बुधवार, 6 जुलाई 2011

गृहमन्त्री महराद्वारा २० वर्ष सम्पत्ति नजोड्ने प्रण

Krishna Bahadur Mahara
कास्की, अषाढ २२ - 'हप्ता असुली' को संकलन र सुडान घोटालाले भ्रष्टाचारको केन्द्र गृह मन्त्रालय रहेको भनी आलोचना भइरहेका बेला गृहमन्त्री कृष्णबहादुर महराले आफू कुनै सम्पत्ति नजोड्ने घोषणा गर्दै गृहसम्बद्ध सबैलाई घूस नलिन निर्देशन दिएका छन् ।
महराले २० वर्षसम्म आफू घर पनि नबनाउने र कुनै सम्पत्ति नजोड्ने घोषणा गरे । आफू सम्पत्तिका लागि घूस नलिने प्रस्ट पार्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई पनि घूस नलिन उनले निर्देशन दिए । पोखरामा मंगलबार क्षेत्रीय सुरक्षा भेलालाई सम्बोधन गर्दै महराले भ्रष्टाचार रोकिन मुहान नै सङ्लो हुनुपर्ने आवाज उठेपछि जवाफमा आफूले सम्पत्ति नजोड्ने बताएका हुन् ।
'२० वर्षसम्म म केही पनि सम्पत्ति नजोड्ने प्रण गर्छु, घर पनि बनाउँदिन र सम्पत्ति पनि जोड्दिन,' सम्मेलनमा उपप्रधानमन्त्रीसमेत रहेका महराले भने, 'मेरो रोल्पाको गाउँमा एउटा घर छ, त्यो पनि मेरा पुर्खाले बनाएको हो, मैले अहिलेसम्म केही जोडेको छैन र मेरा चार छोराछोरीलाई आठ कक्षाभन्दा माथि पढाइन । अहिले उनीहरू आफ्नै तरिकाले काम गरिरहेका छन् ।'
पश्चिमाञ्चलका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको सुरक्षा स्थिति प्रस्तुति क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले भ्रष्टाचार निर्मूल हुन मूल नै सफा हुनुपर्ने भनेपछि गृहमन्त्री महराले जवाफमा यस्तो संकल्प गरेका हुन् ।
सुडान घोटाला काण्डलाईं इंगित गर्दै कोइरालाको भनाइप्रति महराले  भ्रष्टाचार नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 'मैले भ्रष्टाचारलाई 'जिरो' गर्ने संकल्प गरेको छु, तपाईंहरूले पनि आपmनो ठाउँबाट गर्नुहोला,' गृहमन्त्रीले निर्देशनका क्रममा पटक-पटक यसरी नै भ्रष्टाचार उन्मूलन गर्नुपर्ने कुरा दोहोर्‍याए ।
उनले गृह मन्त्रालय सम्हालेको दुई महिनामा 'हप्ता असुली' लगायत अवैध असुली नियन्त्रण भएको दाबी गरे । 'परिवर्तनको कुरा गर्दा पार्टीभित्रसमेत आफू नराम्रो हुनुपरेको छ,' भ्रष्टाचार नियन्त्रणका लागि अहिले आफू लागिपरेको उल्लेख गर्दै उनले भने, 'परिवर्तन गरेर छाड्छु, नसके पद छाड्न पनि तयार हुन्छु । सके तस्करी तोडौंला नसके छोडौंला ।' अपराधी र भ्रष्टाचारीलाई पार्टी संरक्षण भएकाले त्यसमा परिवर्तन गर्नुपर्ने बताए ।
भदौ १४ पछाडि कुनै पनि सम्भावना औल्याउँदै सतर्क रहन उनले निर्देशन दिए । 'सरकार कहिले फेरिन्छ, के हुन्छ भनेर कर्मचारीले चासो राख्ने हैन । सबै पार्टीमा अन्तरसंघर्ष रहेको उल्लेख गर्दै महराले भने, 'पार्टीका अन्तरसंघर्षको असरबाट मुक्त भएर आफ्नो काम नियमित गर्नुस् ।'
गृहमन्त्रीकै भनाइ पछ्याउँदै गृहसचिव लीलामणि पौडेलले पनि सबै सुरक्षा निकायले भ्रष्टाचार नगर्न संकल्प गर्नुपर्ने बताए । 'भ्रष्टाचार रोकियो भने ५० प्रतिशत समस्या समाधान हुन्छ,' उनले भने, 'भ्रष्टाचार शून्य हुनै पर्छ ।' मुहान सफाइको भनाइमा कास्कीका प्रजिअ कोइरालाको नामै लिएर सचिव पौडेलले आफू सफा रहेर सबैलाई सफा बनाउन लागिपरेको बताए ।
'भ्रष्टाचार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालय निर्मम ढंगले लाग्छ र भ्रष्टाचारमा लाग्नेलाई कुनै छुट दिंदैन । तपाईंहरूले यसलाई हाम्रो कडा निर्देशनका रूपमा लिनुहोला,' उनले भने ।

कोई टिप्पणी नहीं: