काठमाडौँ, १० कार्तिक। एकीकृत नेकपा माओवादीका सभासद् एवम् मजदुर नेता शालिकराम जमकट्टेलमाथि ज्यान लिने उद्धेश्यका साथ भएको आक्रमणको घटनामा माओबादीको नै संलग्नता खुलेको छ। जमकट्टेल आबद्ध रहेको मजदुर सङ्गठनकै एक पक्षको हात उनको हत्या प्रयासमा रहेको प्रहरीले जनाएको छ। मजदुर स्रोतका अनुसार उनीमाथि आक्रमण गर्नेहरु प्रधानमन्त्री बाबुराम भट्टराई निकटका मजदुर नेता कार्यकर्ताहरु हुन्। साथै उनीहरुलाई माओवादीकै लडाकुहरुले पनि साथ दिएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा पूर्वमाओवादी लडाकु राम पुडासैनी, इन्द्रबहादुर शाही, सुदीप कार्की र कमल बुढाथोकीलाई आज सार्वजनिक गरेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले सार्वजनिक गरेकामा माओवादी लडाकु शिविर तेस्रो डिभिजनका प्रमाणित लडाकु र अयोग्य लडाकुहरु छन्। अनुसन्धान अधिकारीका अनुसार तेस्रो डिभिजनका प्रमाणित लडाकु पुडासैनीले आक्रमणको योजना र निगरानी गरेका थिए। त्यसैगरी सोही डिभिजनका प्रमाणित लडाकु इन्द्रबहादुर शाहीले रडले हानेको र त्यसमा अयोग्य लडाकु कार्की र बुढाथोकीले सहयोग गरेको प्रहरीको दावी छ। बुढाथोकी क्यासिनो नेपालका सुरक्षा गार्ड हुन्।
घटनाको योजनाकारमा अखिल नेपाल ट्रेड युनियनका निवर्तमान सचिव एवम् अखिल नेपाल होटल सङ्गठनका अध्यक्ष रमेश पन्त भनिने तारायणनिधि पन्त रहेको अनुसन्धान ब्युरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमलिसंह बमले जानकारी दिनुभयो।
मजदुर सङ्गठनभित्रको होडबाजी र आन्तरिक मतभेदका कारण सभासद् जमकट्टेलमाथि आक्रमण भएको अनुसन्धानको क्रममा देखिएको प्रहरीले बताएको छ। आक्रमणमा संलग्नहरु प्रधानमन्त्री डा बाबुराम भट्टराईका निकट व्यक्तिहरु रहेको स्रोतहरुको भनाइ छ। घटनाका मुख्य योजनाकार पन्त भने फरार रहेका र चारमध्ये तीनलाई हेटौडा र एक जनालाई चाबहिलबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बमले जानकारी दिनुभयो।
सभासद् जमकट्टेलको हत्या गर्ने मनसायबाट गत भदौ १० गते काठमाडौँको बबरमहलमा सडकमा हिँडिरहेको बखत टाउकोमा रड प्रहार गरिएको थियो। सो आक्रमणबाट जमकट्टेल गम्भीर रुपमा घाइते हुनुभएको थियो।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें