सोमवार, 22 अगस्त 2011

'सभासद् जिल्ला नधाऊ, काठमाडौंमै बसरे संविधान बनाऊ'


धनकुटा, भाद्र ५ - जिल्ला नफर्कने जनप्रतिनिधिप्रति जनताले गुनासो गरेको समाचार त पहिले पनि सुनिएको हो । धनकुटाका चार सभासद्लाई भने घरिघरि जिल्ला नधाऊन स्थानीय पत्रकारले नै सम्झाएका छन् ।
शान्ति र संविधान निर्माणका लागि गम्भीर हुने बेलामा जिल्ला धाएको भन्दै यहाँका सञ्चारकर्मीले सभासद्लाई संविधानसभा जान दवाव दिंदै सोमवार ज्ञापनपत्र बुझाए ।
सभासद हेमराज भण्डारी जिल्लामा आएको बेला उनी लगायत अन्य चार सभासदलाई पनि शान्ति र संविधानप्रति गम्भीर हुने व्यहोराको ज्ञापनपत्र बुझाइएको हो । प्रेस चौतारी नेपाल, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ र आदिवासी जनजाती पत्रकार संघले ज्ञापन पत्र बुझाएका हुन् ।
चार वटै पत्रकार संगठनका प्रमुखले संयुक्त रुपमा सभासद भण्डारीलाई ज्ञापन पत्र बुझाए ।  उनीहरुले जिल्लाबाट प्रतिनिधित्व गर्ने अन्य सभासद् हरिराज खेवा, राजकुमार राई, दुर्गा लिंखा र लिला सुब्बालाई पनि ज्ञापन पत्र पठाएका छन् । 
युनियनका केन्द्रीय उपमहासचिव विजय सन्तोषी राई, जिल्ला शाखा अध्यक्ष खगेन्द्र घिमिरे, क्रान्तिकारी पत्रकार संघकी अध्यक्ष स्मिता निरौला, प्रेस चौतारीका अध्यक्ष भेषराज कट्टेल, आदिवासी जनजाति पत्रकार संघका सचिव सन्तवीर लामाले हस्ताक्षर गरी सभासदहरु क्रियाशिल नहुँदा शान्ति र संविधान निर्माण कार्य अवरुद्ध भई मुलुकमा थप अन्यौल सिर्जना भएकाले गम्भिर आग्रह गरिएको पत्र बुझाइएको छ ।
सभासद भण्डारीले पत्रकारहरुको आग्रहलाई गम्भीरतापुर्वक लिएको प्रतिक्रिया दिए । उनले सहमतिको सरकार बने मात्र संविधान निर्माण हुने बताए । प्रमुख राजनैतिक दलहरुबीच सहमति हुन नसकेका कारण संविधान बन्न नसकेको भण्डारी बताए । उनले प्रमुख दलहरुबीच सहमति भएन भने फेरि संविधान सभाका म्याद थप्दा पनि उक्त अवधिमा संविधान बन्न नसक्ने दावी गरे ।

कोई टिप्पणी नहीं: