दोलखा, अषाढ २० - दुर्घटना भएको खबरपछि एम्बुलेन्सममा उद्धार गरिएका युवाहरुले उपचारमा संलग्न चिकित्सकहरुलाई नाटकीय ढंगले आक्रमण गरेका छन् ।
आइतबार मध्यरातमा गौरीशंकर जनरल अस्पताल ल्याइएका चार युवाले डा. भीमावसु ज्ञवाली र नर्स रेजिना केसीलाई आक्रमण गरी घाइते बनाएका हुन । मदिरा सेवन गरेका उनीहरुले उपचार गर्ने क्रममा एक्कासी शैयाबाट उठेर आक्रमण गर्दा डा. ज्ञवालीको शरीरमा र नर्स केसीको हातमा चोट लागेको अस्पतालले जनाएको छ । केसीको हात सुन्निएको छ । 'उपचार कस्तो गर्दो रहेछस् भनेर परीक्षण गर्न आएको भन्दै अपशब्द प्रयोग गरेर नाटकीय शैलीले भाकभक कुट्न थाले,' डा. ज्ञवालीले भने ।
आक्रमणपछि सोमबार अस्पतालका चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई घटनाको जानकारी गराएका छन् । उनीहरुले प्रहरीमा दिएका उजुरीको आधारमा चित्र तमाङ, सुरज गुरुङ र सुजन केसीलाई प्रहरीले सोमबार नै पक्राउ गरेको छ ।
दोलखा बजारमा रहेको अस्पतालमा दुर्घटना भएको फोन गरेपछि डा. ज्ञवाली आफैं एम्बुलेन्समा गएर चार युवालाई अस्पताल ल्याएका थिए । 'मदिरा सेवनले मात्तिएका उनीहरुमध्ये केही शैयामा सुतेपछि एक जनालाई इन्जेक्सन दिएको केहीबेरमै उठेर सबै हाँस्न थाले,' डा. ज्ञवालीले भने, 'त्यसपछि सिस्टरहरुलाई छाडा शब्दले हाँस्दै जिस्काउन थाले ।'
'उनीहरुले किन इजेक्सन दिएको ? कहाँ पढेर आएको ?' जस्ता शब्द प्रयोग गर्दै निहुँ खोज्न थालेको ज्ञवालीले बताए । कस्तो उपचार हुँदोरहेछ परीक्षण मात्र गर्न आएको भन्दै अस्पताल हातालाई अस्तव्यस्त पार्न थालेपछि 'यस्तो नगर भाइ हो' भन्ने वित्तिकै आक्रोशित हुँदै कुटपीटमा उत्रिएको अस्पताल कर्मचारीको भनाई छ ।
'कसलाई भाइ भनेको भन्दै आक्रोशित तिनीहरुले डाक्टर र मलाई आक्रमण गरे,' नर्स रेजिनाले बताइन् । चरिकोटका उनीहरु चार किलोमिटर पाखालतीमा पुगेका बेला एम्बुलेन्समा अस्पताल पुगेका थिए ।
डिएसपी उमेशराज जोशीले मध्यरातमा अस्पतालमा हुलदंगा गर्नेलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें