रविवार, 21 अगस्त 2011

सशस्त्र अब सडकमै


काठमाडौं, भाद्र ४ - आकस्मिक अवस्थामा सशस्त्र प्रहरी बल अब सडकमै तैनाथ हुने भएको छ । सूचना पाएलगत्तै सहयोगका लागि 'एचआईआरभी' (हाइवे इमिडियट रेस्पोन्स भेहिकल) नाम दिइएको सुरक्षाकर्मीको जत्था परिचालन गरिएको बलले जनाएको छ ।
दसैंको पूर्वसध्यामा राजमार्गमा हुन सक्ने अपराध, दुर्घटना र प्राकृतिक प्रकोपमा तत्काल सहयोग गर्न सुरक्षाकर्मीलाई सडकमै तैनाथ गरिएको बलका डीआईजी तथा प्रवक्ता भीष्मकान्त अर्यालले जानकारी दिए । पहिलो चरणमा बलले देशका पाँच क्षेत्रका ६० स्थानमा सुरक्षाकर्मी तैनाथ गरेको छ । ती सुरक्षाकर्मीसँग हातहतियारका साथसाथै प्राथमिक उपचारका साधनहरूसमेत छन् । बलकै समन्वयमा उद्धार प्रयोजनका लागि १७ वटा एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राखिएको बताइएको छ । 
नयाँ महानिरीक्ष्ाक शैलेन्द्र श्रेष्ठलाई गृह मन्त्रालयले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएपछि बलले यस्तो व्यवस्था गरेको हो । यससम्बन्धी कार्ययोजनालाई गृह मन्त्रालयले स्वीकृति दिएपछि बलले लागू गरेको हो । बलको यो व्यवस्था नेपाल प्रहरीले राजधानीको सुरक्षाका लागि उपत्यकाका तीन जिल्लामा महानगरीय आयुक्तको कार्यालय मातहतबाट सोझै सीआरभीका नाममा सुरक्षाकर्मी परिचालन गरेजस्तै हो ।
प्रवक्ता अर्यालका अनुसार केन्द्रले तोकेको कार्यक्षेत्रका बीच बाटोमा गाडीभित्र बस्ने यो टोलीका साथमा सञ्चार साधन, आधुनिक हतियार, सबै प्राथमिक उपचारका साधन र औषधि तथा तत्काल उद्धारका लागि आवश्यक औजार/सामग्रीहरू हुनेछन् । टोलीले राजमार्गमा हुने अवरोधहरू खुलाउन पनि विशेष भूमिका खेल्ने उनले बताए । विभिन्न बहानामा हुने बाटो अवरोध खुलाउन पहिले नेपाल प्रहरीले पहल गर्नेछ । उसले नसके गृहसचिव, क्षेत्रीय प्रशासक र स्थानीय प्रशासकले दिएको आदेशमा बलका सुरक्षाकर्मीले तत्काल बाटो खुलाउने छन् । टोलीले राजमार्गका निश्चित क्षेत्रहरूमा पेट्रोलिङसमेत गर्ने जानकारी उनले दिए । बलको नयाँ टोली शुक्रबार काठमाडौं उपत्यकामा ग्वार्खो, सतुंगल, ठिमी र कीर्तिपुरमा परिचालित थियो भने पूर्वक्षेत्रका नौ स्थानमा बसेका थिए । त्यसैगरी मध्यक्षेत्रका १८, पश्चिम क्षेत्रमा १७, मध्यपश्चिममा ७ र सुदूरपश्चिममा ५ स्थानमा परिचालित थिए ।
 यो टोलीको कामकारबाही र प्रभावकारिताबारे बलको मुख्यालयस्थित 'कार्य विभाग' ले प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था मिलाइएको छ  ।

कोई टिप्पणी नहीं: