गुरुवार, 7 जुलाई 2011

भन्सार अनियमितता छानबिन गर्न समिति


काठमाडौ, अषाढ २३ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीरगन्ज र सुख्खा बन्दरगाह भन्सारमा पछिल्लो समय भएका अनियमितता छानबिन गर्न  भन्सार विभागले बुधबार दुई टोली गठन गरेको छ । विभागका उपमहानिर्देशक मधुसूदन पोखरेल नेतृत्वको टोलीले विमानस्थल भन्सार तथा आनन्द ढकाल नेतृत्वको टोलीले वीरगन्ज र सुख्खा बन्दरगाह भन्सारमा पुगेर चर्चामा आएका अनियमितताका साथै भन्सारका सम्पूर्ण कार्यसम्पादनको स्तर निरीक्षण गरी प्रतिवेदन पेस गर्ने विभागका महानिर्देशक टंकमणि शर्माले जनाए ।
भन्सारमा दस्तुरी लिने चलन खारेज गरी सदाचार पद्धति लागू गरिएको दाबी गर्दै कसैले दस्तुरी लिएको फेला परे कारबाही हुने उनले बताए । 'प्रोत्साहन भत्ता पाउने कर्मचारीले घूस लिनु अक्षम्य छ,' उनले भने, 'दोषी देखिए भन्सार प्रमुखसमेत कारबाहीमा पर्ने छन् ।'  
पोखरेलको नेतृत्वमा निर्देशक कुलराज ज्ञवाली सम्मिलित टोलीलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । ढकाल नेतृत्वको निर्देशक अच्युत सिवाकोटी सम्मिलित टोलीले दुई वटा भन्सारको स्थलगत अध्ययन गर्नुपर्ने भएकाले पाँच दिनको समय दिइएको छ । ढकालको टोलीले वीरगन्जमा राजस्व घट्नुका कारण पनि खोतल्न भनिएको छ । मुलुकमा सबैभन्दा बढी राजस्व असुली हुने वीरगन्ज भन्सारमा चालू आर्थिक वर्ष लक्ष्यभन्दा थोरै असुली भएको छ । 'टोलीले स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघलगायत सरोकारवालासँग छलफल गर्ने छ,' शर्माले भने ।

कोई टिप्पणी नहीं: