शुक्रवार, 28 अक्तूबर 2011

तिहारमा फिल्मको भेल

काठमाडौं , कार्तिक १० नागरिक - दशैंमा तीन फिल्म जुध्दा कुनैले पनि राम्रो व्यापार नगरेको देख्दा देख्दै तिहारमा पनि फिल्म भिडन्त चर्को हुने भएको छ। रोज राणा र सौजन्य सुब्बाको जोडीका साथ आयुष रिजालको अभिनय रहेको फिल्म 'म छु नि तिम्रो' राजधानी बाहिर २० हलमा शुक्रबार रिलिज हुँदैछ। फिल्मका निर्माता समेत रहेका रोज अघिल्लो फिल्म 'टक्कर दुई मुटुको'मा आफ्नो र सौजन्यको जोडी दर्शकले रुचाएकाले दोहोरिएको तर्क गर्दै प्रचारमा उत्रिएका छन्।
'बाहिरको नतिजा हेरेर काठमाडौंमा रिलिज डेट तोक्छु', फिल्म रिलिजसँगै आफ्नै भोगाइमा आधारित 'जेल' फिल्मको सुटिङ सुरु गर्ने उनले जानकारी दिए। यसमा भने सौजन्यको अभिनय नरहने बुझिएको छ। 'चित्तबुदो हिरोइन भेटिएको छैन,' हप्ता दिनमा हिरोइन छनोट गरिसक्नुपर्ने उनले बताए।
रोजको यो फिल्मसँग प्रतिस्पर्धा गर्दैछ प्रदीप उदयको 'हाम्रो माया जुनीजुनीलाई'ले। श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, सुनील थापा, रेखा थापा, नीता ढुंगाना लगायतले अभिनय गरेको यो फिल्म मोफसलमा रिलिज भएको एक हप्तामै काठमाडौंमा रिलिज हुनेछ।
काठमाडौंमा भने यो फिल्मको सामना गर्न तयार छन् 'मसान' र 'कालापानी'। गोपालप्रसाद रिमालको नाटकमाथि आधारित 'मसान' नीर शाहले ११ वर्षपछि निर्देशन गरेको फिल्म हो भने 'कालापानी' भारतले गरेको सीमा अतिक्रमणको विषय उठाएको कारण चलचित्र विकास बोर्डबाट 'विशेष' मान्यता पाएको फिल्म हो। उद्धव अभिजितले यो फिल्म निर्देशन गरेका हुन्।
'मेरो राजेश दाइ' र 'मिसन नेपाल' चलिरहेको राजधानीको हलमा शुक्रबार 'इज्जतदार' पनि थपिने छ। कृष्ण चापागाईंले बनाएको यो फिल्मले दुईमध्ये कुनलाई 'रिप्लेस' गर्छ भन्ने चाहिँ यकिन भएको छैन।

कोई टिप्पणी नहीं: