रविवार, 17 अप्रैल 2011

आफू बाधक रहेको कसैले पुष्टि गरे पद त्याग्छुः प्रधानमन्त्री

    घनश्याम गौतम
     
     

    jalnath
    गुल्मी, वैशाख ४ - प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानका लागि आफू बाधक रहेको कसैले पुष्टि गरे पद त्याग्ने बताएका छन् ।
    गुल्मी महोत्सव उदघाटन गर्न आएका प्रधानमन्त्रीले आइतबार बिहान सदरमुकाम तम्घासमा पार्टी कार्यकर्ताहरुसँगको भेटमा शान्ति र संविधानमा आफूलाई बाधक नठान्न आग्रह गर्दै भने, 'म नै बाधक छु भन्ने कसैले पुष्टि गरोस् पद त्याग्न तयार छु ।' आफ्नै दलका नेता तथा प्रतिपक्षी कांग्रेस र मधेसवादी दलहरुले सरकार शान्ति र संविधानको बाधक रहेको आरोप लगाइरहेकाबेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
    गृह टुंगो लागेको छैन
    प्रधानमन्त्री खनालले आइतबार बिहान नै नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादीलाई गृह मन्त्रालय दिने सहमति नभएको दाबी गरे । उनले गृह विवाद केही दिनभित्रै टुंगो लगाइने जानकारी दिए ।
    'गृह मन्त्री अहिले प्रधानमन्त्री छँदै छ नि,' उनले पत्रकार सम्मेलनमा भने, 'तर पनि कार्यविभाजन गर्दा अरुलाई पनि दिनुहुन्छ भन्नुहुन्छ भने पख्नोस् ।' उनले सवैसँगको सहमतिमामात्र गृह मन्त्रालयको टुंगो लगाइने उल्लेख गरे ।
    सहमतिमा म्याद थप
    प्रधानमन्त्री खनालले राष्ट्रिय सहमतिमा संविधानसभाको म्याद थपिने जानकारी दिए । 'संविधान निर्माणमा त प्रश्न उठाउने कुरै छैन, हामीले संविधान बनाउनै पर्छ,' उनले भने, 'दृढ प्रतिज्ञाका साथ सरकार अगाडि बढ्छ, समयको समस्या आयो भने राष्ट्रिय सहमतिका आधारमा हुन्छ ।
    प्रधानमन्त्री खनालले संविधान अघि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्ने बताउँदै संविधानसभा संविधान नबनाएसम्म विघटन नहुने बताए । 'संविधानसभा संविधान नबनाएसम्म विघटन हुँदैन र दिनु पनि हुँदैन, हामीले संविधानसभालाई राष्ट्रिय लक्ष्य बनाएर अगाडि बढिरहेका छौं,' उनले भने ।
    ओलीको पनि बोल्ने स्वतन्त्रता
    एमालेकै बरिष्ठ नेता केपी ओलीले गृह माओवादीलाई दिए प्रधानमन्त्री र अध्यक्षबाटै हटाउने चेतावनीलाई खनालले 'बोल्ने स्वतन्त्रता' भनी टिप्पणी गरे । 'तीन करोड जनतालाई जस्तै उहाँलाई पनि बोल्ने स्वतन्त्रता छ,' उनले भने, 'समस्या छन् भने पार्टीभित्रैबाट समाधान हुन्छ ।'
    पार्टीबाट सहयोग र असहयोग दुवै
    खनालले सरकार संचालनका लागि पार्टी भित्रैबाट र अन्य राजनीतिक दलहरुबाट सोझो र बाङ्गो दुवै ढंगबाट असहयोग भइरहेको बताए । 'मैले दुई ढंगले सहयोग पाएको छु,' उनले भने, 'एउटा सोझो सहयोग, एउटा बाङ्गो सहयोग, सोझो सहयोगलाई पनि स्वागत गरेको छु, बाङ्गो सहयोगलाई पनि स्वागत गरेको छु ।'

    कोई टिप्पणी नहीं: