको बताउँदै उनले चक्रीय प्रणालीका आधारमा पनि निर्वाचन गराउने अवधिमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी गरे ।
सभापति कोइरालाले शान्ति प्रक्रियासँगै सत्ता साझेदारीका विषयमा कुराकानी भइरहेको बताए । तर, शान्ति प्रक्रियाको विषय सरकारसँग नजोडिएको बताउँदै उनले चक्रीय प्रणालीका आधारमा पनि निर्वाचन गराउने अवधिमा सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी गरे ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें