गुरुवार, 27 अक्तूबर 2011

तीन देखि ५० हजार रुपैयाँमा घरै रिमझिम

काठमाडौ, कार्तिक १० - सहरका मध्यम वर्गमा बढ्दो व्यस्तताका कारण यतिखेर चाडबाडमा घरै सजाइदिने नयाँ व्यवसाय पनि फस्टाउन थालेको छ । चाडबाड मान्ने तर परम्परागत रूपमा घर सजाउन नभ्याउने परिवार
लक्षित यसका व्यवसायीको व्यस्तता बढेको छ ।
३ हजार रुपैयाँ खर्च गरेमा तीनतले घरलाई प्लास्टिकका फूलले झिलिमिली सिँगार्न सकिने कालिमाटी चोकस्थित श्री जयसवाल पान भण्डारका भाग्य नारायणले बताए ।
ग्राहकको भीडले उनी र उनका सहयोगीलाई बोल्न समेत फुर्सद थिएन । २ हजार ५ सयदेखि ३ हजार रुपैयाँ पर्ने ५० ठूला मालाले घरका झयालढोका इच्छा अनुरूप सिँगार्न सकिने उनले बताए । उनले सामग्रीसँगै सजाउने मान्छे पनि उपलब्ध गराउँछन् ।
सौन्दर्य हेरी एक लडी (माला) बजारमा न्यूनतम ५० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । 'अरू बेला फाटफुट बिक्री हुन्छ,' भारत बिहार बर्गेनियाका भाग्य नारायणले भने, 'दीपावलीमा २५ हजार रुपैयाँसम्मको फूल बिक्री हुन्छ ।' व्यवसायीहरूका अनुसार पूरा घरै सयपत्री फूलले सिँगार्ने ग्राहकको समेत कमी छैन । कालिमाटी तरकारी बजारका खगेन्द्र पराजुलीले कुकुर तिहारको दिन एउटै ग्राहकलाई ५० हजार रुपैयाँको सयपत्री फूल बेचेको बताए । विराटनगरका पराजुलीले एक दशकदेखि राजधानीमा फलफूल र तरकारी बेच्छन् ।
'महँगो भए पनि पोहरको तुलनामा बिक्री झनै बढेको छ,' उनले भने । उनले एउटा मालाको गुच्छालाई न्यूनतम ४ सयदेखि ७ सय रुपैयाँमा बेचिरहेका थिए । पराजुलीका अनुसार सजाउन जानेमा तीनतले घरको फेददेखि टुप्पासम्म ५० हजार रुपैयाँको फूल पर्याप्त हुन्छ । 'फूल र घर सिँगार्ने श्रमिक समेत उपलब्ध गराइदिन्छौं,' उनले भने ।
सात मिटर लम्बाइ भएको १५ मुठ्ठा विद्युतीय सामग्रीले दुईतले घरलाई झिलिमिली पार्न सकिने कालिमाटीस्थित जिके इलेक्टि्रकल सप्लायर्सका गणेश गिरीले बताए । उनले यसका लागि श्रमिक र सामग्री सहित ५ हजार रुपैयाँ खर्च गरेमा पुग्ने बताए । 'अर्डर आउने बितिकै सामग्रीसहित श्रमिक घरमा पठाउँछु,' गिरीले भने । फलफूल, मिठाई किनेर उनको पसलमा पुगेकी थापाथलीकी सृजना कुँवरले पूरा घर सजाउने अर्डर गरिन् । 'वर्षमा एक पटक झिलिमिली पार्ने हो, महँगी बढ्दै जाने हुनाले यही सामग्री आउने वर्ष पनि काम लाग्छ,' उनले भनिन् ।  
लक्ष्मी पूजाको बिहान सुनचाँदी र मिठाई पसलमा राम्रै भीड देखिएको छ । दीपावलीमा यस पटक सुनको भन्दा चाँदीका सामग्री बढी बिक्री भएको व्यवसायी बताउँछन् । 'महँगीले गर्दा सुनको ठाउँ चाँदीले लियो,' सुविधानगर तिनकुनेस्थित न्यु मनकामना ज्वेलरी सपका प्रोपराइटर मनोज पोर्तेलले भने ।
दीपावलीमा गत वर्ष सुन र चाँदी लगभग बराबर बिक्री भएको उनले बताए । 'यो पालि २० प्रतिशत सुन र ८० प्रतिशत चाँदी बिक्री भएको छ,' पोेर्तेलले भने । सुनको सट्टा चाँदीका सिक्का, दियो, गणेश र लक्ष्मीको मूर्ति बढी बिक्री भएको पोर्तेलले जानकारी दिए । 
अघिल्ला वर्षझैं तिहारमा ग्राहकले लड्डु पेडालाई पहिलो प्राथमिकतामा र  मिक्स मिठाईलाई दोस्रो प्राथमिकतामा राखेर किनिरहेका छन् । 'धनतेरेशदेखि बिक्री सुरु भयो,' सुविधानगर तिनकनेस्थित न्यु सन्ध्या स्विट्सका रविन्द्र शाहले भने, 'लक्ष्मीपूजामा बढी बिक्री हुन्छ, भाइटीकासम्म बिक्छ ।'
उनको पसलमा गत वर्ष झैं ३ सय ५० रुपैयाँ प्रतिकिलो लड्डु, ५ सय ५० रुपैयाँ प्रतिकिलोग्राम
पेडा र ५ सय रुपैयाँ प्रतिकिलो मिक्स मिठाई बिक्री भइरहेको छ ।
शाहको अनुसार दुई वर्ष अघिको तुलनामा मिठाईको मूल्यमा थोरै वृद्धि भएको छ ।
गुणस्तरमा सम्झौता नगरेको हुनाले राम्रै बिक्री भइरहेको उनले बताए । शाहले गत वर्ष तिहार भरि १ लाख रुपैयाँको मिठाई बिक्री गरेका थिए । यस पटक दीपावलीको बिहानसम्म ५० हजार रुपैयाँको मिठाई बिक्री गरिसकेको उनले बताए ।

कोई टिप्पणी नहीं: